|
मन्त्रिपरिषद्‍ बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की। तस्वीर : रासस

काठमाडौं : सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्ने र निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्‍को निर्णयबारे जानकारी दिएका हुन्। 

उनले बाढी तथा डुबानबाट धान बालीमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदल बनाएको जानकारी पनि दिए। 

बैठकले कार्यदल गृह मन्त्रालयका सचिवको संयोजकत्वमा गठन गरेको बताए। कार्यदलका सदस्यमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव पनि रहेको उनले जानकारी दिए।

त्यसैगरी बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनको दररेट १५ प्रतिशत वृद्धि गर्ने पनि निर्णय गरेको छ। 

नेपाल पुर्नबिमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्नुका साथै कोभिड–१९ महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय भएको पनि सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.