|

कञ्चनपुर : कञ्चनपुरमा खेतमा काटेको धान वर्षाले बगाउनुका साथै खेतमै डुबाएपछि किसानले ठूलो क्षति व्यहोर्नु परेको छ।

काटेको धानबाली खेतमै वर्षाको पानीमा डुबेपछि धानका दाना कुहिन र उम्रिन थालेका छन्। वेदकोट नगरपालिकाको सुन्दरपुरका किसान भोजराज पन्तले पावर टिलरको सहायताले धान काटेकै भोलिपल्टदेखि पानी गर्न सुरु भएपछि थन्क्याउन नसकिएको बताए।

‘धान खेतमै थियो‚ थन्क्याउन सकेनौँ। आइतबारदेखिको लगातारको वर्षाले पूरै धानबाली डुबेको छ’, उनले भने, ‘पानी पर्ने क्रम अझै रोकिएको छैन। काटेको धानबाली सुकाउन र थ्रेसिङ गर्न नपाए निकै ठूलो क्षति हुन्छ।’

दुई बिघाभन्दा बढी जग्गामा लगाएको धानबाली पूरै वर्षाको पानीमा डुबेको अवस्थामा रहेको उनले बताए। सोही ठाउँका अर्का किसान भक्तबहादुर घलेको समेत तीन बिघा जग्गामा मजदुर लगाएर काटेको धानबाली पूरै डुबेको छ।

‘वीज वृद्धिका लागि लगाइएको धानबालीमा क्षति पुगेको छ’, उनले भने, ‘सय क्विन्टल बढी धान उत्पादन हुँदै आएको थियो। वर्षाले निकै ठूलो क्षति गरेको छ। धान डुबाउने कार्यसँगै दाना खेतमै झर्दा नोक्सानी भएको छ।’

शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी बिहानैदेखि धान काटेको खेतमा पानी जमेपछि निकै चिन्तित भएका छन्। गाउँका किसानसँगै चौधरी पानी निकासका लागि खटिएका छन्।

‘दशैँ मनाएपछि धेरै किसानले काटेको धान खेतमा छ’, उनले भने, ‘धान काटेर थन्क्याउने चटारो बढेकै वेला लगातारको वर्षाले पूरै धान निथ्रुक्क भिजेको छ। काटेको धान पानीमा तैरिएको छ।’ पानीको निकास गरी काटेको धान जोगाउने प्रयासमा लागेको उनले बताए।

‘दशैँका वेला धेरै किसानले काटेको धानको मुठा बाँधेर खेतमै छाडेका थिए। केहीले थ्रेसिङ गर्न खेतमै जम्मा गरेका थिए भने केहीले काटेर सुकाउन खेतमै छाडेका थिए’, उनले भने, ‘गाउँका अधिकांश किसानको धानबाली खेतमै हुँदा निकै नोक्सानी भएको छ।’

शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका सन्तराम रानाको चार बिघा जग्गाको काटेको धान वर्षाको पानीले बगाउँदा नोक्सानी भएको छ।

‘खेतमा काटेको धानबाली पूरै बगेर नोक्सानी भएको छ’, उनले भने, ‘परिवारका लागि राखेर बेच्थ्यौं। त्यसबाटै घरको खर्च चल्ने गरेको थियो। पूरै धान बगेपछि बिचल्लीमा परेका छौँ।’

वडाध्यक्ष बाले रानाले वडाका पाँच परिवारको धानबाली बगेर नोक्सानी भएको र खल्ला खेत भएकाले अन्यको डुबानमा परेर नोक्सानी भएको बताए।

यसैगरी शुक्लाफाँटा नगरपालिका–१ वन्साहका किसानले काटेर खेतमा राखेको धान बगेर नोक्सान भएको छ। वडा सदस्य परमानन्द जोशीका अनुसार स्थानीय ३० बढी किसानले काटेको १५ बिघाभन्दा बढी जग्गाको धान नोक्सान हुँदा लाखौँको क्षति भएको छ।

कृषि ज्ञानकेन्द्र कञ्चनपुरका अधिकृत रणबहादुर मल्लले लगातारको वर्षाका कारण धान काटेका जिल्लाका २० देखि २५ प्रतिशत किसान प्रभावित भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.