धनकुटा : धनकुटामा जारी १६ औँ शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार दोस्रो सेमिफाइनलका खेल हुँदै छ।
शुक्रबार हुने दोस्रो सेमिफाइनलको खेलमा आयोजक भीमनारायण स्मृति प्रतिष्ठान र बिर्तामोड युनाइटेड क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ। धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ बजेपछि सो खेल शुरु हुनेछ।
सिराहाको सलहेश युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै आयोजक भीमनारायण स्मृति प्रतिष्ठान सेमिफाइनलमा पुगेको हो। यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लब काठमाडौँलाई १–० गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड क्लब झापा अन्तिम चारमा पुग्न सफल भएको हो।
यो खेलको विजेताले फाइनलमा शनिबार विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौँसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। एपीएफ क्लब पहिलो सेमिफाइनलमा बिहीबार सुनसरीको जागृति क्लबलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो।
पहिलो सेमिफाइनलको निर्धारित समयमा कुनै गोल नभएपछि खेल टाइबेकरमा धकेलिएको थियो। टाइब्रेकरमा एपीएफका सविन गुरुङ, सुमन श्रेष्ठ र युवराज खड्काले गोल गरे भने राष्ट्रिय जागृति फुटबल क्लबका लागि उमेश राई र कुलदीप कार्कीले गोल गरे।
यस्तै जागृतिका सुमित चौधरी, प्रवेश दनुवार र मिलन राईको प्रहार एपीएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाए। यस्तै एपीएफका रिपेश धिमाल र विश्वास उदासको प्रहार जागृतिका गोल रक्षक विनय श्रेष्ठले बचाएका थिए।
दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए।
२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।