|

काठमाडौं : नेपालले पहिलोपटक मातृ मृत्युदरबारे अध्ययन गर्न थालेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृ मृत्युदरबारे अध्ययन गर्न थालेको हो। मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्यका साथ जनगणनासँगै मातृ मृत्युदरबारे अध्ययन गर्न थालेको छ। 

मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले प्रजनन उमेर समूहका महिलाको मातृ मृत्युदर पत्ता लगाउन र सुरक्षित मातृत्व सेवालाई गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउन अध्ययन गर्न थालिएको जानकारी दिए। उनले मातृ मृत्युदर अध्ययनका लागि अहिले स्वास्थ्यकर्मीलाई तालिम दिन थालिएको बताए।

अध्ययन गर्नका लागि स्वास्थ्यकर्मीलाई यही असोज ४ गतेदेखि कात्तिक १० गतेसम्म सङ्घीय, प्रादेशिक र जिल्लास्तरमा प्रशिक्षक प्रशिक्षण र मौखिक परीक्षण गर्ने स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम दिइन थालिएको छ। उनले जनगणनाबाट प्रतिवेदन तयार पारिने र सोही प्रतिवेदनअनुसार मातृ मृत्यु रोकथामका लागि कार्यक्रम सञ्चालन गरिने बताए। 

मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागको सहकार्यमा हुन लागेको यो अध्ययनमा जनगणनाका गणकले कुनै घरपरिवारमा गत १२ महिनामा १५ देखि ४९ वर्षको महिलाको मृत्यु भए नभएको यकिन गर्नेछन्। नेपालमा नै पहिलो पटक गर्न थालिएको अध्ययनमा पहिलो चरणमा जनगणना गर्दा मातृ मृत्युदर भएका सङ्ख्या पत्ता लगाउने र त्यसपछि मातृ मृत्युको कारण पत्ता लगाउन पुनः दोस्रो चरणमा सम्पूर्ण विवरण लिइनेछ। 

महिला गर्भवती, प्रसूति, सुत्केरी भएको ६ हप्ताभित्र र अन्य अवस्थामा भएको मातृमृत्यु दरको अध्ययन गरिनेछ। कात्तिक २५ देखि मङ्सिर ९ सम्म मातृ मृत्यु भएको घरपरिवार पहिचान गर्ने र त्यसपछि कात्तिक २६ देखि मङ्सिर मसान्तसम्म मातृ मृत्युदर के कसरी भयो भनेर मौखिक परीक्षण प्रश्नावली गरिनेछ। 

अध्ययनका लागि ८४७ जना सर्वेक्षक परिचालन गरिनेछ। महानगरपालिकामा ४, उपमहानगरपालिकामा ३ र नगरपालिका तथा गाउँपालिकामा १/१ स्वास्थ्यकर्मी खटिनेछन्। नेपालमा सन् २०१६ को मातृ मृत्यु अनुपात २३९ रहेकोमा दिगो विकास लक्ष्यअनुरूप सन् २०३० मा ७० मा झार्ने लक्ष्य लिइएको छ। प्रजनन उमेर समूहका महिलाको मृत्युमध्ये १२ प्रतिशत मातृ मृत्यु रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.