|

धनकुटा : कोशी करिडोर अन्तर्गतको पहिलो प्याकेजमा पर्ने सुनसरी जिल्लाको इनरुवा देखि संखुवासभा जिल्लाको तुम्लिङटार सम्मको २२० के भी प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ।

इनरुवाबाट तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। प्रसारण लाइनका लागि ३ सय २६ वटा टावर निर्माण गरिएको छ। धनकुटाको हिलेमा एक कार्यक्रमका बिच ठेकेदार कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। ठेकेदार कम्पनी कलपत्रु पाबर ट्रान्समिसन लिमिटेडले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेको हो। 

त्यस्तै दोस्रो प्याकेजमा पर्ने बसन्तपुर, बोनेश्वर, तुम्लिङटार र इनरुवामा निर्माण हुने २२० स्तरको सब स्टेसनको कार्य समेत ८० प्रतिशत भएको जनाइएको छ। त्यस्तै तेस्रो प्याकेजमा दुई अर्ब पचास करोड रुपैयाँको लागतमा निर्माण हुने वसन्तपुरदेखि ढुङ्गे साँघु सम्मको करिब ३५ किलो मिटरको प्रसारण लाइन निर्माणको कार्य समेत ७० सम्पन्न भएको छ। यी सबै आयोजना निर्माण पछि अरुण र तमोर नदि तथा तिनका सहायक नदीमा निर्माण गरिने जल बिद्युत आयोजनामा उत्पादित बिजुली ग्राहक सम्म पुर्याउन सहज हुने नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

कार्यकारी निर्देशक घिसिङ्गले आयोजनाहरु बाट उत्पादन हुने विद्युत प्रसारणको लागि सो लाइनको दोस्रो सर्किटको तार तान्ने र सम्बन्धित सबस्टेशनहरुमा २२० केभी लाईनको ट्रान्सफर्महरुको क्षमता विस्तार गर्ने बताए। उनले दोस्रो सर्किटमा तार तान्ने र सम्बन्धित सबस्टेशनहरुको क्षमता विस्तारका लागि विद्युत प्राधिकरणबाट यथासक्य छिटो काम गरिने बताए। 

प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण भएका र  हुने करिब २ हजार मेगावाट जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। 

‘इनरुवामा २२० केभीको सबस्टेसको निर्माण पूरा नहुन्जेल लाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत प्रवाह गरिने छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट वर्खाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको छ।’

संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइने छ। तिरतिरे–बसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरु वर्खाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन्। आयोजनाहरुको जडित क्षमता करिब ३३ मेगावाट छ।

संखुवाभाको तुम्लिङटार तथा बानेश्वर र तेह्रथुमको वसन्तपुरमा गरी ३ वटा सबस्टेसनको निर्माण गरिएको आयोजना प्रमुख तथा विधुत प्राधिकरण प्रदेश १ का प्रमुख राजन ढकालले जानकारी दिए। ‘निर्माण चरणमा विभिन्न अवरोधहरु छिचोल्दै निरन्तरको प्रयासबाट सबैको साथ र सहयोगमा काम सक्न सफल भएका छौं’, उनले भने, ‘निर्माणाधीन अन्य प्रसारण लाइन आयोजनाको तुलनामा ठूलो र लामो लाइन छिट्टो निर्माण सम्पन्न भएर रेकर्ड पनि कायम भएको छ।’

नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा प्रदेश नं १ का  भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो। प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी खरिद सम्झौता (पिपिए) गरिसकेको छ। ती आयोजना निर्माणको विभिन्न चरणमा छन्। 

करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो। यसको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ। दोस्रो प्याकेजमा इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङटार २२० केभीको सब स्टेसन निर्माण गरिएको छ। यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ।

तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३५ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ। एक सय ३२ टावर निर्माण गर्नुपर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख ढकालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.