|

धनगढी : सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङले शपथ लिएका छन्। नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उनी मन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री त्रिलोचन भट्टले अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरालाई नियुक्त गरेका छन्। 

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार साँझ शपथ लिएका छन्। भदौ २२ गते अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि दुवै पद रिक्त थिए। 

तामाङ एमालेका पूर्व प्रमुख सचेतक हुन् भने माया यसअघि नेकपा एमालेमा विवाद हुँदा अध्यक्ष केपी शर्मा ओली पक्षमा थिइन्। तर, मायाले २१ भदौमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि उनलाई राज्यमन्त्री नियुक्त गरिएको हो।

मन्त्री तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादव र राज्यमन्त्री मायालाई मुख्यमन्त्री भट्टले शपथ गराएका छन्।

माओवादी केन्द्र नेतृत्वको सरकारमा एकीकृत समाजवादी पनि सहभागी छ। एकीकृत समाजवादी प्रदेशसभामा ठूलो दल हो। प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, सभामुखसहित एमालेका ११ तथा जसपा र लोसपाका १/१ सांसद छन्।

तारा लामा तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने माया बझाङबाट समानुपातिक सांसद हुन्। तारा लामालाई एमालेको अनौपचारिक विभाजनका बेला गत जेठमा मन्त्रिपरिषद विस्तार हुँदा पदबाट हटाइएको थियो। 

एकीकृत समाजवादीका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र २ राज्यमन्त्री यसअघि नै प्रदेश सरकारमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.