सर्लाही : कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले सर्लाहीको हुलाकी सडक यस वर्ष निर्माण गरेरै छाड्ने दाबी गरेका छन्।
मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला सर्लाही आएका उनले आज (सोमबार) सदरमुकाम मलंगवामा पत्रकारहरूसँग हुलाकी सडक निर्माणमा अब ढिलाइ नहुने बताएका हुन्।
यसअघि बजेट विनियोजन गर्दा प्रदेश सरकारअन्तर्गत परेको भएपनि यस वर्ष भने संघीय सरकारमातहत राष्ट्रिय गौरवको आयोजनामा परेकाले सडक बन्नेमा आफू विश्वस्त रहेको मन्त्री यादवको भनाइ छ।
सर्लाहीको निर्वाचन क्षेत्र २ का संघीय सांसद एवं जनता समाजवादी पार्टी (जसपा)का नेतासमेत रहेका मन्त्री यादव हुलाकी सडकको निर्माण अघि बढाउन माग गर्दै केही महिनाअघि सदरमुकाम मलंगवामा धर्नामा बसेका थिए।
नेताहरू नै धर्नामा बसेर दबाब दिँदासमेत हुलाकी सडक निर्माणले गति लिन सकेको छैन। पानी पर्दा हुलाकी सडकको पूर्वमा संग्रामपुरदेखि पश्चिममा बलरासम्मको खण्डमा हिलाम्मे र घाम लागेको समयमा धुलाम्मे हुने भएकाले सर्वसाधारणले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ।
सञ्चारकर्मीसँग मन्त्री यादवले मलखादको समस्या र उखु किसानको पीडा सम्बोधन हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्री भएपछि असोज २८ गते जिल्ला भ्रमणमा आएका उनी पार्टी कार्यकर्तासँग भेटघाटमा ब्यस्त छन्।
उनी आज मलंगवा, मानपुरलगायत ठाउँमा कार्यकर्तासँग भेट गरी भोलि आफ्नो गाउँ बसन्तपुर हुँदै राजधानी काठमाडौं फर्किने जसपाका नेता एवं कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।