विषेशज्ञ चिकित्सकको अभाव उस्तै
विषेशज्ञ चिकित्सकको अभाव उस्तै
डडेल्धुरा : सुदूरपश्चिममा संघीय सरकारमातहत रहेको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालमा ‘विस्तारित अस्पताल सेवा कार्यक्रम’ लागू भएको छ। यस कार्यक्रमअन्तर्गत बिरामीले थप शुल्क तिरे अतिरिक्त समयमा पनि उपचार पाउने भएका छन्।
अपराह्न ४ देखि बेलुकी ७ बजेसम्म बिरामीले विस्तारित सेवामार्फत उपचार पाउने अस्पतालले जनाएको छ। यस सेवाका लागि बिरामीले एमडी चिकित्सकका लागि पाँच सय र एमबीबीएस चिकित्सकका लागि तीन सय ५० रुपैयाँ थप शुल्क तिर्नुपर्ने छ।
‘विस्तारित अस्पताल सेवा कार्यक्रम’ लागू भएपश्चात् कुनै चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पताल बाहिर चिकित्सकीय सेवा प्रदान गर्ने छैनन्। नेपाल सरकारको स्वास्थ्य नीतिअनुरुप डडेल्धुरा अस्पतालमा विस्तारित सेवा सञ्चालन गरिएको हो।
बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बिरामीले २० रुपैयाँमा टिकट काट्ने गरेका छन्। विस्तारित सेवामा यो समयपछि पनि टिकट काट्न पाउनेछन्। कुन चिकित्सकबाट जाँच उपचार गर्ने भनी त्यसअनुसार रकम तिर्नुपर्ने छ।
चिकित्सक र बिरामीको फाइदाका लागि विस्तारित सेवा सञ्चालन गरिएको अस्पतालका निमित्त मेसु डा जगदीशचन्द्र विष्टले जानकारी दिए। अन्य सेवा शुल्कमा पनि दोब्बर रकम तिर्नुपर्ने उनले बताए। आवश्यकताअनुसार अस्पताल व्यवस्थापन समितिले दुई सय ५० रुपैयाँ थप गर्न सक्ने उनले बताए।
विषेशज्ञ चिकित्सकको अभाव
विस्तारित सेवा सञ्चालन गरिने भए पनि अस्पतालमा विषेशज्ञ चिकित्सकको पद भने पूर्ति हुन सकेको छैन। १९ जना विषेशज्ञ चिकित्सकको दरबन्दी रहेको डडेल्धुरा अस्पतालमा ६ जना मात्रै छन्। ६ जनामध्ये पनि पाँच जना छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक हुन्।
यस्तै १८ जना मेडिकल अधिकृत हुनुपर्नेमा हाल ६ जना मात्रै छन्। एक जना मेडिकल अधिकृत छात्रवृत्तिमा अध्ययन गरेका हुन्। पाँच जना भने करारमा नियुक्त भएका हुन्।
चिकित्सकको पदपूर्ति लागि प्रत्येक महिना सूचना जारी गरी मन्त्रालयसँग आग्रह गर्दासमेत पूर्ति हुन नसकेको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।