|

जनकपुरधाम : क्रियाशील सदस्यता विवाद समाधान नभएपछि प्रदेश २ मा आज हुने भनिएको नेपाली कांग्रेसको आज हुने भनिएको अधिवेशन रोकिएको छ।

१४औं महाधिवेशनका लागि वडादेखि नै अधिवेशन हुँदै आएको छ। वडा अधिवेशन असोज ५ सम्म सक्ने कार्यतालिका थियो। क्रियाशील सदस्यता विवाद नसुल्झिएपछि प्रदेश २ का जिल्लाहरुमा हुन नसक्ने भएको हो।

कांग्रेसका धनुषाका सभापति महेश शंकर गिरीले अधिवेशनका लागि सोमबारसम्म क्रियाशील सदस्यको अन्तिम नामावली आउनुपर्ने भए पनि नआएपछि मंगलबार तोकिएको अधिवेशन नहुने बताए।

‘केन्द्रबाट जानकारी पाए अनुसार नामावली कम्प्युटर इन्ट्री गर्न नभ्याएको हुँदा जिल्लाहरुमा नपठाइएको हो,’ उनले भने‚ ‘आज साँझसम्म इन्ट्री भइसक्ने र आज रातिसम्म हामीले नामावली प्राप्त गर्ने छौं।’ यद्यपि‚ अधिवेशनको तालिकाबारे निर्वाचन समितिले तय गरेर केन्द्रले नै पठाउने भएकाले अधिवेशन कहिले हुन्छ भन्ने जानकारी नभएको उनले बताए।

कांग्रेस धनुषाका उपसभापति सन्तोष यादवले प्रदेश २ को बारा जिल्लाको दुईवटा क्षेत्रमा क्रियाशीलको विवाद रहेकाले नामावली फाइनल हुन नसकेको बताए। उनले बाँकी जिल्लाको क्रियाशील विवाद टुंगिसकेको र बाराको पनि आज साँझसम्म टुंगिने जानकारी दिए। आज रातससम्म नामावली फाइनल भएर आए असोज १० गतेभित्र अधिवेशन हुन सक्ने उनको भनाइ छ।

पहिलो पटक प्रकाशित गरिएको क्रियाशील सदस्यको नामावलीमा विवाद चर्केपछि प्रदेश २ मा यसअघि तोकिएको वडा अधिवेशन पनि हुन नसकेको हो। नेता डा. चन्द्र मोहन यादवले आमरण अनसनमा बसेपछि धनुषा जिल्लाबाट नै क्रियाशील सदस्यता विवाद चुलिएको थियो।

अगामी महाधिवेशनका लागि उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेपछि प्रदेश २ मा अन्तिम चरणमा अधिवेशन गराउने योजना शीर्ष नेताहरुले बनाएको निधिनिकट नेताहरुको आरोप छ। निधिलाई चेपुवामा पार्न नै प्रदेश २ को विवाद समाधानतिर ध्यान नदिएको उनीहरुको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.