|

काठमाडौँ : माछापुच्छ्रे बैंक र एनसेल लिजेण्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूह चरणका खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन्।

एसएस इभेण्ट्स प्रालि र नेकोसको संयुक्त आयोजनामा मूलपानी क्रिकेट मैदानमा जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमवार क्वार्टरफाइनल समीकरण पूरा भएको छ। 

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ को माछापुच्छ्रे र समूह ‘सी’ को एनसेल दुवै ३/३ खेल जित्दै समूह विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेका हुन्। 

माछापुच्छ्रेले सोमवार समूहमा क्लाउड फ्याक्ट्रीलाई १ रन र एनआईसी एशिया बैंकलाई १ विकेटलाई हराउँदै समूह विजेता बन्यो।

हारका बाबजुद एनआईसी समूह उपविजेताका रूपमा दोस्रो चरणमा पुग्यो। एनआईसी एशियाले आइतवार नै २ खेल जितेको थियो। 

५ ओभरमा भएको कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमवार १२ खेल भएका थिए। 

एनसेल लिजेण्ड्सले सोमवार सूर्य नेपाललाई ५ विकेटले र नेपाल बैंकलाई २३ रनको फराकिलो अन्तरले हराउँदै समूह विजेता भयो।

समूह ‘सी’ मा ३ खेलको सकिँदा सूर्य नेपाल, आईएमई ग्रुप र नेपाल बैंक तीनवटैले १/१ खेल जिते।

नेट रनरेटका आधारमा सूर्य नेपाल क्वार्टरफाइनलमा पुग्न सफल भयो। सूर्य नेपालले सोमवार आईएमई ग्रुपलाई ११ रनले जितेको थियो। यो जित नै उसलाई दोस्रो चरणमा पुग्न पर्याप्त बन्यो। 

समूह ‘बी’ बाट आईसीएफसी फाइनान्स र सिप्रदी शीर्ष दुईमा रहँदै क्वार्टरफाइनलमा पुगे। 

आईसीएफसी फाइनान्सले सोमवार मूलपानीमा जगदम्बा ग्रुपलाई ५ रन र सिप्रदीलाई १२ रन हरायो। यससँगै समूहमा तीनै खेल जित्दै आईसीएफसी फाइनान्स दोस्रो चरणमा पुग्यो।

सिप्रदीले भने दोस्रो दिन जगदम्बा ग्रुपलाई १५ रन र कुमारी बैंकलाई १४ रनले हरायो। सिप्रदीले एक खेलमात्र गुमाउन पुग्यो। 

समूह ‘डी’ मा ३ टोलीले मात्र प्रतिष्पर्धा गरेका थिए। तीमध्ये सुबिसु २ खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुग्न सफल भयो। 

सुबिसुले दोस्रो दिन राष्ट्रिय वाणिज्य बैंकमाथि ३ विकेटको जित निकाल्दै अपराजित यात्रा कायमै राखेको हो। यो समूहबाट राष्ट्रिय वाणिज्य बैंक दोस्रो चरणमा पुग्न सफल भयो।

वाणिज्य बैंकले पनि सोमवार एनसेल इलाट्सलाई १३ रनले पराजित गर्‍यो। यो जित नै वाणिज्य बैंकलाई क्वार्टरफाइनलमा पुग्न पर्याप्त भयो। 

सोमवार भएका अन्य खेलमा समूह ‘बी’ को जगदम्बा ग्रुपले कुमारी बैंकलाई ४ रन, समूह ‘सी’ को आईएमईले नेपाल बैंकलाई १८ रनले, समूह ‘ए’ को प्राइम बैंकले क्लाउड फ्याक्ट्रीलाई ३० रनले जित्यो। यद्यपि यो जित तीनै टोलीका लागि दोस्रो चरणमा पुग्न पर्याप्त भएन। 

तीनदिने प्रतियोगिताको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल मंगलवार नै हुनेछन्।

१५ वटा कर्पोरेट हाउसले प्रतिष्पर्धा गरेको यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन्। 

विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने भएका छन्। प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन्। 

आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने एसएस इभेन्ट्स प्रालिका निर्देशक सुमित रौनियारले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.