|

काठमाडौंः दशैँ नेपाली फिल्म रिलिज गर्न उपयुक्त समय मानिन्छ। सामान्य अवस्था भएको भए घटस्थापना, फूलपातीमा र पूर्णिमामा कुन कुन फिल्म रिलिज गर्ने भनेर महिनौं अघि तय भइसकेको हुन्थ्यो।

तर, यतिबेला कोरोनाले गर्दा अवस्था सामान्य छैन र, फिल्म हलमा पनि त्यो उत्साह छैन। 

झण्डै डेढ वर्षदेखि बन्द रहेका सिनेमाहल घटस्थापनाको मौका पारेर बिहीबारदेखि फेरि खुलेका छन्। तर, हलमा नेपाली फिल्म भने छैनन्।

पहिलो लकडाउन र दोस्रो लकडाउनको बीचमा केही साता हल खुले पनि त्यो समयमा आएका फिल्म हेर्न दर्शक आएनन्। त्यसैले पनि यतिबेला नेपाली फिल्म निर्माताले जोखिम उठाउने आँट गर्न सकेका छैनन्। 

बिहीबार खुलेका सिनेमाहलमा दुई वटा हलिउड फिल्म 'फास्ट एन्ड फ्युरियस–९' र 'नोबडी' प्रदर्शनमा आएका छन्।

गत मेमै प्रदर्शनमा आएको 'फास्ट एन्ड फ्युरियस–९' कोरोना महामारी सुरु भएपछि सबैभन्दा बढी कमाउने फिल्म पनि हो। लकडाउनले गर्दा नेपालमा भने प्रदर्शन हुन सकेको थिएन। 

त्यस्तै इल्या नेशलरको निर्देशनमा बनेको 'नोबडी' पनि मार्चमै प्रदर्शनमा आइसकेको फिल्म हो। यो फिल्मलाई दर्शक र समीक्षक दुवैले सकारात्मक प्रतिक्रिया दिएका छन्।

सिनेमाहल खुले पनि दर्शकको उपस्थिति भने एकदमै न्यून छ। 

फूलपातीदेखि भने नेपाली फिल्म 'डाँडाको बरपिपल' प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। सोभित बस्नेत निर्देशित फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेतलगायत कलाकारको अभिनय छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.