'आईसीसी लामिछानेलाई अनुमति दिन सकारात्मक छ'

|

काठमाडौँ : उच्च अदालतले यही जेठ २ गते नाबालिका बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दियो। 

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा २०८० पुस २५ गते जिल्ला अदालत काठमाडौँले जबर्जस्ती करणी मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिमाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो।

अदालतले उक्त फैसला गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई घरेलु तथा अन्तरराष्ट्रिय खेल खेल्नबाट निलम्बन गरेको थियो।

जिल्ला अदालतको उक्त फैसला उल्टाउँदै उच्चले लामिछानेलाई सफाइ दिएको हो। उच्चले सफाइ दिनासाथै त्यही दिन नेपाल क्रिकेट संघले एक विज्ञप्ति जारी गर्दै लामिछानेमाथि घरेलु तथा अन्तरराष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा भएको जानकारी दियो।

हतार हतार किन निलम्बन फुकुवा गर्‍यो त? किनभने आईसीसी टी-२० विश्वकप प्रतियोगिता यही जेठ २२ देखि असार १७ गते (सन् २०२४ जुन ४ देखि ३० तारिख) सम्म अमेरिका र वेष्ट इण्डिजमा संयुक्त रुपमा आयोजना हुँदै छ। उक्त प्रतियोगितामा लामिछानेलाई पठाउने क्यानको तयारी छ।

क्यानले आईसीसीसँग लामिछानेको खेलमा समावेश गर्न अनुमति कुरिरहेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लामिछानेले विश्वकपमा समावेश गर्न सकारात्मक रहेको जानकारी दिए। 

'लामिछानेको फिटनेसको नतिजा छिट्टै आउँछ। केही प्राविधिक कुराहरू मिलाउँदै छौँ', उनले भने, 'केही दिनमा लामिछाने क्रिकेट खेल्न अमेरिका उड्नुहुन्छ।'

क्यानले घोषणा गरेको १५ खेलाडी

नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरिसकेको छ। क्यानले रोहित पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा रोहित पौडेल‚ आसिफ शेख‚ अनिलकुमार साह‚ कुशल भूर्तेल‚ कुशल मल्ल‚ दीपेन्द्रसिंह ऐरी‚ ललित राजवंशी‚ करण केसी‚ गुल्सन झा‚ सोमपाल कामी‚ प्रतीश जीसी‚ सन्दीप जोरा‚ अविनाश बोहरा‚ सागर ढकाल र कमलसिंह ऐरी छन्। 

आईसीसीको नियमअनुसार आउँदो २५ तारिखसम्म टोलीमा फेरबदल गर्न पाइन्छ तर नेपालले अहिले घोषणा गरेको टोलीमा लामिछानेलाई समावेश गर्दा टोलीमा रहेका कुनै एक खेलाडीलाई हटाउनुपर्नेछ।

विश्वकप टोली घोषणा गर्नुअगाडि टोलीका खेलाडीको अवस्था

विश्वकपको पूर्वतयारीका रूपमा नेपाल वेष्ट इण्डिज ए टीमसँग ५ खेलको सिरिज खेलेको थियो। उक्त सिरिजका लागि छानिएका खेलाडीहरूबाट नै छनोट गरि विश्वकप खेल्ने टोलीको घोषणा गरिएको  हो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकपअगाडि सबै खेलाडीबारे जानकारी लिन पनि वेष्ट इण्डिज ‘ए’ सँगको खेलमा केही खेलाडीलाई अवसर दिएको त्यसवेला बताएका थिए।

उक्त सिरिजमा नेपाल २-३ पराजित हुँदै सिरिज वेष्ट इण्डिजलाई शृंखला सुम्पिन बाध्य भयो।

नेपाली टीममा अहिले अलराउण्डरको संख्या उल्लेख्य छ। कुशल भूर्तेल, दिपेन्द्रसिंह ऐरी‚ कुशल मल्ल, आवश्यक पर्दा रोहित पौडेल पनि बलिङ गर्न सक्छन् र  नतिजा नेपालको पक्षमा ल्याउन सक्ने क्षमता राख्छन्।

यस्तै, फास्ट बलर सोमपाल कामी, करण केसी, अभिनास बोहरा, प्रतिस जीसी‚ कमलसिंह ऐरी रहेका छन् भने अलराउण्डर गुल्शन झाले पनि मध्यम तीव्र गतिको बलिङ गर्छन्।

आशिफ शेख विकेटकिपर तथा ब्याट्सम्यान हुन् भने अनिल पनि ब्याट्सम्यान तथा विकेटकिपर हुन्। सन्दीप जोरा ब्याट्सम्यान हुन्।

सागर ढकाल र ललित राजवंशी भने स्पिनर हुन्। यसमा रोचक कुरा के छ भने वेष्ट इण्डिज एसँगको खेलमा नेपाली टोली घोषणा गर्दा अन्तिम समयमा सागर ढकाल र कमलसिंह ऐरी समेटिएका थिए।

उक्त सिरिजमा सागरले दोस्रो खेलमा ४ ओभरको बलिङमा १९ रन खर्चिदै २ विकेट लिएका थिए भने तेस्रो खेलमा ४ ओभर बलिङमा १ विकेट लिँदै ४१ रन खर्चिएका थिए।

कमलसिंह ऐरीले उक्त सिरिजको पहिलो खेलमा ३ ओभरको बलिङमा एक विकेट लिँदै ५३ रन खर्चिएका थिए। तेस्रो खेलमा ४ ओभर खेल्दै ५३ रन खर्चिए। 

अर्का स्पिनर ललितले पहिलो खेलमा ४ ओभरको बलिङमा ३४ रन खर्चिएका थिए। चौथो खेलमा खेलमा फर्किएका ललितले ४ ओभर खेल्दै ५३ रन दिएका थिए।

प्रतिस जीसीले पहिलो खेलमा ३ ओभरमा २८ रन खर्चिएका उनले ५ रन बनाएका थिए। अन्तिम समयमा उनले हानेको चौकाले नेपाललाई जिततर्फ अग्रसर गराएको थियो। चौथो खेलमा उनले एक विकेट लिँदै ४३ रन खर्चिएका थिए।

लामिछाने  टोलीमा ‘इन’ हुँदा अर्को खेलाडी आउट हुनुपर्छ। यस विषयमा छलफल चलिरहेको क्यान अध्यक्ष चन्दले जानकारी दिए। नेपालबाट बिदाई गरेर पठाइएको खेलाडीलाई आफूहरूले हटाएर खेलअगावै नेपाल नफर्काउने बताए।

'कसलाई खेलमा राख्ने कसलाई हटाउने भन्ने कुरा व्यवस्थापन, प्रशिक्षकहरू बसेर छलफल हुन विषय हो', उनले भने, 'खेलबाट खेलाडी हटाए पनि अमेरिका टुरमा भने उहाँ हामीसँग नै रहनुहुनेछ।'

लामिछानेको खेलजीवन

लामिछानेले नामिबियाविरुद्ध सन् २०१५-१७ आईसीसी विश्व क्रिकेट लिग प्रतियोगिताबाट अन्तरराष्ट्रिय खेलमा डेब्यु गरेका थिए। पहिलो खेलपश्चात् उनलाई नेपालको १९ वर्षमुनिको राष्ट्रिय टोलीमा छनोट गरिएको थियो।

यू-१९ हुँदै नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका लामिछानेले सन् २०१८ मा २९ इनिङमा छिटो ५० विकेट लिने नेपाली  खेलाडी बनेका थिए।

५० एकदिवसीय खेल खेलेका लामिछानेले ११२ विकेट लिएका छन्। लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनेका थिए। 

एसीसी प्रिमियर कपको ओमानविरुद्धको खेलमा आदिल शफिकको विकेट लिएसँगै उनले यो उपलब्धि हात पारेका हुन्।

त्यसअघि अफगानिस्तानका रासिद खानले सन् २०१५ मा ४४ खेलमा १०० विकेट लिँदै कीर्तिमान रचेका थिए। अस्ट्रेलियाका बलर मिचेल स्टार्कले सन् २०१० मा ५२ खेल खेलेर १०० विकेट लिएका थिए।

उनले ४२ खेल खेलेर १०० विकेटको कोशेढुङ्गा पूरा गरेका थिए भने ५२ वटा टी-२० अन्तराष्ट्रिय खेल खेलेका छन्। जसमा उनले ९८ विकेट लिएका छन्।

यदि उनले विश्वकपमा आफ्नो उपस्थिति जनाएर २ विकेट लिए भने सबैभन्दा छिटो १०० विकेट लिने पहिलो नेपाली बन्नेछन्। टी-२० अन्तरराष्ट्रिय खेलमा उनको ६.३ को इकोनोमी रहेको छ।

केही महिनायता क्रिकेट खेलबाट निलम्बनमा परेका लामिछाने पछिल्लो पटक गत कात्तिकमा भएको टी-२० वर्ल्ड कप छनोट खेल खेलेका थिए। उक्त खेलमा लामिछानेले सेमिफाइनलमा २ विकेट र फाइनलमा २ विकेट लिएका थिए।

विश्वका विभिन्न लिगहरू इन्डियन प्रिमियर लिग (आईपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), अफगानिस्तान प्रिमियर लिग (एपीएल), ग्लोबल टी–२० क्यानडा लिग, टी–१० लिग, बिग बास लिग (बीबीएल), बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलेको अनुभव उनीसँग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.