देउवाविरुद्ध मल्ल पक्षको शक्ति प्रदर्शन!
देउवाविरुद्ध मल्ल पक्षको शक्ति प्रदर्शन!
डडेल्धुरा : नेपाली कांग्रेसका केन्द्रीय शीर्ष नेताहरू पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा आउने भएका छन्।
केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा.शेखर कोइराला, गगन थापा र गुरुराज घिमिरे भोलि डडेल्धुरा आउन लागेका हुन्। नेता कार्यकर्ताको अनशनमा एक्यवद्धता जनाउन र कार्यकर्ता भेलालाई सम्बोधन गर्न शीर्ष नेताहरू डडेल्धुरा आउने कार्यवाहक सभापति करुणाकर भट्टले जानकारी दिए।
जिल्ला सभापति एवं प्रदेशसभा सदस्य कर्ण मल्ल पक्षले आइतबार दिउँसो १ बजे जिल्ला सदरमुकाम बसपार्कमा ‘बृहत् कार्यकर्ता भेला’ आयोजना गरेको छ। यसलाई देउवाविरुद्ध मल्ल पक्षको शक्ति प्रदर्शनका रूपमा पनि लिइएको छ।
जिल्लाको पार्टी कार्यालय किशुनजी भवनमा १० दिनदेखि कार्यकर्ताहरू अनशनमा बसिरहेका छन्। क्रियाशील सदस्यता विवाद कायमै रहेको अवस्थामा गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन खारेजको माग गर्दै उनीहरूले रिले अनशन सुरु गरेका हुन्।
हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, कथित अवैधानिक वडा अधिवेशन बदर गर्नुपर्ने र वैधानिक रूपमा वडा अधिवेशनको मिति तय गर्नुपर्नेलगायतका मागहरू अनशनरत कार्यकर्ताका छन्।
क्रियाशील सदस्यता विवाद कायमै रहेको र गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन अवैधानिक भएको ठहर गर्दै जिल्ला सभापति मल्ल पक्षले विरोध गर्दै आइरहेको छ। निर्वाचन अधिकृत तोकिएका लोकेन्द्रबहादुर बमले केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार भदौ २५ गते वडा अधिवेशन गराएका थिए।
डडेल्धुरा कांग्रेसमा जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवाको गुट छ। सभापति देउवाको गुटमा पूर्व जिल्ला सभापति रघुवर भट्ट, गोविन्द बोहरा, र भीमबहादुर साउदलगायतका नेताहरू छन्।
जिल्ला कार्यसमितिले क्रियाशील सदस्यका लागि पाँच हजार आठ सय चार जनाको नामावली पठाएकोमा छानबिन समितिले चार सय ४४ जनाको नाम हटाइदिएको मल्ल पक्षको भनाइ छ। देउवाले आफू अनुकूलका तीन सय १२ जना थपेको पनि उनीहरूको आरोप छ।
देउवा निकट पक्षले भने पार्टी सभापति मल्लले केन्द्रमा नाम पठाउँदा नै अन्याय गरेको आरोप लगाउँदै आएको छ। उनीहरूले निर्वाचन समितिका प्रतिनिधिले सम्पन्न गरेको वडा तथा पालिका अधिवेशन नै वैधानिक भएको बताइरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।