|

सुर्खेत: कर्णाली प्रदेशका मन्त्री कुर्मराज शाहीलाई पदबाट बर्खास्त गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट विभिन्न विद्यार्थी संघ संगठनले मन्त्री शाहीलाई पदबाट तत्काल बर्खास्त गर्न सरकारलाई चौतर्फी दबाब दिएका हुन्। भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहीमाथि बलात्कारको आरोप लागेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एमालेले माग गरेको छ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले सार्वजनिक रूपमा घटना विवरणसहित लागेको आरोपको आधारमा सरकारले मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने बताए। यस्तै राष्ट्रिय युवा संघ सुर्खेत र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले पनि प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री शाहीले पदबाट राजीनामा नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

त्यस्तै बलात्कार आरोप लागेका मन्त्रीलाई बर्खास्त गरी जनपक्षीय भूमिकामा रहन कर्णालीका मुख्यमन्त्रीलाई अनेरास्ववियुले माग गरेको छ। साथै सरकारले समयमै शाहीलाई मन्त्री पदबाट बर्खास्त नगरेमा चरणबद्ध आन्दोलनसहित सडकमा उत्रिन बाध्य हुने उसले जनाएको छ। 

त्यस्तै कर्णाली प्रदेशमा संचालित नागरिक संस्थाहरूले बलात्कार आरोप लागेका शाहीको घटनाका बारेमा प्रदेश सरकार र यहाँका राजनीतिक दलहरूको धारणा सार्वजनिक गर्न माग गरेका छन्।

शनिबार ९ वटा नागरिक संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकार र समाजको नेतृत्व गर्ने राजनीतिक दलहरूले दण्डहिनतालाई प्रश्रय दिएको उल्लेख गरेका छन्। उनीहरूले शाहीलाई एक महिलामाथि बलात्कारको आरोप लागेको समाचार विभिन्न सञ्चार माध्यमहरूमा आइरहँदा पनि यस विषयमा प्रदेश सरकार र यहाँका दलहरू गम्भीर नभएको भन्दै आक्रोश पोखेका छन्।

हिंसा निगरानी समूह, महिला मानव अधिकार रक्षक सञ्जाल, गैसस महासंघ, महिला अधिकार एलायन्स तथा सामाजिक न्याय मञ्च, नेपाल पत्रकार महासंघ, मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश, मेची महाकाली संयुक्त बुहारी आवाज, मानव अधिकार समूह सुर्खेत र क्रियाशील पत्रकार महिला समूहले सार्वभौमसत्ता सम्पन्न जनताबाट बनेको सरकारको सार्वजनिक पद धारण गरी शक्ति र सत्ताको दुरूपयोग गर्ने मन्त्री शाहीमाथि सो पदमा बस्ने नैतिक जिम्मेवारीमाथि प्रश्न उठिरहँदा पनि प्रदेश सरकार जवाफदेही नभएको औंल्याउँदै आपत्ति प्रकट गरेका छन्।  

विज्ञप्तिमा उल्लेख गरिएको छ,‘आरोप लागेका मन्त्रीमाथि न कुनै छानबिन छ नत कानुनी अनुसन्धान प्रक्रियाको थालनी भएको छ। उल्टै सत्तामा बसेका जिम्मेवार व्यक्तिद्वारा महिला अस्तित्वको चिरहरण गर्ने कार्यलाई प्रोत्साहन दिन खोजिएको छ। २१ औं शताब्दीमा पनि महिला अस्तित्वको मोलमोलाई बजार, घर, समाज, सत्तासम्म भइराख्नु महिला तथा मानव अधिकारको गम्भीर उलङ्घन एवं ज्यादती हो।’ 

कर्णाली प्रदेश सरकारको प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले कृषि मन्त्री शाहीमाथि लागेको बलात्कारको आरोप, आरोप मात्रै भएको बताएकी छिन्।

उनले थाहाखबरसँग भनिन्,‘मिडियामा आएका समाचारका आधारमा मन्त्रीज्युलाई बलात्कारको आरोप भनेर नै आएको छ। उहाँको विषमा प्रशासनमा प्रमाणसहित मुद्दा दर्ता गरेको अवस्था पनि छैन्, अनि यसमा सरकारको धारण के हुन्छ र ?, सरकारले के भन्ने?, तपाईहरूले जे कुरा मिडियामा ल्याउनु भएको छ नी सरकारको धारण पनि त्यही आरोप नै होला।’

मन्त्री शाहीमाथि लागेको बलात्कारको बिषयमा प्रशासनमा सत्यतथ्य प्रमाणसहित पेश नभएको र समाचारमा आएका आरोपको मात्रै कुनै पनि प्रमाण नबन्ने मन्त्री नेपालीको भनाई छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.