|

पाल्पा : स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पहिरोले घर पुरिएर मृत्यु भएकाको पहिचान भएको छ। 

मृत्यु हुनेमा वालिङ नगरपालिका–१४ कि अन्दाजी ४० वर्षकी धनमाया उम्रा मगर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेन्द्रप्रसाद अधिकारीले बताए। 

धनमाया यात्राका क्रममा होटलमा नास्ता खाना बसेकी थिइन्। पुरिएको घरमा होटल सञ्चालन हुँदै आएको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो। 

पहिरोमा पुरिएर ३ जना घाइते भएका छन्। होटल सञ्चालक ३७ वर्षीया लक्ष्मी बस्नेत र सोही होटलमा काम गर्न बसेका १६ वर्षीय शिशिर योगी घाइते भएका छन्। अर्का एक जनाको भने नाम ठेगाना खुल्न सकेको छैन।

घाइते तीनै जनाको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको डिएसपी अधिकारीले बताए। उनीहरूको अवस्था सामान्य रहेको छ।

शनिबार रातिदेखि परेको अविरल वर्षासँगै आइतबार करिब साढे ४ बजे पहिरो खसेको हो।  

पाल्पा र स्याङ्जाको संगमस्थल राम्दी पुल नजिकैको बजारमा पहिरो खसेको हो। सिद्धार्थ राजमार्ग छेउमा रहेका होटल पुरिएका हुन्।

पहिरोले २ वटा घर पुरिएका छन्। माथिबाट ठुल्ठूला ढुंगासहित पहिरो खसेर घर पुरिएका हुन्। डोजरको सहायताले पुरिएकाको उद्वार गरिएको थियो। सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए।

पहिरोले  सिद्धार्थ राजमार्गसमेत अवरुद्ध भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.