|

काठमाडौं : सामाजिक, राजनीतिक र सांस्कृतिक महत्त्व बोकेको थलो हो काठमाडौंको खुलामञ्च। त्यही खुलामञ्च बेला बेला अतिक्रमणमा परिरहन्छ। कहिले बसपार्क त कहिले पार्किङस्थल कहिले व्यापारिक संरचना त कहिले निर्माण सामग्री राख्ने ठाउँ बनाइन्छ।

निर्दलीय व्यवस्थामा खुला रहेको खुलामञ्च लोकतन्त्रमा बन्द भएको टिप्पणी हुँदै आएको थियो। अतिक्रमण भएको लामो समयपछि अन्ततः खुलामञ्च पुरानै अवस्थामा फर्किन थालेको छ। अतिक्रमण गरी संरचना काठमाडौं महानगरपालिकाले हटाएपछि ६ वर्षपछि त्यस क्षेत्रमा राजनीतिक कार्याक्रम हुन थालेको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध सोमबार खुलामञ्चमा आमसभा गरेको छ। स्थानीय एवं संघीय सांसद भीमसेनदास प्रधानका अनुसार २०७२ यता कार्यक्रम गर्ने थलो नै अतिक्रमण भएकाले यस्ता ठूलो राजनीतिक भाषण भएको थिएन। 

‘२०७२ पश्चात विभिन्न संरचना बनाउने नाममा टहरा बन्यो, त्यसपछि खुला नै नभएकाले कार्यक्रम हुन सकेको थिएन,’ उनले भने, ‘बल्ल हिजो कार्यक्रम भयो, खुसी लाग्यो। अब ती ठाउँ संरक्षण गर्दै जानुपर्छ।’ 

खुलामञ्चको इतिहास

सांसद प्रधानका अनुसार राजा महेन्द्रले खुलामञ्च बनाएपछि त्यहाँ बेलाबेला पञ्चायतको कार्यक्रम हुन्थे। त्यही ठाउँमा २०३७ जनमत संग्रहको कार्यक्रम, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को संयुक्त जनआन्दोलनका आमसभा भएका थिए। त्यसैले खुलामञ्चलाई जनआन्दोलनको उद्गम थलो मानिन्छ। स्वर्गीय मदन भण्डारी त्यहीं ठाउँबाट भाषण गरेपछि राजनीति चर्चा कमाएका थिए।

‘२०३६ सालमा विश्वेश्वरप्रसाद कोइराला (वीपी)ले सानो माइक राखेर पहिलोपटक खुलामञ्चबाट भाषण गरेका थिए,’ प्रधान सम्झिन्छन्, ‘पछि सबै नेताहरुले त्यहाँ भाषण गर्न थाले। त्यसैले खुलामञ्चको सांस्कृतिकसँगै राजनैतिक महत्व छ।’ 

उनले पहिला राजधानीमा पानीको संकट पर्दा टुँडिखेलबाट पानी निकालेर सहरबासीले उपयोग गर्ने गरेको सुनाए। उनका अनुसार टुँडिखेलमा पश्चिमबाट बगेको रामकोट भीमढुंगाडाँडाबाट आएको स्वच्छ र चिसो हावा आउँथ्यो। स्वच्छ वातावरणमा बृद्धबृद्धा बसेर आराम गर्थे। तर, पछिल्लो समय ठूलठूला संरचना बने। संरचनाले छेकेपछि अहिले प्रदूषित धुवाँ र धुलो मात्र आउने गरेको छ।

टुँडिखेलको विखण्डन

प्रधानका अनुसार लिच्छविकालीन समयमा टुँडिखेल खाली थियो। हरियाली देखिन्थे। हरियाली भएकै कारण बाहिरका मान्छेहरु आकर्षित भएर सहर छिर्थे। ​

पहिले बूढानीलकण्ठको गंगालाल अस्पतालबाट सुरु भएर सबै समतल हरियाली मैदान थियो, रानी पोखरी बीच भागमा थियो,’ उनले भने, ‘पूर्वपट्टि बागमती नदी, पश्चिमपट्टी विष्णुमति र बीचमा टुकुचा थियो। टुकुचा र विष्णुमतिको वरिपरि ठूलो ग्रासलाइन चौर थियो। त्यो नै टुँडिखेलको पुरानो वास्तविक एरिया हो।’

प्रधानले शाह र राणा शासन सुरु भएपछि ती समतल मैदानमा शीतल निवास, नारायणहिटी दरबार, कृष्ण शमसेरको दरबार, बाग दरबार, सिंहदरबारलगायत संरचना बनेको बताए। 

 उनी भन्छन्, ‘ती संरचना बनिसकेपछि बचेको भाग रानीपोखरी हो, त्यहाँ खेलकुद मैदान र पोखरी थियो, २०१३ सालतिर टुँडिखेल व्यवस्थापन गर्नका लागि राजा महेन्द्रले हाकु बाजे भनिने व्यक्तिलाई जिम्मेवारी दिएपछि टुँडिखेलको विखण्डनको काम सुरु भयो।’

प्रधानका अनुसार टुँडिखेलको बीच भागमा गुरुमार्पा वृक्षको ठुलो रुख थियो। ‘रुख भएको ठाउँमा प्रत्येक फागु पूर्णिमामा जात्रा हुन्थ्यो, घोडेजात्रामा काठमाडौंमा भएको सबै देवी देवताको मन्दिरको रथ साटेर ठूलो जात्रा हुन्थ्यो,पछि राजाहरूले ती रुख काटेर सैनिकमञ्च बनाइयो, त्यसपछि टुँडिखेलमा जात्रा हुनै छाड्यो,’उनले भने।

२०१८ सालतिर राजा महेन्द्रले बचेको टुँडिखेल भागलाई सिमेन्टको पोल लगाई संरक्षण गर्न बार लगाएको प्रधानले सुनाए। तर,बिस्तारै शहीद गेट खोलियो। 

‘सुन्धारा पछाडि भएको सेनाको सचिवालय भवन टुँडिखेलमा बनाउन दिइयो,’उनले भने,‘महानगरपालिकाले भ्युटावर निर्माण व्यवसायी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्ससगँ सम्झौता गरेसँगै त्यहाँ निर्माण सामग्री राखेपछि झनै टुँडिखेल अस्तव्यस्त बन्दै गएको थियो।’ 

यसरी खुलामञ्चलाई हेर्छन् सांसद राई

नेकपा एमालेका काठमाडौं ३ का सांसद कृष्णबहादुर राई पञ्चायत कालदेखि नै विभिन्न सन्देश प्रवाह गर्नका लागि खुलामञ्च छुट्याइएको बताउँछन्।

भन्छन,‘पञ्चायत कालबाट नै खुलामञ्चमा राजनीतिक भाषण लगायत विभिन्न सन्देश सम्प्रेषण गर्ने ठाउँ थियो,जनताको लागि आमसभा गर्नलाई छुट्याइएको ठाउँ हो,त्यहाँ ठाउँबाट जनआन्दोलन पनि भएको हो।’

राजनीतिक,सास्कृतिक एवं धार्मिक रुपमा यसको महत्व रहेकाले यसलाई खुलै राख्नुपर्ने उनले बताए। ‘यो ठाउँलाई संरक्षित गरी जनताका लागि खुलै राख्नुपर्छ,’सांसद राईले भने। 

                                                                              पहिला बनेको पार्किङ स्थल

अतिक्रमणले जन्माएको अकुपाई टुँडिखेल अभियान 

खुलामञ्च र टुँडिखेलको अतिक्रम रोक्न र पहिलेकै अवस्थामा फर्काउन लागि अकुपाइ टुँडिखेल अभियान जन्मियो। २०७६ साल २३ असोजबाट सर्वसाधारणहरुलाई विशाल मानव साङ्लो निर्माण गरी तीन महिने ‘अकुपाइ टुँडिखेल अभियान’ सुरु गरेका थिए। 

सम्पदा अभियन्ताले प्रत्येक शनिबार विभिन्न चेतनामूलक कार्यक्रम गर्ने योजना बनाए। जसअनुसार पहिलो चरणमा ०७६ असोज २३ गतेको विश्व स्वतन्त्रता दिवसका दिन मानव साङ्लो बनाइयो।

दोस्रो साता खरीको बोट पुनर्स्थापना, तेस्रो साता साहित्यिक सम्मेलन, चौथो साता सम्पदाका महत्त्व र त्यसमा देखिएका विकृति प्रतिबिम्बित गर्ने सम्पदा लडाई नामक पुस्तकबारे छलफल गरिएको थियो। 

त्यस्तैगरी पाँचौं साता खेलकुदको दृष्टिकोणले टुँडिखेलको महत्त्व प्रतिबिम्बित गर्न तेक्वान्दो प्रदर्शनी, छैटौं साता खुलामञ्चमा जनताको डोजर लगेर सरसफाइको थालनी, सातौं साता स्थानीयको खुलामञ्चसँगको कथा र स्मृति वाचन कार्यक्रम भयो। 

त्यस्तै,आठौं र नवौं साता खुलामञ्चमा चित्र निर्माण तथा सरसफाई, दशौं साता सवारीसाधन मुक्त खुलामञ्च बनाउने सुरुवात स्वरूप काठमाडौं महानगरपालिकाका वडा २८ को सहकार्यमा सूचनाहरू टाँसियो।

एघारौं साता ‘हामी नबिर्सौं’ शीर्षकसहित खुला ठाउँ, काठमाडौं, टुँडिखेल, खुलामञ्च लगायतका विषयवस्तु समेटेर फोटो प्रदर्शनी भयो। त्यस्तैगरी बाह्रौं साता वीर अस्पताल र दरबार हाइस्कुलका अधिकारीहरूसँग छलफल र  तेह्रौं साता पत्रकार सम्मेलन गरिएको थियो।

खुलामञ्चप्रति महानगरपालिका चासो

सम्पदा अभियन्ताहरुले निरन्तर दबाबमूलक कार्यक्रम गरे। त्यसाे त विस्तारै वीर अस्पतालले संरचनाका लागि सामान राख्न बनाएका कन्टेनरहरु हट्यो। महानगरपालिकाले पहिलो पटक २०७७ फागुन ५ गते खुलामञ्च तर्फका टहराहरू भत्काएको थियो। 

दोस्रो पटक डोजर चलाएर  निर्माण सामग्री राख्न निर्माण गरिएका संरचनाको वरिपरिको बार भत्कायो। अहिले भने बसपार्क पनि सारिएको छ। खुलामञ्च खुला हुँदै गएको छ। 

महानगरपालिकाका नगरप्रहरी प्रमुख धनपति सापकोटाले खुलामञ्चलाई अब व्यवस्थित ढंगले संरक्षण गर्ने बताए। ‘खुलामञ्चको सबै टहरा भत्काएका छौँ,’उनले भने,‘बसपार्क पनि सारिसक्यो,अब त्यहाँ कसैले अतिक्रमण गर्दैनन्।’ 

उनले विस्तारै रत्नपार्क,सुन्धारा आसपासमा भएको सार्वजनिक शौचालयका राखिएको अनाधिकृत व्यपारिक पसल पनि हटाउँदै जाने बताए। 

‘पुरानै अवस्थामा खुलामञ्च फर्किदा खुसी लागेको छ’ 

अकुपाइ टुँडिखेलका अभियन्ता गणपतिलाल श्रेष्ठ जनताको दबाबका कारण खुलामञ्चमा त्यसरी राजनीतिक कार्यक्रम भएको देख्दा खुशी ब्यक्त गर्छन। 

‘खुलामञ्च राजनीतिक परिर्वतनको थलो हो,यसको राजनीतिक,सांस्कृतिक पक्षले यसको महत्व छ,जनताको दबावले अहिले खुला हुँदै छ,यसले सबै जनतामा खुशी छाएको छ,यो ठाउँ जनताका लागि सधै खुला राख्नुपर्छ,’उनले भने।

खुलामञ्चको बसपार्क र टहरा हटाए पनि त्यहाँ हिलाम्मे हुने गरेको छ। यसलाई सम्बन्धित निकायले व्यवस्थित गरी संरक्षण गर्दै जानुपर्ने उनको सुझाव छ। खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुल्लै राख्नुपर्ने बताए।

भने,‘टुँडिखेलको जग्गा नै सेना तारबार लगाएर कब्जा गरेको छ,कार्यक्रम भएको बेला मात्रै तारबार लगाइयोस्,अरु बेला ती तारबार हटाएर जनताको लागि खाली नै राख्नुपर्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.