|

लियोनल मेसीले दुई गोल गर्दा च्याम्पियन्स लिग  फुटबलमा पिएसजीले आरबी लाइपजिगमाथि ३-२ को जित हासिल गरेको छ। केलियन एम्बाप्पेले सुरुआतमै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

उनको काउन्टर एट्याकमा आकर्षक गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाएका थिए। तर‚ आन्द्रे शिल्भाले एन्जेलिनोको क्रसलाई सदुपयोग गरेका थिए।

पहिलो हाफ १-१ को बराबरी भएको खेलमा दोस्रो हाफमा लाइपजिङले अग्रता बनायो। ५७ औं मिनेटमा एन्जेलिनाकै पासलाई नोर्दिक मुकिएलले गोल गर्दै टिमलाई अग्रता दिलाए।

तर‚ पिएसजीका लागि अर्जेन्टिनी फर्वार्ड लियोनेल मेसीले उत्कृष्ट प्रदर्शन जारी राख्दै गोल गरे। मेसीले ६७ औं मिनेटमा गरेको प्रहार पोलमा लागेर फर्किए पनि उनले नै रिबाउण्डमा आकर्षक ट्यापिङ गर्दे खेल बराबरीमा ल्याए।

त्यसको सात मिनेटपछि मेसीले पेनाल्टीमार्फत टिमलाई अग्रता दिलाए। पिएसजीले खेलको इन्जुरी समयमा अर्को पेनाल्टीको अवसर पायो। ह्याट्रिकको अवसरमा रहेका मेसीले उक्त मौका एम्बाप्पेलाई दिएका थिए। तर‚ एम्बाप्पेको प्रहार आकाशिँदा पिएसजी थप गोल गर्न असफल रह्यो।

जितपछि फ्रेन्च टोली पिएसजीको सात अंक भएको छ। च्याम्पियन्स लिगको समूह ए मा शीर्ष स्थानमा पुगेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६ अंक छ।

यही सिजन बार्सिलोनाबाट पिएसजी पुगेका मेसीले कुल १२३ औं च्याम्पियन्स लिग गोल सम्भव बनाए। लाइपजिगसमेत गर्दा उनले च्याम्पियन्स लिगमा ३७ टोलीविरुद्ध गोल गरेका छन्। उनले जारी सिजन च्याम्पियन्स लिगमा तीन गोल गरिसकेका छन्। यसअघि म्यानचेस्टर सिटीलाई पराजित गर्दा उनले १ गोल गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.