'भौतिक मन्त्रीले आफ्नै क्षेत्रमा पनि सडक विस्तार गरेनन्'

|

काठमाडौं/हेटौंडा : जब बर्खा लाग्छ-काठमाडौं उपत्यकावासी एउटा युद्ध झेल्न बाध्य हुन्छन्। कारण उही हो-हिलाम्मे सडक।

मुख्य सडक होस्‌ या काठमाडौं उपत्यकाको भित्री सडक, सबै भताभुङ्‌ग हुन्छन्। सडक विस्तार नाममा निर्माण सामग्री वर्षौसम्म सडकमै थुपारिन्छन्, ढल ह्वाङ्‌गै राखेर सडकमा धराप थापिन्छ।

उपत्यका बाहिरका भित्री सडक पनि चिटिक्क पार्न योजना बनाइन्छ। त्यसो त, सरकारले २०५० सालमा १० वटा साविक गाविस (हालको स्थानीय तह) जोड्नेगरी ६ सडक खण्ड रहने ‘काँठ चक्रपथ’  नामाकरण गरी निर्माण योजना अघि सारेको थियो।

तर, दुई दशक बितिसक्दा पनि बन्न सकेको छैन। बागमती प्रदेश सरकारले काठमाडौंमा काठको नामले चिनिने भित्री स्थानलाई जोडेर चक्रपथ निर्माण गर्न छुट्याइएको साढे ४ करोड रुपैयाँ बजेट बाटो टालटुल र सामान्य पर्खाल लगाएरै सिध्याएको छ। 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा रामेश्वर फुयाँल मन्त्री बनेर आएपछि गत आर्थिक वर्ष २०७७/७८ बाट काँठ चक्रपथ निर्माण कार्यले प्राथमिकता पाएको थियो। चालु आर्थिक वर्ष ०७८/७९ मा पनि प्रदेश सरकारको बजेट प्राथमिकतामा नै परेको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहका अनुसार काठमाडौंको मुख्य सडकबाट केही भित्र पर्ने सडकहरूलाई जोडेर चक्रपथको रूपमा विकास गर्न प्रदेश सरकारले काँठ चक्रपथ योजना ल्याएको हो।

गत आर्थिक वर्षमा सरकारले काँठ चक्रपथको डीपीआर तयार गर्न ४५ लाख र सडक स्तरोन्नती गर्न ४ करोड ५० लाख रुपैयाँ खर्चिएको सिंहले जानकारी दिए।

एक वर्षमै करिब पाँच करोड खर्चिएपनि त्यसबाट के काम भयो भन्ने यकिन जानकारी नभएको भन्दै उनले विभिन्न सडकखण्डमा करिब ३ किलोमिटर सडक स्तरोन्नती भएको हुनसक्ने बताए। 

सिंहले भने, ‘विनियोजित बजेट सबै सकियो भन्ने जानकारी पाएका छौँ, तर काम खासै हुन सकेको छैन, ३ किमी जति सडक स्तरोन्नती भयो होला भन्ने हाम्रो अनुमान छ, अब चालु आर्थिक वर्षबाट हामीले काँठ चक्रपथलाई बहुवर्षीय योजनाको रूपमा विकास गर्दैछौँ।’  

चालु आर्थिक वर्षमा सरकारले काँठ चक्रपथ निर्माणलाई बहुवर्षीय योजनामा राख्दै ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको सिंहले जानकारी दिए। चक्रपथ कार्यक्रम अन्तर्गत स्थानीय तहले निर्माण गरेर छुटेका सडक स्तरोन्नति गर्ने प्रदेश योजना सरकारको छ। तर, हिउँदमा धुलो उड्ने र बर्खामा हिलाम्मे बन्ने संघीय राजधानीका यी सडक हुँदै धेरै नेता र मन्त्रीहरू सवार भइरहेपनि हालत भने जीर्ण छ।​

यी हुन काँठ चक्रपथ

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न सडकलाई ६ खण्डमा विभाजन गरेर काँठ चक्रपथको रूपमा विकास गर्ने योजना प्रदेश सरकारले ल्याएको थियाे।

जसअनुसार काठमाडौं-चुनिखेल-टोखा-काभ्रेस्थली-तीनपिप्ले सडक, बज्रयोगिनी-कार्कीगाउँ-अधिकारीगाउँ-सातभट्टे-कटुवाफाटँ-कुवारगाउँ-ढकालगाउँ-बाराही-चोक-रामजानकी मन्दिर-पण्डितगाउँ-घट्टेफेदी-जगडोल सडकखण्ड, भिमढुङगा-नर्सरी भञ्ज्याङ-सिन्चाटार-नैकाप-थानकोट सडक छन्।

थानकोट-मातातीर्थ-मच्छेगाउँ-कीर्तिपुर-टौदह-चाल्नाखेल, खोकना-घुम्ती-बिरुवा र भक्तपुर-बिरुवा-बालकोट गरी आधादर्जन सडकखण्ड काँठ चक्रपथको रूपमा नामकरण गरिएको छ। 

काम कति भयो ?

गत आर्थिक वर्ष ०७७/७८ मा प्रदेश सरकारले यी ६ वटामध्ये काठमाडौं-काभ्रेस्थली सडकखण्डलाई दुई करोड र अन्य ५ वटा सडकखण्डलाई ५०/५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

विनियोजित बजेट सकिइसक्दा बाटोको अवस्था भने जस्ताको तस्तै छ। केही समय अघिमात्रै मन्त्री फुयाँलकै घरनजिक कागेश्वरी चक्रपथ सडकखण्डमा पर्ने फुयाँल गाउँका स्थानीय बासिन्दाले बाटोमै रोपाइँ नै गरेका थिए। 

कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनी (सिम्खडा) ले कागेश्वरी चक्रपथ विस्तार कार्य ५० प्रतिशत सकिइसकेको जानकारी दिइन। भनिन्, ‘काम रोकिएको छैन, भइरहेको छ।’

नगरपालिका प्रवक्ता राजाराम पुडासैनीका अनुसार अहिले आलापोट क्षेत्रमा काम भइरहेको छ। दुई चरणमा गरी करिब २० करोड रुपैयाँ लागतमा भित्री कागेश्वरी चक्रपथ विस्तार गर्दै आएको नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए।

काँठ चक्रपथको काभ्रेस्थली सडकखण्ड निर्माण गर्न गत आर्थिक वर्षमा दुई करोड रुपैयाँ छुट्याइएपनि २६ लाख ३६ हजार रुपैयाँ खर्च गरेर सामान्य फूटपाथ मात्रै निर्माण गरिएको पूर्वाधार विकास कार्यालय ललितपुरले जनाएको छ।

यता, टोखा नगरपालिकाका प्रवक्ता बच्चु राज बस्यालले भने काठमाडौं-चुनिखेल-टोखा-काभ्रेस्थली-तीनपिप्ले सडक रेखांकनको काम मात्रै सकिएको बताए। ‘सडक रेखांकनको काम सकिएको छ, अरू विस्तारको काम अघि बढेको छैन,’ बस्यालले भने। उनका अनुसार उक्त सडकको करिब ३० किलोमिटर भित्री चक्रपथ बन्नेछ।

खोकना-बिरुवा सडकखण्डको स्तरोन्नती गर्न पनि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर, हालसम्म काम शुरू नै हुन सकेको छैन।

ललितपुर महानगरपालिकाको भौतिक पूर्वाधार निर्माण महाशाखाका सिनियर इञ्जिनियर रामरतन शाहले खोकना-घुम्ती-बिरुवा सडकको काम शुरू नगरिएको जानकारी दिए।

उनले भने, ‘विस्तार गर्न डिजाइन बनेको थियो। तर, त्यो बाहेक अरू केही काम शुरू हुन सकेको छैन।’ उनका अनुसार सडक विस्तार गर्न टेन्डर समेत लाग्न सकेको छैन। आर्थिक वर्षबाट कामको प्रकृया अगाडी बढाउने महानगरपालिकाको योजना रहेको उनको भनाइ छ। 

बज्रयोगिनी-जगडोल सडकखण्डका लागि पनि प्रदेश सरकारले गत आर्थिक वर्षमा छुट्याएको ५० लाख रुपैयाँबाट नाली र पर्खाल बनाउने काम मात्रै भएको छ। सडकको अवस्था उस्तै छ।

त्यस्तैगरी, थानकोट-मच्छेगाउँ सडकखण्डमा ५० लाख छुट्याइएकामा सडक विस्तार निम्ति २९ लाख ८२ हजार ६३४ रुपैयाँ बराबरको ठेक्का सम्झौता भएपनि हालसम्म काम नभएको पूर्वाधार विकास कार्यालय ललितपुरको प्रमुख सुजन थापा बताउँछन्। उनको अनुसार भीमढुङ्गा-थानकोट सडकखण्डमा पनि सामान्य सडक टालटुल गर्ने, पर्खाल र नाली बनाउने मात्रै काम भएको छ। 

उता भक्तपुर-बिरुवा-बालकोट सडकखण्डमा भने कुनैपनि कामको शुरूवात नभएको, तर बजेट भने सबै खर्च भएको पूर्वाधार विकास कार्यालय काभ्रे, भक्तपुरका प्रमुख लोकनाथ रेग्मीले बताए।

‘चक्रपथ बनाउने भनेर बजेट त आएको हो, तर, अहिले काम खासै हुन सकेन, बजेट चाँहि अन्य विकास निर्माण कार्यमा सकियो,’ उनले भने। 

यसरी बनेको थियो काँठ चक्रपथ योजना

२०५० सालमा पहिलोपटक काठमाडौंको आलापोट गाउँ विकास समितिका अध्यक्ष बनेका मन्त्री फुयाँल २०५४ सालमा पुनः अध्यक्षमा निर्वाचित भएका थिए।

दोस्रोपटक गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित बनेका फुयाँल गाउँ विकासमा कार्यवाहक सम्हाल्न दिएर जिल्ला विकास समितिमा गएका थिए।

त्यसअघि २०५० सालमा नै तत्कालीन काठमाडौं जिल्ला विकास समितिका अध्यक्ष तीर्थबहादुर केसीले काँठ चक्रपथ योजना अघि सारेका थिए। उनले काठमाडौंको भित्री क्षेत्रलाई काँठ चक्रपथको रूपमा विकास गर्ने योजना अघि सारेपनि हालसम्म पूरा हुन सकेको छैन। 

२०७० सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित बनेका मन्त्री फुयाँलले हाल प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय सम्हालिरहेका छन्। 

पाचौँ पटकसम्म स्थानीयस्तरदेखि केन्द्रीय तहसम्म विभिन्न पदमा उम्मेदवार रहेर विजयी भएका फुयाँलले हालसम्म आफ्नो क्षेत्रमा विचल्ली अवस्थामा रहेको सडक स्तरोन्नतीसमेत गर्न नसकेका हुन्‌। बर्खायाममा उनको घरैअघि पानीको पोखरी जम्ने गरेको स्थानीयबासी बताउँछन्। 

प्रदेशको मन्त्री बनेपछि काँठ चक्रपथ योजना अघि सारेपनि त्यसलाई पूरा गर्न भने मन्त्री फुयाँलले चासो नदिएको स्थानीय बासिन्दाको आरोप छ। 

मन्त्री फुयाँल नै अवरोधक

फुयाँल २०७६ माघ २९ गते प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्ति भएका थिए। काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका फुयाँलले मन्त्री पद सम्हालेका दुई वर्ष पुग्दै छ।

तर पनि, उनले आफ्नै क्षेत्रमा सडक मर्मत गर्न सकेका छैनन्। लथालिङ्ग अवस्थामा छन् सडक। कागेश्वरीका स्थानीय मनिष सिम्खडाका अनुसार मन्त्री फुयाँल निवास क्षेत्रको सूर्यमन्डली सडक उनकै कारण अलपत्र बनेको हो।

‘उपभोक्ता मिली पैसा उठाएर सूर्यमन्डली सडक बनाउने भनेका थिए। तर, मन्त्री फुयाँल नै बाधा बने। जसकारण अहिलेसम्म सडक अलपत्र छ,’ सिम्खडाले भने। 

उनका अनुसार कागेश्वरीको डाँछीबाट गागलफेदी जाने सडक पनि अलपत्र छ।

त्यस्तै, सुन्दरीजलदेखि साँखु जाने सडक पनि अलपत्र छ। ‘हाम्रै क्षेत्रमा पूर्वाधारमन्त्री भएर के गर्नु? सडक बनाउन पहल गर्नुहुन्न,’ उनले गुनासो पोखे, ‘२०७२ देखि ठेक्का लागेको जोरपाटी-साँखु र जोरपाटी-सुन्दरीजल मूख्य सडक अलपत्र छ, पानी पर्दा हिलाम्मे हुन्छ, घाम लाग्दा धुलाम्मे! उही समस्या त हामीले त भोग्ने हो।’  

कागेश्वरी नगरपालिका अर्का स्थानीय बासिन्दा कृष्ण खड्का प्रदेश सरकारले काँठ चक्रपथ निर्माण गर्न पैसा छुट्याएको सुनेपनि काम भएको नदेखेको बताउँछन्। भने, ‘मन्त्रीज्युले काँठ चक्रपथ निर्माण गर्न बजेट छुट्याइयो भनेर फेसबुकमा लेखेको त देखेको हो, तर, काम कता भयो भन्ने चाहिँ थाहा छैन।’

खड्काले केही स्थानमा खाल्डाखुल्डी टाल्ने र पर्खाल लगाउने सामान्य काम भएपनि बाटोको अवस्था भने दयनीय भएको गुनासो गरे। उनले काँठ चक्रपथ भनेर नामकरण गरिएपनि सो अनुसार विकास भने नभएको टिप्पणी गरे।

‘चक्रपथ भनिसकेपछि डबल लेनको सडक बन्नुपर्छ कि पर्दैन? चक्रपथ भनेको छ, खाल्डाखुल्डी र हिलाम्मे सडक छ, जहाँ एउटा गाडी पनि जान सक्दैन, यसरी त चक्रपथ कहिल्यै बन्न सक्दैन,’ उनले थपे। 

उनले मन्त्री फुयाँलले धेरै पटक गाउँबाट चुनाव जितेर विभिन्न पद पाएको भएपनि गाउँको विकासको लागि खासै महत्वपूर्ण भूमिका खेल्न नसकेको बताए। 

काम भइरहेको मन्त्री फुयाँलको दाबी

आफू निर्वाचित क्षेत्रलाई समेटेर मन्त्री फुयाँलले काँठ चक्रपथ योजना ल्याएपनि काम भने हुन सकेको छैन।

चक्रपथ नामकरण गरिएको मन्त्रीकै घर छेउको सडकमा केहीअघि स्थानीयवासीले बाटोमै रोपाइँसम्म गर्न भ्याए। तर, बाटोको अवस्था सुधार्न आएको बजेट भने कता खर्च भयो भन्ने कसैलाई जानकारी भएन। 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री फुयाँलले भने काँठ चक्रपथ निर्माणको काम निरन्तर भइरहेको दाबी गरेका छन्‌। उनले दुईवटा सडकखण्ड निर्माण गर्न ठेक्का सम्झौता भइसकेको भन्दै बाँकी ४ वटाको पनि भदौ महिनाको अन्तिमसम्म सम्झौता भइसक्ने र समयमै काम सक्ने बताए। वर्षौंदेखि सबैको प्रयासले गर्दा चक्रपथ निर्माणले तीव्रता पाएको भन्दै बाटो निर्माणको चरणमा हिलो भएको कुरालाई अतिरञ्जित नगर्न आग्रह गरे।

आफ्नो घर नजिक बाटो रोपाइँ भएको प्रसंगमा मन्त्री फुयाँलले भने, ‘बाटो निर्माण गर्न छेउमै निर्माण सामग्री थुपारिरहेको छ, अनि बीचमा हिलो भयो भनेर रोपाइँ गरेर हुन्छ? बाटो निर्माण गर्दा पानी पर्‍यो त हाम्रो के गल्ती छ?’  

उनले हाल टेण्डरको काम भइरहेको भन्दै सरकारले काम गरेन भनेर टिप्पणी गर्न नमिल्ने तर्क गरे। जगडोलदेखि बालुवासम्मको एरियामा आफू संविधानसभा सदस्य हुँदा ९ सय मिटर ढलान र ३ वटा पुल बनेको भन्दै आफूले विकास निर्माण कार्यक्रम महत्वपूर्ण भूमिका खेलेको पनि उनले दाबी गरे।

‘अहिलेसम्म काम नै भएन भन्न पाइन्छ? म संविधानसभा सदस्य भएपछि जगडोलमा ढलान भएको छ, ३ वटा पुल बनेको छ, अहिले त्यहाँ चक्रपथको आकार बनेको छ, विकास भएको छैन भन्नेले जगडोलको पश्चिम भागमा पनि हेर्नू,’ आक्रोशित हुँदै फुयाँलले भने।

जनताले स्वेच्छाले दिएको जमिनमा सामान्य चक्रपथ निर्माण गर्न लागिएको भन्दै त्यसबापत स्थानीयवासीलाई मुआब्जा पनि नदिइने सुनाए। उनका अनुसार १० मिटर चौडाइको काँठ चक्रपथ बनाउने प्रदेश सरकारको योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.