|
आयरल्यान्डका तीव्र गतिका बलर कर्टिस कमफेर।

टी–२० विश्वकपको तेस्रो क्वालिफायरमा आयरल्यान्डका तीव्र गतिका बलर कर्टिस कमफेरले ४ बलमा ४ विकेट लिँदै ऐतिहासिक प्रदर्शन गरेका छन्। उनले नेदरल्यान्ड्सविरुद्ध सोमबार भएको खेलमा ठूलो सफलता हासिल गरेका हुन्।

सनसनीपूर्ण प्रदर्शन गर्ने क्रममा उनले नवौं ओभरको दोस्रो बलमा कोलिन एकरमानलाई क्याच आउट गराउँदै पहिलो विकेट लिएका थिए।

त्यसपछि लगातार विकेट लिने क्रममा लिंदारायन टेन डोसच्याटलाई पनि त्यही ओभरको तेस्रो बलमा एलबिडब्लू गराए।

त्यसपछिको बलमा उनले स्कट एडवार्ड पनि एलबिडब्लूको सिकार बनाएर ह्याट्रिक पूरा गरे। ओभरको पाँचौं बलमा रोएलोफ भान डेर मेरविनलाई बोल्ड गर्दै उनले लगातार ४ विकेट लिए।

आयरल्यान्डले कसिलो बलिङ गरेपछि नेदरल्यान्ड १ सय ६ रनमै समेटियो। उसका लागि ओपनर ब्याट्सम्यान म्याक्स ओडोडले सर्वाधिक ५१ रन बनाए। आयरल्यान्डका कर्टिसबाहेक मार्क एडेयरले पनि ३ विकेट लिएका थिए।

१ सय ७ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको आयरल्यान्डले सहज जित हात पार्‍यो। उसले १५ दशमलव १ ओभरमा ३ विकेट गुमाएर सहज रुपमा ७ विकेटको जित निकाल्यो।

टीमको जितमा ग्यारेथ डेलानीले ४४ रन बनाउँदा ओपनर पल स्टर्लिङले ३० रनको अविजित इनिङ खेले।

कर्टिसले आयरल्यान्डका लागि टी–२० अन्तरराष्ट्रियमा पहिलो ह्याट्रिक गर्दा टी–२० विश्वकप इतिहासमा भने ह्याट्रिक लिने उनी दोस्रो खेलाडी बने।

उनीभन्दा अघि २००७ को टी–२० विश्वकपमा अस्ट्रेलियाका पूर्व खेलाडी ब्रेट लीले ह्याट्रिक लिएका थिए। समग्र टी–२० क्रिकेट इतिहासमा भने यो १९ औ ह्याट्रिक हो।

२२ वर्षीय कर्टिसले ४ बलमा ४ विकेट लिँदै स्पेशल क्लबमा स्थान बनाए। उनीभन्दा पहिले ४ बलमा ४ विकेट दुई जना खेलाडीले मात्र लिएका थिए।

अफगानिस्तानका राशिद खान र श्रीलंकाका लासिथ मालिंगाले पनि टी–२० मा ४ बलमा ४ विकेट लिएका छन्। राशिदले सन् २०१९ मा आयरल्यान्डविरुद्ध यो उपलब्धी हासिल गर्दा मालिंगाले न्युजिल्यान्डविरुद्ध सन् २०१९ मा नै यो उपलब्धी हासिल गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.