|

बारा : डिभिजन वन कार्यालय बारामा कार्यरत जम्मदार धुव्रकुमार कटुवाल देशभरका वन कर्मचारीहरू मध्येबाट सर्वोत्कृष्ट कर्मचारी छनोट भए। देशभरबाट परेको निवेदनका आधारमा उत्कृष्ट कर्मचारी पुरस्कार बाराका कटुवालले पाएका हुन्।

सामुदायिक वन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेलले १ लाख राशीको ‘गणेश बहादुर शाही’ राष्ट्रिय पुरस्कार कटवाललाई सम्मानित गरेका हुन्।

चोरीतस्करी नियन्त्रण र वन संरक्षणमा राम्रो काम गरेवापत उनले यो पुरस्कार पाएका हुन्। ‘३१ वर्ष जागिरको दौरानमा मैले आजसम्म १ पटक स्पष्टीकरण र गयल खाएको छैन, ’ हर्षित हुँदै कटुवालले भने, ‘राम्रो काम गर्दा यस्तो पुरस्कार पाइने रहेछ, मेरो कामको मूल्यांकन गरेर पुरस्कृत गर्नुभयो, यो भन्दा ठूलो खुसी त केही हुन सक्दैन।’

गत ४ वर्षदेखि बारामा कार्यरत कटुवालले आफू मातहतमा रहेका १० जना जम्मदार र २५ जना वन रक्षकलाई चोरी तस्करी नियन्त्रण र वन संरक्षणमा खटाउने गर्दछन्।

‘हामी निरन्तर चौबीसै घन्टा गस्ती गरिरहेका छौँ, एक रात पनि टुटेको छैन, ’ उनले भने, ‘हाम्रो गस्ती टोली विशेषगरी पथलैया-निजगढ सडक खण्डको ११, १२, १३ १४, १५ र १६ किलोमिटर, कोहल्वीको भिम सखुई, तामागढी साझेदारी वन, मधुवन, बोधवन र सिंगो क्षेत्रमा धेरै फोकस हुन्छ।’

लकडाउन अवधिमा चोरी तस्करी नियन्त्रण तथा अतिक्रमण भएको वनको जग्गा संरक्षण गरी सो क्षेत्रमा वृक्षारोपण गर्न उनको नेतृत्वले ठूलो भूमिका निर्वाह गरेको थियो। लकडाउनमा वनको जग्गा जोगाउन धेरै समस्या मुस्किल भएको कटवाल बताउँछन्।

‘अतिक्रमण क्षेत्रमा वृक्षारोपण गर्दा गत वर्ष ठूलो अवरोध आयो, कतिपय ठाउँमा त दोहोरो झडपको स्थिति नै भयो तैपनि हामीले स्थानीयसँग वनको जग्गा खोसेर वृक्षारोपण गर्‍यौँ,’ उनले भने, ‘यो वर्ष पनि त्यस्तै अवस्था भयो। २०५८ सालदेखि अतिक्रमण भएको जग्गामा वृक्षारोपण गर्न हामी सफल भयौँ।’

बाराको अमलेखगञ्ज, चकरी, कोहल्वीको मधुवन, बोधवन र निजगढ नगरपालिकाभित्र वनको सयौं बिगाहा जग्गा अतिक्रमण गरी स्थानीयहरूले घरटहरा बनाएर खेतीपाती गरी भोगचलन गरिरहेका छन्। विगत २ वर्षमा डिभिजन वन कार्यालय बाराले अतिक्रमणमा परेको करिब ४०० हेक्टर वनको जग्गा संरक्षण गरी वृक्षारोपण गरेको छ।

डिभिजन वन अधिकृत मञ्जुर अहमदले वन संरक्षणमा उल्लेख्य काम गरेको भन्दै वन कार्यालय र प्रदेशको वन निर्देशनालय कटुवालको नाम सिफारिस गरेर पठाएको बताए।

‘उहाँले डिभिजनमा बसेपनि प्रत्येक सव डिभिजनमा, कहाँ कर्मचारी छ/छैन, गस्तीमा को जाने? कहाँ खटाउने मिलाउने जिम्मेवारी सम्हालिरहनु भएको छ, उहाँ आफैँ पनि प्रत्येक रात गस्तीमा जानुहुन्छ,’ जम्मदार कटुवालको कार्यशैलीबारे वन अधिकृत अहमदले भने, ‘कटवाल यो पुरस्कार पाउनैपर्ने मान्छे हो, उहाँले म सरकारी कर्मचारी हुँ भनेर कहिल्यै भन्नुभएन, जंगल संरक्षणमा चासो दिएर जिम्मेवार भएर खटिइरहनु भएको छ।’

कटवालकै नेतृत्वमा बारामा जंगल संरक्षणमा ५० प्रतिशत उपलब्धि हासिल भएको वन अधिकृत अहमदले जनाएका छन्। ‘चोरी तस्करी नियन्त्रण, जंगल जोगाउन आधाभन्दा बढी काम उहाँ एक्लै गर्नुभएको छ, विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृतसहित केही कर्मचारीमाथि कारबाही र तथा वन विभागले दुई दर्जन कर्मचारीलाई एकैपटक सरुवा गरेपछि बारामा वनका कर्मचारी नै भागाभाग भएर लथालिङ्ग अवस्थामा थियो। तर, पछिल्लो समय कर्मचारी अनुशासनदेखि चोरीतस्करी नियन्त्रणका ठूलो उपलब्धि हासिल भएको छ।’

कर्मचारीलाई काम खटाउने, फिल्डको को जाने?  कुन दिन कुन गाडी पठाउने? कुन नाकामा कुर्ने लगायतका कामहरू अहिले नियमित रुपमा भइरहेको अहमदले बताए। 

बाराका डिभिजन प्रमुख पनि सम्मानित

देशभरका डिभिजन वन कार्यालयमध्ये बाराको वन कार्यालय उत्कृष्ट भएको छ। 

७७ जिल्ला मध्येबाट बाराको वन कार्यालयको तर्फबाट वन अधिकृत प्रमुख मञ्जुर अहमद सम्मानित भएका हुन्।

सोमबार वन तथा वातावरण मन्त्रालय सचिव डा. प्रेम नारायण कँडेलले अहमदलाई सम्मानित गरेका हुन्।

‘देशभरका वन कार्यालयबाट भएका कामको मूल्यांकन गर्दा हामीले धेरै काम गरेका आधारमा सम्मानित भएको हौँ,’ अहमदले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.