|

सल्यान : नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिनाभन्दा बढी भइसक्दा समेत सल्यानमा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन हुन सकेको छैन। इन्टरनेटको सुविधा नहुँदा ग्रामीण भेकका विद्यालयमा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन हुन नसकेको हो।

सदरमुकाम रहेको शारदा नगरपालिकाका केही विद्यालयले वैकल्पिक विधिबाट पठनपाठन गराएको भए पनि सदरमुकामकै अधिकांश विद्यालय बन्द छन्। शितलपार्टीमा रहेको शिवजन माध्यमिक विद्यालय र लुहापिङमा रहेको त्रिभुवनजन माध्यमिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेका छन्।

तर सबै विद्यार्थीलाई अनलाइनको पहुँचमा ल्याउन नसकेको शिवजन माविका प्रधानाध्यापक हिरालाल नेपालीले बताए। कतिपय ठाउँमा नेटको पहुँच भएपनि अनियमित विद्युतका कारण सस्या हुने गरेको उनको भनाइ छ। उनले भने ‘अभिभावकहरुले टिचिङ सामग्री किनिदिने सम्भावना निकै कम छ। एउटै घरका दुई तीनजना विद्यार्थी हुन्छन्। अभिभावकले एकैपटक दुई तीनवटा मोबाइल, कम्प्युटर, ल्यापटप किन्न सक्ने अवस्था छैन।’

लामो समयदेखि विद्यालय बन्द हुँदा जिल्लाका ५०० विद्यालयका झन्डै ६० हजार विद्यार्थी पढाइबाट बञ्चित भएका छन्। विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने, टेलिभिजनमा पहुँच हुनेलाई टेलिभिजन कार्यक्रम, रेडियो कार्यक्रम र इन्टनेटको माध्यमबाट कक्षा सञ्चालन गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयन नहुँदा कागजमै सीमित भएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.