|

विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम बहस आज सुरु हुँदैछ। 

असोज ७ गतेदेखि सुनुवाइका क्रममा रहेर हेर्दाहेर्दैमा राखिएको मुद्दामा आजबाट कानुन व्यवसायीका तर्फबाट बहस हुने विराटनगर उच्च अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालाले बताए। मुद्दाको किनारा दसैंअगाडि नै लगाउने तयारी रहेको उनको भनाइ छ। उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दामा कानुन व्यवसायीबीचको बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको हो। 

मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चुडामणि उप्रेतीको समूहले दुबईबाट २०७४ साल माघ ९ गते तस्करी गरेर साढे ३३ किलो सुन काठमाडौं ल्याइपुर्‍याएपछि गायब बनाइएको थियो। अहिलेसम्म फेला नपरेको सुन गायब बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा सनम शाक्यको मृत्यु भएको थियो। उक्त प्रकरणमा ७७ जना अभियुक्तमध्ये अहिलेसम्म मुख्य अभियुक्त गोरेसहित ५५ जना मात्रै पक्राउ परेका छन्।

सुन तस्करीमा प्रहरीका उच्च अधिकारी नै प्रतिवादी

प्रहरीको ‘मोस्ट वान्टेड’ सूचिमा रहेका गोरेलाई भने कठमाडौंबाट पक्राउ गरेर २०७५ साल जेठ ९ गते उपस्थित गराइएपछि मोरङ अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीहरु सञ्जयबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल लगायतलाई पनि प्रतिवादी बनाइएको थियो। खत्री र राउत अहिलेसम्म थुनामै छन्। अरु भने उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन्।

शाक्यको हत्या भएपछि गोरेको समूहलाई पक्राउ गर्न लोहनीले काठमाडौंबाट डिएसपी केसी र सइ सञ्जेललाई पूर्व पठाएका थिए। गोरेको समूहलाई पक्राउ गर्न टोली खटाएकै कारण उनले सुन तस्करीको मुद्दा झेल्नु पर्यो।

आफ्नै प्रतिस्पर्धीको स्वार्थको कोपभाजनमा परेका लोहनीसहितका प्रहरी अधिकारीविरुद्ध अन्नतः मुद्दा दर्ता भयो। तर यो घटनामा गलत मनसाय राखेर लोहनीलाई फसाउने प्रहरी अधिकारीविरुद्ध भने कुनै कारबाही एवम् छानबिन हुन सकेन। त्यसतर्फ सरकारले पनि चासो दिएन।

गोरेको समूह पक्राउ गर्न टोली खटाउँदा लोहनीले विभिन्न प्रहरी अधिकारीसँग गरेको सम्वादको अडियो रेकर्ड पनि सार्वजनिक भएको थियो। नामुद सुन तस्कर गोरेले व्यक्तिको हत्या पनि गरेकाले उनको समूहलाई जुनसुकै उपाय लगाएर भए पनि नियन्त्रणमा लिन प्रहरी अधिकारीलाई लोहनीले बारम्बार आग्रह गरिरहेको रेकर्डमा सुन्न सकिन्छ। तर गोरे पक्राउ परेनन्। सही नियत राखेर सुन तस्करी एवम् हत्यामा जोडिएको गिरोह पक्राउ गर्न ठुलो भूमिका खेलेका लोहनीविरुद्ध नै अन्ततः मुद्दा चलाइयो।

पछि उनी उच्च अदालत विराटनगरको आदेशबाट छुटे। बढुवा भएर डिआइजी बनिसकेका लोहनी अहिले गण्डकी प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छन्। प्रहरीका एक अनुसन्धान अधिकृतले सुन तस्करी र शाक्य हत्यामा लोहनीको संलग्नता पुष्टि गर्ने केही आधार नभेटिएको बताए।

सुन तस्कार प्रहरी कै सेटिङमा

शाक्य हत्या र सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति नै गठन गरेको थियो। गोरेको योजना र अरु व्यापारीको लगानीमा दुवईबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करीको सुन नेपाल भित्रदा विमानस्थलको सुरक्षार्थ खटिने प्रहरी अधिकारीले सहजीकरण गरिदिएको अनुसन्धानबाट खुलेको हो। प्रहरीसँगको ‘सेटिङ’ गोरेले नै मिलाएको अनुसन्धानबाट खुलेको छ।

गोरेसहित ५५ पक्राउ , २२ फरार

मोरङ प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पारेर पहिलो पटक मोरङ अदालतमा दायर गरेको मुद्दामा उच्च प्रहरी अधिकारीसहित ६३ जनालाई प्रतिवादी बनाइएको थियो। यो मुद्दामा पछि तीन पटकसम्म पूरक अभियोग दर्ता भयो। अनुसन्धानका क्रममा तथ्य खुल्दै गएअनुसार पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका हुन्।

तर प्रतिवादीमध्ये अहिलेसम्म मुख्य अभियुक्त गोरेसहित ५५ जना मात्रै पक्राउ परेका छन्। २२ जना फरार सूचिमा छन्। अदालती कारबाहीको प्रक्रियामा नआएका फरारको हकमा मुद्दा मुल्तवीमा रहने बताइएको छ। जिल्ला अदालतको आदेशबाट पूर्पक्षका लागि थुनामा पुगेकामध्ये प्रहरी अधिकारीसहित अधिकांश उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन्।

सरकारी वकिल कार्यालय मोरङले ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ। सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा उक्त परिणामको सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेपछि त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा दर्ता गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.