|

काठमाडौं :  दशैँ अगाडि कोरोनाविरुद्धको फाइजर खोप नआउने भएको छ।

कोभ्याक्स सुविधा अन्तर्गत आउन लागेको कोरोनाविरुद्धको फाइजर यस अघि दशैँ अगाडिनै आउने भनिए पनि अब दशैंलगत्तै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा प्रमुख प्रमुख डाक्टर उपेन्द्र ढुंगानाले जानकारी दिए। 

द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) मार्फत आउने भनिएको १ लाख ६ सय ३० डोज फाइजर आउन लागेको फाइजर खोप गाभीले नेपालमा हाल भएको भण्डार कक्षमा भण्डार गर्न कतिको उपयुक्त हुन्छ भन्नका लागि परीक्षणस्वरूप अनुदानमा पठाउन लागेको बताइएको छ।

यसरी आउने खोप नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउन लागेको हो। खोप भण्डारण गर्न सरकारले चारवटा कोल चेन तयार गरेको छ।

ती कोल चेनमा १ लाख डोज खोप भण्डारण क्षमता रहेको छ। यो खोपको सेल्फ लाइफ पूर्णरूपमा कायम गर्न अल्ट्रा कोल्ड चेन माइनस ४४ देखि माइनस ८० सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ।

फाइजर खोपलाई माइनस १५ देखि २५ डिग्री सेल्सियसमा १४ दिन भण्डारण गर्न सकिन्छ। माइनस २ देखि ८ डिग्री सेल्सियसमा ३१ दिन मात्र राख्न सकिन्छ।

यो खोप एकपटक अल्ट्रा कोल्ड चेन (माइनस ४४ देखि माइनस ८० सेल्सियस) बाट २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गरेपछि फेरि माइनस तापक्रममा राख्न हुँदैन। तसर्थ यो खोप प्राप्त भएपछि कार्यक्रम सञ्चालन हुँदा विशेष ध्यान दिनुपर्ने महाशाखा बताउँछ।

 क्यानडा र माल्दिभ्सले एस्ट्राजेनेका खोप दिने

यस्तै माल्दिभ्स र क्यानडाले पनि नेपाललाई अनुदानस्वरुप एस्ट्राजेनेका खोप दिन लागेकोसमेत ढुङ्गानाले बताए।

उनका अनुसार क्यानडाले ४ लाख डोज र माल्दिभ्सले २ लाख डोज अस्ट्राजेनिका खोप उपलब्ध गराउन लागेको बताए।

‘अनुदानस्वरुप माल्दिभ्स र क्यानडा गरि ६ लाख डोज अस्ट्राजेनिका खोप अनुदान आउन लागेको छ’ उनले भने।

नेपाललाई हालसम्म भारत, चीन, अमेरिका, जापान, भुटान, बेलायतले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराइसकेका छन्।

चीनले अनुदान दिने १६ लाख भेरोसेल पनि दशैंलगत्तै आउने

 यस्तै यसअघि चीनले अनुदानस्वरुप दिन लागेको खोप पनि दशैंलगत्तै आउने बताइएको छ। ढुङ्गानाका अनुसार  चीनले अनुदानमा दिने घोषणा गरेको १६ लाख डोज भेरोसेल खोप आगामी कात्तिकको पहिलो साता आउने भएको हो।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गत १ साउनमा प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा १६ लाख मात्रा खोप अनुदानमा दिने घोषणा गरेकी थिइन्।

यस्तै यसअघि खरिद गरेको तर आउन बाँकी रहेको १० लाख मात्रा कोभिसिल्ड खोप शनिबार आइपुग्ने भएको छ।

यस्तै ३ लाख मात्रा खोप नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाले अनुदानमा उपलब्ध गराउने  भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.