दसैंपछि खोल्दा राम्रो : सिसिएमसी

|
फाइल तस्बिर

काठमाडौं : नेपालमा पुन: कोभिड-१९ को दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भयो। निषेधाज्ञा जारी भएपछि सबै शैक्षिक संघसंस्था बन्द भए।

विद्यालय बन्द भएको करिब पाँच महिनापछि आंशिक रुपमा विस्तारै विद्यालय सञ्चालनमा आउन थालेका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भदौ १५ गतेबाट नै सबै नीजि तथा सामुदायिक विद्यालय सञ्चालन गरी भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न दिएको छ।

त्यसैले अहिले पनि नगरपालिका भित्रका विद्यालय सञ्चालनमा छन्।  बाहिरी जिल्लाहरुमा पनि विद्यालय सञ्चालनमा आउन थालेका छन्। तर काठमाडौं,भक्तपुर र ललितपुर जिल्लामा भने अझै विद्यालय सञ्चालनमा आएका छैनन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने असोज १ गतेबाट विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ। यसका लागि स्थानीय तहले थप निर्णय गरेर विद्यालय खोल्नुपर्ने छ। 

त्यसो त काठमाडौं महानगरपालिकाले विद्यालय सञ्चालनका लागि छलफल गरिरहेको छ। महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले यस विषयको ठोस निर्णय आगामी बुधबार बैठक बसेर गरिने बताए। 

उनले भने,‘महानगरको शिक्षा समितिको बैठक पर्सि बस्दै छौँ,त्यसमा सबै सञ्चालनको मोडलबारे पनि छलफल गरेर निर्णय लिन्छौँ।’ सम्भवत: असोजबाट नै विद्यालय सञ्चालन गर्न दिने तयारी रहेको उनको भनाई छ।

ललितपुरमा समिति गठन

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आइतबार विद्यालय सञ्चालनका लागि नगरपालिका पदाधिकारीसहितको समिति गठन गरेको जानकारी दिए।

उनका अनुसार ती समितिले तीन दिनभित्रमा विद्यालय सञ्चालन लागि कोभिड संक्रमणको अवस्थाको जानकारी,कसरी सञ्चालन गर्ने भन्ने मोडल तयार पारेर प्रतिवेदन प्रशासन कार्यालयमा बुझाउनुपर्ने छ।

‘प्रतिवेदन आएपछि पुन: छलफल गरी राम्रो नीतिगत तयारी भएमा सम्भवत: दसैंअगाडिबाट विद्यालय सञ्चालन गर्न अनुमति दिन्छौँ,’उनले भने,‘जथाभावी चाहिँ सञ्चालन गर्न दिइँदैन।’ 

अब विद्यालय खोल्न पाउनुपर्छ : संचालक

पछिल्लो समय कोरोना संक्रमणको अवस्था कम भएको भन्दै अबदेखि सरकारले विद्यालय सञ्चालन गर्न दिनुपर्ने माग निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले गरे।

‘लामो समयदेखि विद्यालय बन्द हुँदा धेरै विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिएको छ,’उनले भने,‘सरकारले सञ्चालन गर्न अनुमति दिए पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सञ्चालन गर्छौ,तयारी अवस्थामै छौँ।’

सरकारले वैकल्पिक विधिबाट पठनपाठन सहजीकरण गर्ने भनिए पनि ग्रामीण भेगका विद्यार्थीमा प्रविधि नभएकाले पढ्नबाट बञ्चित रहेको उनले बताए। पुरीले भने,‘अनलाइन भनेको मात्रै हो,उपत्यकाभित्र नै सञ्चालन हुन सकेको छैन,बाहिर झन् कुरै नगर्दा हुन्छ।’

भक्तपुर र ललितपुर जिल्लाले  सञ्चालन गर्ने अनुमति दिए आलोपालो सिफ्ट प्रणालीबाट पठनपाठन सञ्चालन गरिने उनकाे भनाइ छ।  

अभिभावक भन्छन् : दसैंपछि मात्रै विद्यालय खोलौँ

अभिभावक भने तत्काल शहरी क्षेत्रमा विद्यालय सञ्चालन गर्न नहुने बताउँछन्। नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्,‘जोखिम कम भएको गाउँ ठाउँमा विद्यालय सञ्चालन गर्न सकिएला,तर शहरी क्षेत्रमा अझै कोरोनाको जोखिम कायमै छ,त्यसैले तुरुन्त त्यस्ता ठाउँमा खोल्नु हुँदैन।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि शहरी क्षेत्रमा तत्काल विद्यालय सञ्चालन नगर्न सुझाएको भन्दै उनले दसैंपछि मात्रै सञ्चालन गर्दा उपयुक्त हुने बताए। 

दशैंमा मानिसहरुको भीडभाड र आवतजावत बढी हुने भएकाले संक्रमण भयावह हुनसक्ने जोखिम छ। त्यसपछिको अवस्था पनि अहिलेको जस्तै भए विद्यालय खोल्न सकिने अभिभावकहरुको भनाई छ। 

बालबालिका जोखिम वर्गमा रहेको र उनीहरूलाई स्वास्थ्य मापदण्ड पालना गराउन पनि कठिन हुने भएकाले अहिले नै विद्यालय खोल्न हतार गर्न नहुने कतिपय अभिभावकको बुझाई छ। 

शुल्क असुल्ने वहाना भएको आशंका !

दसैंअघि नै विद्यालय खोल्ने निर्णयमा स्वार्थ मिसिएको आशंका अभिभावक महासंघका अध्यक्ष भण्डारीको छ। उनले भने,‘दसैंको मुखमा विद्यालय खोल्ने निर्णय भइरहेको छ,दसैं नजिकिदै छ, असोज १ मा विद्यालय खोलेर दसैंका लागि २० गतेबाट बन्द गर्नुपर्छ,यति छोटो अवधिका लागि किन खोल्नु?।’

निजी विद्यालयहरूका लागि दसैंमा शुल्क उठाउन यस्तो निर्णय गर्नेमा जिल्ला प्रशासन पुगेको अभिभावकहरुको आरोप छ। तर प्याब्सनका अध्यक्ष पुरी भने शुल्क भन्दा पनि पढाइलाई महत्व दिएको दाबी गर्छन्।

‘दसैं खर्चको लागि विद्यालय सञ्चालन गर्न लागिएको भन्ने सोच नै गलत हो,शुल्क को कुरा नै होइन,दुई तीन साता भएपनि पढ्न पाउँछन विद्यार्थी,उनीहरुकै भलाइका लागि हो,’पुरीले भने।

यसो भन्छन् विज्ञ

विज्ञहरु विद्यार्थीहरुको मानसिकता खल्बलिएको भन्दै अब विस्तारै विद्यालय सञ्चालन गर्नुपर्ने धारणा राख्छन्। जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनी भन्छन्,‘कोभिड संक्रमण दर घटेर ११ प्रतिशतमा झरेको छ,लामो समयदेखि विद्यालय बन्द हुँदा पढाई बिग्रिएको छ,धेरै बालबालिका मोटाउन थालेका छन्,कोही मोबाइलको लतमा फसेका छन,विद्यार्थीको मानसिकता खल्बलिएको लक्षण देखिन थालेको छ,त्यसैले सञ्चालन गर्दै जानुपर्छ।’

उनका अनुसार असाेजबाट पनि विद्यालय सञ्चालन गर्न सकिन्छ। तर पुरानो स्वरुपमा विद्यालय सञ्चालन गर्न भने हुँदैन। ‘विद्यालय एक दिन बिराएर सञ्चालन गर्नुपर्छ,शौचालयदेखि कक्षा कोठासम्म सेनिटाइज गर्नुपर्छ,भौतिक दुरी कायम गराउनुपर्छ,हात धुने व्यवस्था,मास्क अनिवार्य गरेमा जोखिम हुँदैन,’उनले थपे।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल रिसर्च युनिटका प्रमुख तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी जोखिम नहुने ठाउँमा विस्तारै विद्यालय सञ्चालन गर्दै जान सकिने बताउँछन्।

उनका अनुसार दैनिक संक्रमित हुने संख्या कम भए पनि जोखिम भने कायमै छ। त्यसैले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने हुन्छ।

दसैंपछि मात्रै विद्यालय सञ्चालन गर्न सिसिएमसीको सुझाव

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को भने दसैं अघि नभई दसैंपछि विद्यालय सञ्चालन गर्नुपर्ने सुझाव छ।

सिसिएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने,‘सबै विद्यालय असार १ बाट खाेल्न दिने भनेका छैनौँ, हामीले स्मार्ट लकडाउनको अवधारणा ल्याएका छौँ,त्यही आधारमा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले विद्यालय खोल्ने वा बन्द गर्ने निर्णय लिनुपर्छ,विद्यालय सञ्चालनको विषयमा हाम्रो भूमिका छैन।’

उनले दसैंपछि विद्यालय सञ्चालन गर्दा उपयुक्त हुने बताए। ‘निर्णय त जिल्ला प्रशासनको अनुमतिमा स्थानीय तहले गर्ने हो,तै पनि दसैंपछि विद्यालय खोल्दा राम्रो हाे,’उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.