|

काठमाडौं : बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले भैरहवा ग्लाडियटर्सबाट बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्। भैरहवा ग्लाडियटर्सले शनिबार विज्ञप्ति जारी गर्दै तेस्रो विदेशी खेलाडीको रुपमा बंगलादेशका ब्याट्सम्यान इकबाललाई टीममा भित्र्याएको जनाएको छ।

यसअघि भैरहवाले विदेशी खेलाडीको रुपमा श्रीलंकका पूर्व कप्तान तथा ओपनर उपुल थरंगा र तीब्र गतिका बलर धाम्मिका प्रसादलाई अनुबन्ध गरिसकेको छ। ३२ वर्षीय बायाँ हाते ब्याट्सम्यान इकबाल बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान हुन्। उनले बंगलादेशबाट ६४ टेस्ट, २१९ ओडीआई, ७८ टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । उनीसँग २२९ टी–२० खेलेको अनुभव छ।

चौंथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) आगामी असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ। भैरहवा पछिल्लो दुई संस्करणको उपविजेता टोली हो। पछिल्लो संस्करणको फाइनलमा भैरहवा ललितपुर प्याट्रियटससँग १४ रनले पराजित भएको थियो। 

भैरहवाको प्रशिक्षकमा श्रीलंकाकै पूर्वक्रिकेटर पुबुदु दासानायके छन्। शरद भेषावकरको कप्तानीमा रहने भैरहवामा आरिफ शेख, रोहितकुमार पौडेल, अविनाश बोहरा, कुशल मल्ल, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, अनिल खरेल, हरिशंकर शाह, दिपेश श्रेष्ठ, विकाश आग्री, दुर्गेश थापा, हिमांशु दत्त लगायत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.