|

काठमाडौं :  नेपालबाट राहदानी जारी हुन थालेको लामो समयपछि सरकारले राहदानी संग्रहालय स्थापना गर्ने भएको छ। हालसम्म जारी भएका राहदानीको अभिलेख राख्न सरकारले राहदानी संग्रहालय स्थापना गर्न लागेको हो। 

राहदानी विभागले गएको ८ असारमा नीतिगत निर्णय गरी संग्रहालय स्थापना अघि बढाएको हो। तर, संग्रहालय सर्वसाधारणले तत्कालै भ्रमण गर्न सक्ने गरी तयार भइसकेको छैन।

तीव्रताका साथ संग्रहालय निर्माण भइरहेको जानकारी विभागका महानिर्देशक डोरनाथ अर्यालले दिए। राहदानीसँग जोडिएका इतिहास संरक्षण गर्न संग्रहालय स्थापना गर्न लागेको उनले बताए। 

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको विभागले नेपाली राहदानीको इतिहास संरक्षणका लागि मात्र नभएर पछिका पुस्तासम्म पुर्‍याउने ध्येय राखेको बताउँछन् महानिर्देशक अर्याल। सुरुवातमा ७ लाख रूपैयाँबाट काम थालेको उनले बताए।

स्थापना भएपछि सर्वसाधारणका लागि इन्टरनेटबाट र भौतिक रूपमै पनि संग्रहालय भ्रमण गर्न सक्ने व्यवस्था मिलाइने छ। महानिर्देशक अर्यालका अनुसार राहदानीको इतिहास बुझ्न चाहनेले अडियो, भिडियो सुन्न हेर्न पाउने र मन लागे संग्रहालय नै भ्रमण गर्न सक्ने छन्। 

संग्रहालय बनाउन  महानिर्देशकको नेतृत्वमा २ वटा कमिटी गठन गरिएको छ। कमिटीले राहदानी संकलन र वेबसाइट निर्माण गरिरहेका छन्। त्रिपुरेश्वरस्थित नयाँ भवनमा विभाग सारेर संग्रहालय राख्ने तयारी भइरहेको महानिर्देशक अर्यालले जानकारी दिए। 

भौतिक सामग्रीसहित संग्रहालय अवलोकन गर्नेभन्दा पनि डिजिटल रूपमै विश्वका जुनसुकै कुनाबाट हेर्न मिल्ने बनाउने अभियान विभागले थालेको प्रवक्ता राजेन्द्र पाण्डेले जानकारी दिए। 

कति संकलन भए राहदानी ?

नेपालको इतिहास झल्काउने निकै पुराना २ वटासहित ६० भन्दा बढी पुराना राहदानी संकलन भइसकेका छन्। हाल विभागसँग रहेका पुराना राहदानीमध्ये एउटा इन्दु शमशेर थापाको नाममा सन् १९५९ नोभेम्बर १९ मा जारी भएको राहदानी छ। केही दिनअघि उनका छोरा गौरव शमशेर थापाले सुरक्षित राख्न विभागलाई राहदानी हस्तान्तरण गरेका गरेका थिए। 

प्राचीन नेपाली शैलीको सो राहदानीको भित्री पाना तथा भिसाको मिति तोक्ने पानामा उल्लेख भएका विवरणले नेपालको पुरानो कालखण्डको भाषा पनि झल्काउने छ। 

ऐतिहासिक रोचक जानकारी दिने भएकाले त्यो राहदानी संग्रहालयको महत्वपूर्ण सम्पत्ति मानिएको छ। सो राहदानी तयार पार्दा नेपाल सरकारको नाममा छापिएको देखिन्छ तर,पछि श्री ५ को सरकार बनाइएको छ।

लण्डनस्थित नेपाली दूतावासबाट जारी भएको सो राहदानीमा दूतावासका तत्कालीन सचिव झरेन्द्रनारायण सिंहको हस्ताक्षर छ। 

यस्तो छ नेपाली राहदानीको इतिहास

विश्वमा पहिलो विश्वयुद्धपछि मात्र राहदानीको प्रचलन सुरु भएको मानिन्छ। औपचारिक रूपमा सन् १९२० पछि कागजमा लेखिएका राहदानी प्रचलनमा आएको विभागले जनाएको छ।

सन् १९९१ मा बेलायतमा नेपालको दूतावास स्थापना भएसँगै पहिलो पटक नेपाली राहदानी जारी भएको इतिहास छ। त्यस बेलाका राहदानीका पहिलो पानामा व्यक्तिगत विवरण राखिन्थ्यो र अन्य पानामा भिसा लगाउने व्यवस्था गरिएको हुन्थ्यो।

महिलाको नाममा छुट्टै राहदानी जारी हुने व्यवस्थासमेत त्यसबेला नभएको महानिर्देशक अर्यालले सुनाए। पतिकै नामसँग जोडेर पत्नीको नाम राख्ने गरेको देखिन्छ। त्यसैले पतिपत्नी दुवै जनाको राहदानी त्यसबेला एउटै हुन्थ्यो।   

नेपालमा सन् २०१० मार्च ३१ सम्म हस्तलिखित राहदानीकै प्रचलन थियो। अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठनको सदस्य बनेपछि भने नेपालले मेसिनले पढ्न सक्ने एमआरपी (मेसिन रिडेबल पासपोर्ट) जारी गर्न थालेको थियो। नेपालमा सन् २०१० डिसेम्बर २६ देखि एमआरपी कार्यान्वयनमा ल्याइएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.