|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्। सत्ता गठबन्धनका नेताहरुसँग दुई दिनयता भएका लगातार छलफलपछि देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन्। 

सत्तागठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति भइसकेको छ। सहमतिअनुसार नेपाली कांग्रेसले ७, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ५–५ र जसपाले ४ मन्त्रालय पाउने छन्। गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी हुने छैन्। 

नेकपा माओवादी केन्द्रले मन्त्री हुनेहरुको नाम पनि टुंगो लगाइसकेको छ भने नेकपा एकीकृत समाजवादी पार्टीले आज थप छलफल गरेर नाम पठाउँदैछ। जनता समाजवादी पार्टीले मन्त्रीका नाम  टुंगो लगाउन बिहानैदेखि छलफलमा छ। जसपाले मन्त्रीकाे नाम टुंगो लगाउन शीर्ष नेतालाई जिम्मा दिएको छ। सोही अनुरुप अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र वरिष्ठ नेता अशाेक राई आज विहानैदेखि छलफलमा जुटेकाे नेता माेहम्मद ईस्तियाक राईले जानकारी दिए।  

एकीकृत समाजवादीमा पनि मन्त्री बन्नेहरुको यसअघि नै लगभग टुंगो लागिसकेको छ। नाम सिफारिसका लागि एकीकृत समाजवादी पार्टीले आज बिहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएको छ।

प्रधानमन्त्री देउवाले आफ्नै पार्टीभित्र आज थप छलफल गरी साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका उनको सचिवालयले जनाएको छ।  कांग्रेसमा हिजो भएको छलफलमा इतरपक्षसँग मन्त्री भागवण्डामा सहमति हुन नसकेपछि देउवा आज पार्टीभित्र छलफल गर्ने र साँझसम्ममा मन्त्री परिषद् विस्तारको तयारीमा रहेको जनाइएको छ। सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई दुई जना मन्त्री दिने भनेपछि कुरा नमिलेको हो। 

२०७८ साल असार २७ गते सर्वोच्च अदालतको परमादेशबाट २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन चार मन्त्री नियुक्त गरेका थिए। त्यसपछि साउन १० मा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मन्त्री बनाएका देउवाले असोज ६ गते परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई नियुक्त गरेका छन्। अन्य मन्त्रालय देउवाले सम्हाल्दै आएका छन्। देउवा नेतृत्वको सरकार बनेको आज ८७ दिन पुगेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.