|
फाइल फोटो

कञ्चनपुर : कञ्चनपुरमा पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक देखा परेको छ। शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसानले पालेका गाई गोरुमा लम्पी स्किन रोग देखा परेको हो।

पशुको शरीरभरि ठूलठूला गिर्खासँगै घाउ देखिन थालेपछि किसानले नगरपालिकाको पशु शाखामा खबर गरेका हुन्। पशु शाखाका प्रमुख रामप्रसाद भट्टका अनुसार कञ्चनपुर जिल्लामै पहिलो पटक लम्पी रोग देखा परेको हो।

रोग देखिएको गाउँमा भट्टको नेतृत्वमा टोली परिचालन भएको छ। सरुवा रोग भएकाले अरु पशुमा संक्रमण फैलिन नदिनका लागि किसानलाई रोगबारे जानकारी दिने र निदानका उपायबारे बताउने कार्य भैरहेको उनले बताए।

हालसम्म ६ जना किसानका दुई दर्जनभन्दा बढी पशु रोगबाट प्रभावित भएका छन्। गाई, गोरु र बाच्छा बाच्छीमा रोगको संक्रमण देखा परेको छ।

गाई गोरुको पुरै शरीरभरि ठूलठूला गिर्खा देखा परेका छन्। शरीरका विभिन्न भागमा घाउ समेत देखिएका छन्। मुखबाट फिज निकाल्ने, शरीर तातो हुने र नाकबाट सिंगान बग्ने लगायतका लक्षण समेत देखिएका छन्।

रोग भारतीय गोरुहरुबाट फैलिएको आशंका स्थानीय बासिन्दाले गरेका छन्। भारतीय व्यापारीहरुले गाई गोरु खरिद गरी भारततर्फ लैजाने र भारतबाट गाई गोरु ल्याउने भएकाले यसबाटै रोग फैलिएको हुन सक्ने अनुमान गरिएको छ।

रोगको निदानका लागि गाई गोरुको ओसारपसार र बेचविखनको कार्य रोक्नु जरुरी रहेको पशु शाखाका अधिकृत नारायणदत्त भट्ट बताउँछन्। यस्तै‚ गाई गोरुलाई चरनमा लैजाने कार्य समेत बन्द नहुँदा सम्म संक्रमण रोक्न कठिन रहेको उनको भनाइ छ।

लम्पी स्किन रोग विशेष गरी लामखुट्टे‚ झिङगा (स्टोमोक्सीस), किर्ना आदिको टोकाइबाट सर्ने पक्स भाइरस समूहको लम्पी स्किन डिजिज भाइरसबाट सर्ने रोग हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.