तत्काललाई कांग्रेसको ‘च्याप्टर क्लोज’

|

धनगढी : सुदूरपश्चिममा अहिले एक मन्त्रालय रिक्त अवस्थामा रहेको छ। नेकपा (एमाले) विभाजनपछि सरकारमा सहभागी एमालेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले मङ्गलबार राजीनामा दिएपछि मन्त्रालय रिक्त बनेको हो।

उनीहरूको राजीनामापछि आर्थिक मामिला तथा योजना मन्त्रालय अहिले मुख्यमन्त्री त्रिलोचन भट्टले आफूमातहत नै राखेका छन्। एमालेको तत्कालीन माधव नेपाल समूहको भागमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय अझै नवगठित एकीकृत समाजवादी पार्टीको भागमा पर्ने देखिएको छ।

तर, उक्त मन्त्रालयमा दुई मन्त्री बन्नका लागि समाजवादीका नौ जना सांसद आकांक्षी देखिएका छन्। नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्रीका लागि नौ जना सांसदले इच्छा व्यक्त गर्दै जिम्मेवारी हत्याउन दौडधुप बढाएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार रिक्त आर्थिक मामिला तथा योजना मन्त्रालयमा एकीकृत समाजवादीबाट नै केही दिन भित्रमा मन्त्री पदपूर्ति गर्ने तयारी भइरहेको छ।

खाली रहेको मन्त्रालय सम्हाल्न ९ जनाले दाबी गरेपछि पार्टीभित्र छलफल चलिरहेको बताइएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयलाई मालदार मन्त्रालयका रुपमा लिइन्छ। त्यसैले मन्त्रीमा बढ्दो आकांक्षा देखा परेको हो।

‘एक मन्त्री र एक राज्यमन्त्रीमा एकीकृत समाजवादीका ९ वटा सांसदले इच्छा जाहेर गरेका छन्’,एक प्रदेश सांसदले भने,‘कसलाई जिम्मेवारी दिने भन्नेबारे  हामी छलफलमा छौँ। छलफल जारी छ, चाँडै टुंगो लाग्छ।’

नेकपा एसका तारा लामा तामाङ, प्रकाश रावल, अमरबहादुर साउद, कुलवीर चौधरी, माया भट्ट, दुर्गा कामी, माया तामाङ बोहरा, बलबहादुर सोडारी र सुशीला बुढाथोकी मन्त्रीका आकांक्षी रहेको बताइएको छ।

‘सबैजना मन्त्रीका लागि दौडधुपमा छन्, तर तारा लामा तामाङ र प्रकाश रावलमध्ये एकजनाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनुहुन्छ’, एक नेताले भने, ‘राज्यमन्त्रीमा महिला सांसदले स्थान पाउँछन्, दुर्गा कामी, सुशीला बुढाथोकी, माया तामाङ बोहरामध्ये एकजनाले राज्यमन्त्रीको जिम्मेवारी पाउनुहुन्छ।’

‘तामाङले मन्त्री बन्ने सर्तमा मात्र नेकपा एसको पक्षमा सनाखत गर्नुभएको हो, उहाँले मन्त्री पाउने पक्कापक्की छ’, ती प्रदेशसभा सदस्यले भने, ‘पहिलोपटक सनाखत गर्न जाँदा उहाँहरू बाटो बाटै फर्किनुभएको थियो पछि मन्त्री दिने सहमति भएपछि उहाँले यो पार्टी रोज्नुभएको हो।’

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी तारालामा तामाङले तत्कालीन नेकपा एमालेमा सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। माधव नेपालनिकट उनी एमाले कञ्चनपुरको अध्यक्ष पनि थिए।

मन्त्रीका अर्का प्रमुख दाबेदार सुदूरपश्चिम प्रदेशका पूर्व–उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल पनि हुन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट विजयी रावल ठगी मुद्दामा मुछिएर विवादमा आएपछि दुई वर्ष अगाडि मन्त्री पदबाट राजीनामा दिएका थिए।

बैतडीकी सांसद माया भट्टले यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन्। गत जेठ १४ गते मुख्यमन्त्री भट्टले मन्त्रिमण्डल पुनर्गठन गर्दा उनलाई हटाइएको थियो।

विश्वासको मत दिएर सरकार जोगाइदिएको माधव समूहका ७ सांसदलाई मुख्यमन्त्री भट्टले मन्त्री बनाएका थिए। तीमध्ये अहिले एमाले विभाजनमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले नेपाललाई साथ दिएनन्।

प्रदेश सरकारको मन्त्रिमण्डललाई केही दिनमा पूर्णता दिइने भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले बताए। ‘प्रदेशसभा सदस्यको २० प्रतिशतभन्दा बढी सांसदलाई मन्त्री बनाउन नपाउने व्यवस्था छ, अब हामीले मन्त्रालय थप्न पाउँदैनौँ, मन्त्रिमण्डल मात्र पुनर्गठन हुन सक्छ,हामी छलफलमा छौँ, केही दिनमा निर्णय हुन्छ’,सोडारीले भने।

तत्काललाई कांग्रेसको च्याप्टर क्लोज

तत्काललाई नेपाली कांग्रेस भने सरकारमा सहभागी नहुने तथा नगराइने एकीकृत समाजवादीले जनाएको छ। समाजवादीकी केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले कांग्रेसको सुदूरपश्चिम सरकारमा आवश्यकता नै नभएको बताएकी छन्।

माओवादी र समाजवादीको गठबन्धनको सरकार स्पष्ट बहुमत रहेको भन्दै कांग्रेसलाई सरकारमा सहभागी नगराउने उनले बताइन्। केही समय अगाडि केन्द्रको गठबन्धनअनुसार कांग्रेसलाई सरकारमा सहभागी गराउने तयारी थालिएको थियो। तर, एमाले विभाजनपछि भने त्यो सम्भव भएन।

हाल ५२ प्रदेश सांसद रहेको सुदूरपश्चिममा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११ (सभामुखसहित), जनता समाजवादी पार्टी र लोकतान्त्रिक जनता पार्टीका १-१ सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.