सिमरा : कोहल्वी नगरपालिका ५, बलुवाकी सुनिता थारु काखको बच्चासँगै विरुवा हुर्काउने काममा जुटेकी छिन्। बच्चा र विरुवा हुर्काउने दुवै काम उनका लागि निकै चुनौतीपूर्ण छ।
बिहान ७ बजेदेखि साँझ गाँउलेका बाख्रा, भैँसी गोठ नर्फकुन्जेल जंगलछेउकै सानो टहरोमा बसेर सुनिता विरुवा र बच्चासँगै हेर्छिन्।
‘विरुवा हुर्काउन शुरुमा राति ८ बजेसम्म बस्थे, बुहारी मान्छे भएर यस्तो किन गरिस् भनेर स्थानीयहरुले गाली गरे, वृक्षारोपण भएको ठाउँमा आगो लगाए विरुवा पनि उखेलेर फाले,तर म पछि हटिनँ आज यो ठाउँ हराभरा छ’ उनले भनिन्।
प्रदेश हरित अभियान कार्यक्रमअन्तर्गत २ वर्षअघि वृक्षारोपण गरिएको २० हेक्टर वन क्षेत्रमा सुनिताले वन हेरालुको रुपमा काम गर्दै आएकी छन्। पहिला सुनितालाई गाली गर्ने स्थानीयहरू अहिले जंगले बुहारी भनेर गाँउभरि चिन्दछन।
यसअघि २ जना पुरुषलाई हेरालुको रुपमा खटाए पनि ३ महिना पनि काम गर्न नसकेपछि वन कार्यालयले सुनितालाई हेरालुको रुपमा खटाएको हो। केही वर्षअघिसम्म हराभरा वनक्षेत्र स्थानीयहरुले अतिक्रमण गरेर खेल मैदान, वस्तुभाउ चरिचरनको रुपमा प्रयोग गरेपछि वनले गतवर्ष काँडे तारबारसहित वृक्षारोपण गरेको छ।
‘वृक्षारोपण गर्दा म दुईजिउकी थिए अहिले वच्चा काखमा छ,विरुवा वच्चा सँगसगै हुकाइरहेको छु’ उनले भनिन्, ‘यहाँका मान्छेहरु नबुझ्ने छन् वन जंगल हाम्रो लागि हो भनेर बुझाउन खोज्छु बुझ्दैनन्, जंगलमा आगो लगाए, रातमा आएर विरुवा पनि उखेले तर, म आफ्नो ठाँउमा अडिरहे आज विरुवा ठूलो भएको छ काखको बच्चा पनि हुर्कदैछ’ कपिलवस्तु माइती र बारा कोहल्वी नगरपालिका ५ घर भएकी सुनिताले विरुवा संरक्षणमा गर्नु परेको संघर्ष बताउदै भनिन्, ‘आज यो ठाउँ हराभरा छ,वातावरण पनि राम्रो भएको छ।’
वन कार्यलयले कोभिड १९ का कारण लकडाउनमा अतिक्रमण गरेर बनाइएका २० ओटा घरटहरा हटाएको छ। डिभिजन वन कार्यालय बाराले चालु आर्थिक वर्षमा निजगढ, जीतपुरसिमरा र कोहल्वी नगरपालिकामा गरी करिव ४ सय हेक्टरमा तारवार सहित वृक्षारोपण गरेको छ। डिभिजन वन कार्यालय बाराका वन अधिकृत मञ्जुर अहमदले संरक्षणको पाटोमा पुरुष वन हेरालुले गर्न नसकेको काम सुनिताले गरेको बताए।
‘जंगल फडानी गरेर वनको जग्गामा चरिचरन र खेतिपाती थियो हामीले वृक्षारोपण गरेर २ जना पुरुष हेरालु खटायौँ तर काम गर्न नसकेपछि अहिले २ वर्षदेखि सुनिताले संरक्षण गरिरहेकी छन्’ वन अधिकृत अहमदले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।