|

हेटौंडा : १०४ वर्षअघि निर्माण भएको ‘एशियाकै पहिलो’ चुरियामाई सुरुङमार्गको पुन:निर्माण शुरू भएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार सुरुङमार्ग पुनःनिर्माण शिलान्यास गरेका हुन्।

बारालाई र मकवानपुरसँग जोड्ने चुरियामाई सुरुङमार्ग  वि.सं १९७४ मा चन्द्र शमशेरले बनाउन लगाएका थिए। नेपालका पहिलो इञ्‍जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको नेतृत्वमा यो सुरुङमार्ग निर्माण गरिएको थियो।

उक्त मार्गबाट वि.सं. २०२० सालसम्म सवारी आउजाउ हुने गरेको थियो। ५०० मिटर लम्बाइ रहेको सुरुङमार्गको एकातर्फको भाग पुरिएपछि हाल २८० मिटरमात्र बाँकी छ। जसमध्ये हाल सरकारले १९८ मिटर लम्बाइ, २ दशमलव ५ मिटर चौडाइ र ३ मिटर उचाइको सुरुङमार्ग पुन:निर्माण गर्न लागेको हो।

ऐतिहासिक महत्वको यो सुरुङमार्गलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारले तीन करोड ३६ लाख १३ हजार ८ सय ७८ रुपैयाँमा पुन:निर्माण थालेको हो। सुरुङमार्गको पुन:निर्माण आगामी बैशाखसम्म सक्ने सरकारको लक्ष्य छ। भूकम्प जाँदा क्षति पुगेको भागको पुन:निर्माण गरी मजबुत गर्ने र पहिरोले क्षति भएको भागलाई मर्मत गर्न लागिएको जानकारी दिइएको छ।

यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङमार्गमा अब भने यातायातका साधन सञ्चालन नहुने बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्‍जीव बरालले बताए। उनले सुरुङमार्ग पैदल हिँड्न र पर्यटकीय स्थलका रूपमा विकास गर्न पुन:निर्माण हुन लागेको बताए।

सुरुङमार्ग पुन:निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले इतिहासलाई जिवन्त राख्न प्रदेश सरकारले पुन:निर्माण गर्न लागेको बताए। उनले चुरियामाई सुरुङमार्ग एशियाकै पहिलो सुरुङमार्ग भएकोले यसलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने बताए।

नेपालका पहिलो इञ्‍जिनियर थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.