|

डडेल्धुरा : डडेल्धुराको अमरगढी-५ का रामशरण रोका। जिल्ला सदरमुकामस्थित एक संस्थागत विद्यालयमा अध्यापन गराइरहेका थिए। 

उमेरले ३८ वर्षका रोका विगत १० वर्षदेखि नियमित शिक्षण पेशामा रमाइरहेका थिए। शिक्षण पेशामा कार्यरत उनको जीवन सहज नै चलिरहेको थियो। शिक्षण गरेर आएको पैसाले उनका परिवारको दैनिकी सहज रूपमा चलिरहेको थियो। 

समय तीव्र रुपमा अगाडि बढी रहेको थियो। विश्वव्यापी रुपमा कोरोना भाइरस महामारी फैलियो। महामारी रोक्न सरकारले ११ चैत २०७६ बाट देशभरी लकडाउनको घोषणा गर्‍यो। आम नागरिकको दैनिक जीवनै संकटमा पर्‍यो। साँझ बिहान गुजारा कसरी चलाउने भन्ने पिरलो जनमानसमा थियो।

एक निजी विद्यालयमा कार्यरत शिक्षकलाई पनि महामारीले स्वतः समस्यामा पार्ने नै भयो। सरकारी विद्यालय भए पारिश्रमिक आउँछ भन्ने आशा हुन्थ्यो। तर, रोका भने संस्थागत विद्यालयमा थिए। 

काम गर्न नपाएपछि पारिश्रमिक आउने कुरै भएन। यसको मारमा रोका पनि थिए। कोरोना भाइरसको महामारीले निकै सताएको रोका बताउँछन्। कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन त गर्‍यो।

तर, उनी जस्तै निजी संस्थामा काम गरेर खानेको गुजारा चलाउन कठिन बनाइदियो। लकडाउनमा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी बेरोजगार भएको समयमा उनी सरकारले निजी विद्यालयलाई सौतेनी व्यवहार गरेको बताउँछन्। 

खान लगाउनै समस्या भएका बेला अरूको मुख ताक्नुभन्दा आफ्नै ठाउँमा आफै केही गरौँ भनेर विकल्प खोज्नतिर लागेको उनी सुनाउँछन्। आफूले गर्दै आएको काम रोकिँदा परिवार पाल्नुको पीडा सहन नसक्नेको बाँकी जीवन लथालिङ्ग हुन्छ। 

घरमै बसेर के गर्नु भनेर धेरैसँग सुझाव लिए। फेरि, सबैले गरेजस्तो व्यापार गरेर कुनै फाइदा थिएन। 

तर, रामशरणका लागि त्यहीँ पीडा नै प्रेरणाको स्रोत भइदियो। पहिले उनी पोखरामा बस्ने भएकोले उनका त्यतातिर पनि थुप्रै साथी छन्। कोरोनाका कारण बेरोजगार भएको समयमा एक दिन उनको पुराना साथीहरूसँग फोनमा कुराकानी भयो।

साथीहरूको सुझाव र इन्टरनेटको माध्यमबाट डडेल्धुरामा चप्पल उद्योग खोल्न उनी निकै प्रेरित भए। डडेल्धुरा सदरमुकामको विद्युत् रोड छेउमै चप्पल उद्योग खोले। ‘सफल चप्पल उद्योग’का नाममा टिनले बारेको आफ्नै छाप्रोमा उद्योग सञ्चालन गरे।

बजारको अध्ययनपश्चात उद्योग सञ्चालन गर्ने सोच उनले बनाए। सुदूरपश्चिमका पहाडी जिल्लामा कतै पनि चप्पल उद्योग थिएन। ७ पहाडी जिल्लामा आफूले उत्पादन गरेका चप्पल आपूर्ति गर्ने योजनाका साथ उनले उद्योग सञ्चालन गरे। 

८ लाख लगानी गरेर विराटनगरबाट मेसिन तथा चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ ल्याएर उत्पादन शुरू गरेका उनको व्यापार निकै फस्टायो। र, मनग्य आम्दानी गर्न थाले। 

‘सफल चप्पल’ बाट ‘सफल फूट’

​‘सफल चप्पल’ नामबाट चप्पल उद्योग शुरू गरेको उनको जीवन नै फेरियो। जीवनसँगै उनको उद्योगको नाम पनि फेरियो र रहन गयो ‘सफल फूट वयर्स’।

अहिले उनको उद्योगमा चप्पलसँगै जुत्ता पनि बनाइन्छ। बाहिरी जिल्लाबाट ल्याएका जुत्ता चप्पल महँगो र गुणस्तरहीन भएको कारण पनि उनको उद्योगमा बनेका जुत्ता चप्पलको माग अत्यधिक छ। 

सुदूरपश्चिमका पहाडी जिल्लामा पहिलोपटक उद्योग सञ्चालनमा आएपछि सस्तो जुत्ता चप्पल पाइने थालेपछि यहाँका स्थानीय पनि हर्षित छन्। जुत्ता चप्पल बन्ने सामग्री काठमाडौं, नेपालगञ्ज, बिराटनगर र भारतबाट ल्याउने गरेको उनको भनाइ छ। 

उनी भन्छन्, ‘डडेल्धुराको बजार अलिक फरक छ। काठमाडौंको सामग्री जस्तोसुकै भएपनि व्यापारीहरू खपत गराउन खोज्छन्‌, हाम्रो लोकल उत्पादन गुणस्तरीय भएपनि नजिकको तीर्थ हेला भनेजस्तो गर्छन्।’

बजार व्यवस्थापनमा चुनौती रहेको उनी बताउँछन्। ‘एक जना व्यापारीले आफूलाई मात्र दिन र अरूलाई नदिन भन्छन्। तर, एउटै पसलमा दिएर सामग्री बिक्री गर्न गाह्रो हुन्छ,’ उनले भने। 

१० युवालाई रोजगारी

अहिले उनले १० युवालाई रोजगारी दिएका छन्। पुरुष र महिलाका लागि जुत्ता चप्पल बनाउन फरक कामदार राखेको उनी बताउँछन्। 

अहिले उनले जुत्ता चप्पल बनाउन भारतबाटसमेत कामदार ल्याएका छन्। मासिक ठ्याक्कै यत्ति कमाइ हुन्छ भन्न सक्ने अवस्था नरहेको तर, सिजनअनुसार राम्रै कमाइ हुने गरेको उनको भनाइ छ। 

अधिकांश युवा देशमा रोजगार नपाएर विदेश जाने गरेकोमा उनी दुःखी छन्। विदेशमा गर्ने मेहनत आफ्नै देशमा गरे मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ। 

‘भारतमा हामी भाँडा माझ्ने गर्छौँ। तर, आफ्नो देशमा भाँडा माझ्न भने लजाउँछौँ। विदेशमा जुन लेभलमा काम गछौँ, त्यही लेभलको काम स्वदेशमै गर्न तयार हुनुपर्छ,’ उनी भन्छन्, ‘सानो लगानीमा काम गरेपनि मनग्य आम्दानी गर्न सकिन्छ। मैले पनि शुरूमा चप्पल उद्योग सञ्चालन गरेको थिएँ। अहिले जुत्ता उद्योग सञ्चालन गरिसकेँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.