|

पर्वत : कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण गत वर्षको दशैंमा सुनसान रहेको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा यस वर्षको घटस्थापनामा भने भीडभाड भएको छ।

कोरोना सङ्क्रमणको अवस्था सामान्य बन्दै जाँदा घटस्थापनाका दिन बिहानैबाट दर्शनार्थीहरूको भीड लागेको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए।

धेरै भक्तजनको आस्थाको केन्द्रका रूपमा रहेको भगवती मन्दिरमा अघिल्लो वर्ष चाहेर पनि पूजाआजा गर्न नपाएकाहरू यस वर्ष भने घटस्थापनाकै दिनबाट मन्दिरमा पुगेको उनको भनाइ छ। ‘आज बिहानैबाट दर्शनार्थीहरूको ओइरो लागेको छ, दिउँसोको समयमा भक्तजनहरूको सङ्ख्या झनै बढ्छ। गएको चैते दशैंमा मन्दिर खुलाउँदा साथ बन्द गर्नु परेको थियो।

पोहोरको दशैंमा मन्दिर नै बन्द थियो’ उनले भने, ‘कोरोना सामान्य भएको मौकामा देवीको पूजाआजा गर्न आउनेहरूको भीड लागेको छ। पहिलो दिनमा नै दर्शनार्थीको भीड भएपछि अब नवमीसम्म अत्यधिक दर्शनार्थी आउनुहुन्छ।’

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरका अनुसार घटस्थापनाकै दिनबाट मन्दिरमा दर्शनार्थीको घुइँचो भएपछि सुरक्षा व्यवस्था पनि बढाइएको छ।

लुटपाट तथा चोरी हुन नदिन तथा कोरोना सङ्क्रमण बढ्न नदिन स्वास्थ्य सुरक्षा मापदण्डलाई सकेसम्म कार्यान्वयनमा ल्याउनको लागि प्रहरीको उपस्थिति बाक्लो बनाइएको उनको भनाइ छ। ‘भक्तजनहरूको भीड बिहानैबाट लागेको छ।

कोरोना शून्य नभएका कारण सकेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन गराउनको लागि पनि सुरक्षाकर्मी परिचालन गरिएको छ’ उनले भने, ‘सेनीटाइजर र मास्कको प्रयोग गर्न सुरक्षाकर्मीले भक्तजनलाई अनुरोध गर्नेछन्।

चोरी र लुटपाटको जोखिम पनि हुने भएकाले हामी सतर्क छौँ।’ बागलुङ कालिका मन्दिरमा चैते दशैं र बडादशैँमा दर्शनार्थीहरूको भीडभाड हुने गर्दछ। गण्डकी प्रदेशकै मुख्य मध्येको एक धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको मन्दिरमा छिमेकी जिल्लाहरू पर्वत, म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट पनि दर्शनार्थीहरू आउने गरेका छन्।

सोह्र श्राद्धमा दिवङ्गत आफन्तलाई पिण्ड दान गर्न तथा मुक्तिनाथ मन्दिरमा पूजाआजाका लागि मुस्ताङ पुगेका धार्मिक पर्यटकहरू समेत बागलुङ मन्दिरमा जाने गरेका छन्। कालिका मन्दिरमा दैनिक रूपमा कतिले दर्शन गरे भन्ने तथ्याङ्क त राख्ने गरिएको छैन।

बागलुङका पत्रकार प्रकाश बरालका अनुसार परार साल राखिएको एउटा तथ्याङ्कमा मन्दिर आसपासका पसलबाट चार लाख नरिवल बिक्री भएको पाइएको छ।

घटस्थापनादेखि नवमीसम्मको उक्त अवधिमा घरबाटै वा अन्य ठाउँबाट नरिवल लिएर जानेको तथा नरिवल नफुटाउनेहरूको भने तथ्याङ्क छैन।

त्यसमा पनि एउटा परिवारले सामान्यतः एउटा नरिवल फुटाए पनि परिवारबाटै तीन-चार जना दर्शनका लागि पुग्छन्। यस अर्थमा एउटा दशैँमा करिब पाँच लाख बढीले मन्दिरमा दर्शन गर्ने अनुमान गर्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.