न समयमै परीक्षण, न शुल्क नियमन !

|

काठमाडौं  : मध्याह्न १२ बजेको समय, पिठ्युँमा लत्ता कपडाको झोला बोकेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र युवाहरू यताउता यताउता गरिरहेका थिए। वैदेशिक रोजगारीको खोजीमा विदेशिन लागेका गुल्मीका २७ वर्षीय श्याम जिसी सोही भिडमा भेटिए।

कोरोना संक्रमित रहे/नरहेको थाहा पाउन जिसीले मंगलबार दिउँसो दुई हजार रुपैयाँ तिरेर पीसीआर परीक्षण गरेका थिए। बुधबार दिउँसो फेरि पीसीआर र्‍यापिड परीक्षण गर्न तीन हजार रुपैयाँ तिर्नुपरेको उनले सुनाए। भने, ‘श्रम गर्न जान्छु भन्दा पनि सरकारले नै लुटिरहेको छ।’ उनको हातमा बुधबार साँझ ७ बजे विमानयात्रा गर्ने टिकट थियो। 

वैदेशिक रोजगारी निम्ति विदेश जान लागेका जिसी एक महिनाअघि नै काठमाडौ आएका थिए। विदेश जान विभिन्न प्रक्रिया पूरा गर्ने क्रममा एक महिना बालाजुको एक होटलमा बसे। सो होटललाई विदेश गएर कमाउने एक महिनाको तलब बुझाउनुपरेको जिसीले सुनाए।

दुई वर्षदेखि दुबईको एक होटलमा काम गरिरहेका जिसी गत चैतमा नेपाल आएका थिए। कोरोना भाइरस विश्वभर महामारीका रूपमा फैलिएपछि उनी श्रम गन्तव्यमा फर्कन पाएका थिएनन्।

कैलाली जिल्लाका करण मगरले पनि पीसीआर गर्दा तीन हजार १०० रुपैयाँ शुल्क तिर्नुपरेको सुनाए। उनी एक सातायता गौशालास्थित एक होटलमा बसिरहेका छन्।

केही दिनअघि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली दूतावासले खोप लगाएको प्रमाणपत्र पेश नगरेपनि सहजै त्यहाँ जान पाइने सूचना सार्वजनिक गर्‍यो। तर, कोभिड पीसीआर रिपोर्ट र चार घण्टाअघि गरिएको र्‍यापिड रिपोर्ट नेगेटिभ हुनुपर्ने उल्लेख गरेको छ। हाल दुबई जान पीसीआर र्‍यापिड रिपोर्ट नेगेटिभ आवश्यक पर्ने भएकाले समस्या भएको हो।

दुबईले कोभिड जोखिम रहेका विदेशी नागरिकलाई आफ्नो देश छिर्न प्रतिबन्ध लगाएको छ। विभिन्न मुलुकको अन्तरराष्ट्रिय विमानस्थलबाट प्रवेश चाहने नागरिकले चार घण्टाअघि गरेको कोभिड र्‍यापिड परीक्षणको नेगेटिभ रिपोर्ट आवश्यक पर्ने जनाएको छ। 

यूएई सरकारले नयाँ व्यवस्था गरेसँगै नेपाली कामदारहरू र्‍यापिड परीक्षण गरी दुबईतर्फ गइरहेका छन्। दुबईका लागि नेपालबाट उडान भरिरहेका एयर अरेबिया र फ्लाइट दुबईले र स्टार अस्पतालसँग मिलेर विदेश जाने नेपाली कामदारसँग कोभिड-१९ को र्‍यापिड परीक्षणका नाममा बढी शुल्क उठाउँदै आएको छ।

सरकारले वैदेशिक रोजगारीमा जानेलाई कोरोना परीक्षण (पीसीआर परीक्षण) अनिवार्य गरेको छ।

विमानस्थलमा कोभिड परीक्षणबारे मन्त्रालय भन्छ : जानकारी छैन

विमानस्थलमा कोभिड परीक्षण भइरहेको विषयमा थाहा नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए। विदेशबाट आएकालाई होल्डिङ सेन्टरमा राखी परीक्षण व्यवस्था गरिएपनि जानेको लागि पीसीआर र्‍यापिड गरिएको जानकारी नभएको उनले बताएका हुन्‌।

नागरिक उड्डयन प्राधिकरणले मन्त्रालयलाई कोभिड परीक्षण व्यवस्था गरिदिन माग गरेको थियो। परीक्षणको सम्पूर्ण व्यवस्थापन गर्न प्राधिकरणलाई जिम्मा दिएको उनको भनाइ छ।

निजी अस्पतालमा पीसीआर परीक्षण गर्न दुई हजार रुपैयाँ दर तोकेको, तर आरडीटी परीक्षण गर्न एक हजार रुपैयाँभन्दा बढी लिन नपाउने पौडेलले बताए। निजीलाई अहिलेसम्म कोभिड आरडीटी परीक्षण गर्दा लिने शुल्क तोकिएको छैन। सरकारको अनुमतिबिना परीक्षण गर्नु गैरकानुनी भएको उनको भनाइ छ। 

दुबईले मात्र यात्रुको र्‍यापिड परीक्षणको नेगेटिभ रिपोर्ट माग गरेको छ। सरकारले र्‍यापिड परीक्षण शुल्क एक हजार रुपैयाँ तोकेको छ। 

‘परीक्षण सामग्री महंगो भयो’

पीसीआर र्‍यापिड परीक्षणको सामग्रि नै महंगो भएकाले बढी शुल्क तिर्नुपरेको स्टार अस्पतालका अध्यक्ष किशोर महर्जनले बताए।

उनले भने, ‘सरकारले र्‍यापिड परीक्षणको शुल्क निर्धारण गरेको छैन, हामीले हाल २ हजार रुपैयाँ शुल्क लिएका छौँ।’ परीक्षण कीट महँगो परेकाले यो दरमा शुल्क लिने गरेको उनको भनाइ छ।

यता स्वास्थ्य मन्त्रालयले भने कोभिडको सबै परीक्षण शुल्क निर्धारण गरेको बताएको छ। स्वास्थ्य मन्त्रालयसँग अनुमति लिएर परीक्षण गरिएको महर्जनको दाबी छ। 

विभिन्न देशले सरकारले पीसीआर र्‍यापिड परीक्षणबिना कामदार नलैजाने भन्दै शर्त राख्दा पनि सरकारले चासो नदेखाएकाले आफूले गरेको महर्जनले तर्क गरे। उनले भने, ‘सरकारले गर्न नसकेको काम गरेका हौँ, मिडियाले किन विरोध गरिरहेका छन्?’ 

पीसीआर र्‍यापिड​ परीक्षण रिपोर्ट पोजेटिभ आए के गर्ने ? 

वैदेशिक रोजगारीमा जान लागि लाखौँ खर्च गरी विमानस्थल प्रवेश गरिसकेका श्रमिकको पीसीआर र्‍यापिड परीक्षण पोजेटिभ आउने गरेको अध्यक्ष महर्जनले बताए।

‘दैनिक एक जनाको पोजेटिभ आउने गरेको छ,’ उनले भने, ‘रिपोर्ट पोजेटिभ आएका कामदार विदेश जान पाउँदैनन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.