२५ भदौमा काठमाडौंबाट सुरु गरिँदै

|

काठमाडौं  : सरकारले परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवासम्बन्धी काम अब स्थानीय तहबाटै गर्ने भएको छ। विदेशमा रहेका नेपालीसँग जोडिएका घटना र समस्याको सम्बोधन गर्न स्थानीय तहसँगको सहकार्यमा कन्सुलर सेवाका काम गर्न लागिएको कन्सुलर विभागले जनाएको छ। 

अध्ययन र श्रमलगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपालीको समस्या छिटो छरितो समाधान गर्न स्थानीय तहबाटै सेवा उपलब्ध गराउन लागेको कन्सुलर विभागका महानिर्देशक धनबहादुर वलीले जानकारी दिए।

हालसम्म कन्सुलर सेवासम्बन्धी सबै काम काठमाडौंबाट मात्र हुँदै आएको छ। देशका कुनाकाप्चाबाट कागजपत्र मिलाएर काठमाडौं आउन जान अधिकांशलाई समस्या हुन्छ। उनले भने, ‘दूरदराजमा रहेका नेपालीका आफन्तको विदेशमा मृत्यु भयो भने क्षतिपूर्तिका लागि महिनौं धाउनुपर्ने बाध्यता छ। त्यसको अन्त्य गर्नका लागि स्थानीय तहबाटै सेवा सुरु गर्न लागेका हौं।’ 

कन्सुलर विभागमा आउनुअघि सबै कागजपत्र स्थानीय तहले तयार पार्ने भएकाले यी काम पनि स्थानीय तहलाई नै लगाउन लागिएको हो। 

विदेशमा अलपत्र परेका, विदेशमा मृत्यु भइ शव ल्याउनुपर्ने, उपचार गर्न आवश्यक भएका, क्षतिपूर्ति, मुद्दा लड्ने काम र खोजतलासलगायत सम्पूर्ण काम कन्सुलर विभागले गर्दै आएको छ। अब विदेशमा रहेका नेपालीलाई कुनै समस्या परेमा समाधानका लागि स्थानीय तहमा नै निवेदन दिन सकिने छ।

विदेशमा रहेका नेपालीको समस्या समाधान गर्न कागजपत्र जुटाउन सहजताका लागि स्थानीय तहलाई अनलाइन प्रणालीमा जोडिने छ। स्थानीय तहले विदेशमा समस्यामा परेका नेपालीका कागजातको प्रगति, अनुगमन र सेवामा ढिलाइ भए अनुरोध गरेर पठाउन सक्नेलगायत सेवा दिन लागिएको विभागले जनाएको छ। 

२५ भदौमा काठमाडौंबाट सेवा सुरु

कन्सुलर विभागले २५ भदौबाट काठमाडौंबाट सेवा सुरु गर्ने भएको छ। सबैभन्दा पहिले काठमाडौं जिल्लाका स्थानीय तहबाट सेवा सुरु गर्न लागेको हो। यस वर्ष १ सय पालिकासँग सहकार्य गर्ने र आगामी वर्षसम्म ७ सय ५३ वटै स्थानीय तहमा सुरु गर्ने लक्ष्य विभागको छ।

कोरोनाका कारण सबैतिर एकसाथ सेवा सुरु गर्न नसकिएको विभागले जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय पञ्जीकरण विभागको संयन्त्रसँग सहकार्य गर्ने भएकाले सेवा सहज हुने  विश्वास विभागको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.