|
तस्वीर: सुशील तामाङ

काठमाडौं : मण्डला थिएटर सञ्चालन गर्दै आएको मण्डला ड्रामा स्कुल पहिलो शैक्षिक सत्रको अन्तिम नाटक 'जिजीविषा'को मञ्चन सकिएको छ। अनामनगरस्थित मण्डला थिएटरमा मंगलबार यसको अन्तिम मञ्चन भएको हो। 

मण्डलाले गत २०७७ असोजदेखि ड्रामा स्कुलको पहिलो सत्र सुरु गरेको थियो। डेढ वर्षको कोर्समा अभिनय, निर्देशन, नाट्य शिल्प, नाट्य उत्पादन लगायतका विषयमा पढाइ हुने गर्छ। योबाहेक नाटकका विभिन्न विधाको सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षा दिने गर्छ। ड्रामा स्कुल प्रथम सत्रका विद्यार्थीले यसअघि पनि विभिन्न विधाका नाटक मञ्चन गर्दै आएका थिए। 

मण्डला थिएटर र जर्मन सहयोग परियोजना (जिआइजेड)अन्तर्गतको कार्यक्रम नागरिक शान्ति सेवा (सिभिल पिस सर्भिस)को सहकार्यमा शान्ति र द्वन्द्व रूपान्तरणका लागि दीर्घकालीन रंगमञ्चीय शिक्षाअन्तर्गत मण्डला ड्रामा स्कुलको सुरुवात भएको हो। 

पहिलो सत्रमा सात प्रदेशबाट १६ जना विद्यार्थी सामेल थिए। 

कात्तिक ८ र ९ गते मञ्चन भएको नाटक जिजीविषा सोमनाथ खनालले लेखेका हुन् भने निर्देशन राजन खतिवडाको हो। 

नाटकमा आकाश नेपाली, आदित्य मिश्र, अनिल कर्मी, सुस्मिता पोख्रेल, सुस्मिता गुरागाईं, विष्णुमाया परियार, शिव परियार, सञ्जय विश्वकर्मा, समृद्धि नेपाल, सरिता कठायत, पासाङ ल्हामु शेर्पा, सुमित्रा पेहिम, हाङ हो हाङ राई, दीक्षा चौधरी, प्रदीप ढुङ्गाना र निरज चौधरीको अभिनय रहेको थियो।

नाटकमा हिमालको फेदतिरको पोखरीमा पानी सुक्दै गएपछि समुद्रको खोजीमा निस्किएका त्यहाँका माछाको कथा देखाइएको छ। 

मंगलबार भएको 'जिजीविषा'को मञ्चन नै मण्डलाको अनामनगरस्थित नाटकघरमा अन्तिम मञ्चन हो। जिजीविषाको अन्तिम मञ्चनमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। नेपाली नाटक, फिल्म, साहित्य लगायतका क्षेत्रबाट पनि विशिष्ट व्यक्तिहरू नाटक हेर्न आएका थिए। यसपछि मण्डला थापागाउँमा सर्दै छ। 

दश वर्षको लागि जग्गा भाडामा लिएर मण्डलाले अनामनगरमा नाटक गर्दै आएको थियो। सम्झौता अवधि सकिएसँगै मण्डला सर्न लागेको हो। मण्डलाका संस्थापक सदस्य राजन खतिवडाका अनुसार तिहारपछि औपचारिक रूपमा मण्डला थापागाउँ सर्नेछ।

'थापागाउँमा नाटकघरका लागि भौतिक संरचना तयार छ'‚ खतिवडाले भने, 'दुईवटा हल छन्। ठाउँ फराकिलो छ। उता काम गर्न अझै सहज होला भन्ने लागेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.