|

सर्लाही : दिनमा २० औं पटक विद्युत् कटौती हुन थालेपछि लालबन्दीका युवा आन्दोलित भएका छन्।

पटक पटक हुने विद्युत कटौती र कम भोल्टेज आउने समस्याले हैरान भएका लालबन्दीका स्थानीयले आज प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रिएका युवाहरूले विद्युत् प्राधिकरणको लापरबाहीविरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी सडक खण्डमा केहीबेर चक्काजाम गरेर नाराबाजीसमेत गरेका थिए।

छिनछिनमै विद्युत् कटौती हुने र कम भोल्टेजका कारण विद्युतीय सामग्री बिग्रिएर हैरान भएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको लालबन्दी–६ का वडाध्यक्षसमेत रहेका युवा अगुवा उज्जवल कार्कीले जानकारी दिए।

उनीहरूले लालबन्दीमा रहेको विद्युत् प्राधिकरणमार्फत ज्ञापनपत्र पठाउँदै समस्या समाधानमा प्राधिकरणले चासो नदिए आकस्मिक आन्दोलनमा जान बाध्य हुने ज्ञापनपत्रमार्फत चेतावनी दिएका छन्।

यता विद्यु्त् प्राधिकरण लालबन्दी वितरण केन्द्र प्रमुख सुधीर रायले यो समस्या समाधान हुन अझै दुई साताजति लाग्ने बताए। उनका अनुसार ढल्केबर ग्रिडको सबस्टेसनको ३० एमपिए पावर ट्रान्सफर्मर बिग्रेको कारण सर्लाहीको विद्युत् आपूर्तिमा समस्या भएको हो।

राैतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको प्रसारण लाइनको कन्डक्टर क्षमताभन्दा बढी करेन्ट प्रवाह हुँदा ओभरलोड भएका कारण विद्युत् आपूर्तिमा समस्या भएको बताउँछन्। विद्युत कटौतीविरुद्ध हिजो पनि हरिवनका युवाले पनि विरोध प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.