'उपलब्धि दृष्टिकोणमा भर पर्छ'

|

काठमाडौं : गीतले हाइप लिएको थियो। स्वरमा दम थियो। व्यक्तित्व आकर्षित थियो। मान्छहेरू भन्न थालेका थिए, 'यति राम्रो गीत गाउन सक्नेसँग संगीतको बृहत्तर ज्ञान पक्कै छ। संगीतमा लाग्ने नयाँ पुस्तालाई सिकाए नेपाली संगीत क्षेत्रले केही पाउँथ्यो।'

मान्छेहरूलाई के थाहा थिएन् भने राम्रो गाउँदैमा वा स्वर राम्रो हुँदैमा उसले संगीतका सातै सुरमा विज्ञता हासिल गरेको हुँदैन।

तर, समय र परिस्थितिले वि.सं. २०५७ सालतिर गायक तथा सर्जक नरहरि प्रेमीलाई संगीत सिकाउने जोखिम आइलाग्यो। त्यसबेला उनको भाका-१ एल्बम निकालिसकेका थिए। जुन चर्चामा थियो। काठमाडौंको बागबजारमा एक कलाकेन्द्र थियो। अग्रज शान्तिराम राई र उनको तस्बिर राखेर यहाँ संगीत सिकाइन्छ भन्ने पोस्टर टाँसिएको थियो।

त्यो देखेपछि अब संगीत सिकाउँ न त भनेर उनी पनि त्यहाँ पुगे। फरक-फरक भूगोलबाट संगीतको सागरमा पौडिन आएका विद्यार्थीलाई संगीतको प्रारम्भिक ज्ञान सिकाउन थाले उनले। त्यही समूहमा एक विद्यार्थी यस्ता आए, जसले संगीतको राम्रो दख्खल राख्थे। ती विद्यार्थीले संगीतका विभिन्न आयामबारे प्रश्न सोध्थे। एकदिन पनि उनी त्यस्तै प्रश्न बोकेर आए। ‘भाष्ट’ प्रश्न के थियो अहिले उनले भुले। तर, यति थाहा छ‚ त्यसमा प्रेमीको ज्ञान थिएन।

सुरूवाती दिनमा नै उनलाई पहिलो झड्का लाग्यो। विद्यार्थीले सोधेको प्रश्नलाई उनले आलटाल गरिरहे। 'मैले जानेको छैन भन्न मेरो अंहले दिएन‚' स्मृतिको पानामा रहेको त्यो पल सम्झन्छन् उनी।

तर, विद्यार्थी निस्किए जब्बर। उनले हरेक दिन त्यही प्रश्न सोधिरहे। त्यो प्रश्नबाट हार खाएपछि प्रेमी कला केन्द्रबाट ‘टाप’ कसे। उनी सम्झन्छन्, 'सिकाएर आउने पारिश्रमिकभन्दा पनि आफ्नो इज्जतको सवालले भाग्न विवश भएको थिएँ।'

आफ्नै विद्यालयमा थपियो तनाव

त्यो घटनापछि उनी तत्कालका लागि संगीत प्रशिक्षणमा लागेनन्। तर, संगीतको सागरमा हाम फालेपछि सधैं एकै लहरमा हिँड्न सकिदैँन। विभिन्न परिस्थितिको सामना गरिरहनुपर्छ। त्यसपछि उनले मेघ भन्ने एल्बममा स्वर संगीत भरे।

मेघ लामासँग भएको सहकार्यमा भएको उक्त काममा प्रेमीले जानेको ज्ञान लामालाई बाँडे। प्रेमीबाट प्रभावित बनेका लामाले सुझाव दिए, 'अब गाउने मात्र होइन सिकाउने बेला भयो सर। तपाईं पनि एउटा संगीत केन्द्र खोल्नुस्।' पहिलो घटनाबाट पाठ सिकेर आफ्नो क्षमता बढाएका प्रेमीले २२ वर्षअघि 'श्रुति संगीत विद्यालय' खोले।

संगीतको प्रारम्भिक ज्ञान सिकाउने क्रम जारी थियो। तर, त्यहाँ पनि एक अमुख विद्यार्थी आइपुगे। जो संगीतमा थोरबहुत ज्ञान राख्थे। उनले मंगलधुन निकाल्ने नोटेशन मागे। प्रेमीले गाउन जानेका थिए। नोटेशन बनाउन जानेका थिएनन्। अब आफ्नै विद्यालयबाट भागेर जाने ठाउँ थिएन्। उनले पाँच दिनमा आफैं नोटेशन भर्न सिके। पछि उनले विद्यार्थीलाई सिकाए।

‘मैलै यो घटना सुनाउनुको तात्पर्य के भने चुनौतीलाई सामना गर्न सके मात्र ऊ सफल हुन्छ,’ उनी सुनाउँछन्, ‘मान्छहेरू भन्छन् कि परेर जान्छन् कि पढेर। जब तपाईंलाई पर्छ अनि पढ्नुहुन्छ। पर्नु् भनेको पढ्नु हो। फेस भनेको स्टडी हो। सिकाउन थालेपछि सिक्नुपर्ने रहेछ भन्ने ज्ञात हुनु हो।’

विद्यार्थी प्रतिस्पर्धी बनेर आउँदा

प्रेमीले संगीतिक क्षेत्रमा करिब २३ वर्ष ‘गुरु’का रुपमा काम गरिसकेका छन्। सयौं विद्यार्थीलाई प्रशिक्षण दिएका छन्। उनका विद्यार्थीले संगीतको बजार नाम, काम र दाम कमाइरहेका छन्। एक शिक्षकको हैसियतले यो एकदम गर्वको विषय हो। आफ्ना विद्यार्थीले गरेको प्रगतिले गर्व महसुस हुने उनी सुनाउँछन्।

विद्यार्थीहरू कहिले काहीँ आफ्नै प्रतिस्पर्धी बनिदिएको घटना उनीसँग छ। ‘विद्यार्थी शिक्षकसँग प्रतिस्पर्धा गर्न आउँछन् भने मेरो सिकाइको पनि सफलता हो‚’ उनले भने‚ ‘म सफल शिक्षक भएको उदाहरण हो। यसमा विस्मित हुनुपर्ने कुनै कारण छैन।’

अध्यापन, गायन, संगीत र लेखन

पहिलो गीत 'यो हाम्रो जिन्दगी सङ्लो पानी हो' २०५४ सालमा विधिवत रेकर्डिङदेखि गत बिहीबारमात्र गाएको 'मेरोजस्तो माया तिमीलाई नगर्लान् अरुले'सम्म आइपुग्दा करिब १५ सयभन्दा बढी गीतमा स्वर र संगीत दिएका प्रेमी गीतकार हुन्। संगीतकार हुन्। संगीत प्रशिक्षक हुन्। गायक हुन्।

एक व्यक्ति, बहुआयामिक काममा रमाइरहेका प्रेमी यी चार कामलाई पृथक पृथक तरिकाले अर्थ्याउछन्।

'गायन र संगीत मिल्दा कुरा हुन्। शास्त्र र संगीतको नोट जानेपछि कहीँ कतै सहज हुन्छ। गीतकार हुँदैमा गायक हुने कुरा होइन। संगीतकार पनि बनिहालिँदैन। संगीतकार र गायक हुँदैमा गीतकार बनिन्छ भन्ने कुरा पनि होइन। यो कवित्व भन्ने कुरा थप महत्त्वपूर्ण कुरा हुन्', उनी थप्छन्, 'गायक र संगीतकार त अन्योन्याश्रित कुरा जस्तै हो। संगीतकार गायक बन्न सक्छ। गायक संगीतकार बन्न सक्छ।'

संगीतको अध्यापन भने बिल्कुलै फरक भएको उनी सुनाउँछन्। 'संगीतको अध्यापन गर्न आफू संगीतका हरेक विषयमा जानकार हुनुपर्छ। अर्को कुरा अनुभव र ज्ञानलाई विद्यार्थीलाई बुझाउन सक्ने क्षमता हुनुपर्छ। जस्तै, ललल टाइपको स्वर कुनै अमुक व्यक्तिले निकाल्न सक्छ। तर, यस्तो भाका निकाल्न तरनाको अभ्यास गर्ने हो कि तानको अभ्यास गर्ने हो कि खट्का मुर्कीको अभ्यास गर्ने हो कि, लहरा वा यावत कुन कुराको अभ्यास गर्ने भन्ने कुरा अध्यापकले जानेको हुनुपर्छ', उनी भन्छन्।

सिकाउनु भनेको सिक्नु हो। २३ वर्षको सिकाइको अनुभवमा बल्ल संगीत सिकाउने गुरु भएँ कि भन्ने लागेको बताउँछन् उनी।

'उपलब्धि हेर्ने दृष्टिकोणमा भर पर्छ'

संगीतको क्षेत्रमा लागेर के कमाइस् भन्ने प्रश्न कहिले काहीँ उनी अगाडि ठोक्किने गरेका छन्। यो आफैँ प्रश्न नै नभएको उनको तर्क छ। केलाई कमाएँ भन्ने मुख्य कुरा हो। उपलब्धिलाई हेर्ने दृष्टिकोण मात्र रहेको उनको बुझाइ छ।

'सानो बालकले एउटा सानो बेलुन पाउँदा क्या खुशी हुन्छ। बेलुन उसका लागि सबथोक हो। उपलब्धि व्यक्तिमा भर पर्छ‚’ उनी सुनाउँछन्‚ ‘मेरो हकमा भन्नुहुन्छ भने मैले सयौं विद्यार्थीलाई सिकाउने अवसर पाएँ। दर्शक कमाएँ। संगीतको सागरमा एक अंश हुने अवसर पाएँ।'

असन्तोष भावनाले हेर्ने हो भने उपलब्धिहरू पनि सामान्य लाग्छन्। सन्तोष भावनाले हेर्ने हो भने सानो उपलब्धि ठूलो हुने उनको बुझाइ छ। 'मेरो कर्मलाई माया गर्ने पाएको छु। यसैबाट मैले मेरो ऊर्जाशील समय बिताउन पाएँ, बिना कुनै तनाव‚’ उनले भने‚ ‘संगीतको क्षेत्रमा म एक बालक हुँ। त्यसैले मैले जे पाएको छु। त्यो मेरा लागि ठूलो हो। म यसैमा खुशी छु।'

'गाउने भनेको केबल स्वर भर्ने मात्र होइन'

उनी नेपाली सांगीतिक क्षेत्रमा यस्तो अवस्थामा प्रवेश गरेका थिए, जुनबेला रेडियो नेपाल र नेपाल टेलिभिजन नै गीत सुन्ने माध्यम थिए। रेकर्ड भएको महिनौंपछि गीत सार्वजनिक हुन्थे। जसको महत्व ज्यादै हुन्थ्यो।

अहिले जस्तो गायो, हिँड्यो। संगीत भर्‍यो, हिँड्यो। लेख्यो, च्यात्यो थिएन। तडकभडक थिएन। युट्युबको उपलब्धता थिएन।

उनले नेपालका अग्रज  स्रष्टासँग सहकार्य गरे। भारतीय गायकसँग सहकार्य गरे। अहिलेका नयाँ पुस्तासँग पनि काम गरिरहेका छन्।

गीत गाउनु वा सिर्जना गर्नु भनेको केवल मनोरञ्जन दिनु मात्र होइन्, संस्कार, बोलीचाली, परम्परा, भाषा, संस्कृति, भेषभूषा आदिको बारेमा बुझ्नु हो। बुझाउनु हो। तर, नयाँ पुस्तासँग सांगीतिक संस्कार अलि कम हो कि भन्ने अनुभव गर्छन् उनी।

'नयाँ पुस्तामा संस्कारको खाँचो छ। कतिपय पुराना पुस्तामा पनि दम्भ देखिन्छ‚’ प्रेमीले भने‚ ‘अग्रजले दम्भ देखाउँछन् भन्दैमा उनीहरूले बनाएको बाटोमा हिँड्दा त्यही प्रवृत्ति देखाउनु चाहिँ गलत हो। यो त जनावर प्रवृति हो।'

सरस्वतीको आराधना, ॐ को साधना, अग्रजलाई सम्मान र अनुजलाई प्रेम चाहिँ जरुरी रहेको उनी सुनाउँछन्। नत्र ऊ कलाकार नै होइन‚ उनले बुझेको यति नै हो।

अहिले पनि राम्रा गीतहरू बजारमा रहेको तथ्यलाई भुल्न हुँदैन। कतिपयले संगीतको बजार खस्किरहेको बताउँछन्।  संगीतको मर्म मर्ने काम भएको छैन। 'जे छ, जे हुँदैछ राम्रोका लागि हुन्छ। संसारमा नराम्रोको लागि केही पनि हुँदैन। स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ। केही प्रवृत्ति आफैं फिल्टर हुँदै जान्छन्‚’ उनी सुनाउँछन्‚ ‘संगीतको मर्मलाई मेटाउने गीतलाई कैँची लगाउन सरकारले केही गर्नुपर्ने जरुरी छ। हामीसँग उपाय छन्। सँगाल्न जरुरी छ',

रेडियो नेपालमा गीत रेकर्ड

नवलपरासीमा जन्मिएका प्रेमीलाई बालक कालमा भजनप्रतिको अनुराग थियो। बुबाआमामा पनि गाउने कला थियो। जसको 'रिफ्ल्याक्सन' आफूमा परेर गायनमा आएको उनी सुनाउँछन्। 

'भजनलाई मिठासपूर्ण रुपमा गाउनु र रसिक प्रवृत्ति ममा थियो। त्यसैले सबैको प्यारो थिएँ। प्यारो भएपछि सबैलाई कन्भिन्स गर्न सहज हुने रहेछ', उनी सुनाउँछन्, 'ठूलो भएपछि गायक बन्छु भन्दा सबैले स्याबास भन्थे।'

२०५२ सालमा रेडियो नेपालले गोरखामा फूलबारी सम्मेलन गरेको थियो। जहाँ भाषाभाषीको गीत प्रतियोगिता भएको थियो। जसमा उनी सर्वोत्कृष्ट भएका थिए। त्यो समय उनी प्रथम भएपछि उक्त गीत रेकर्ड गर्न पहिलोचोटि काठमाडौं आएका थिए। 

भ्रम तोडियो

ब्लाक इन ह्वाइट टेलिभिजनमा देखिएका संगीतका अग्रज व्यक्तिहरूलाई भेट्ने उत्कण्ठा थियो उनमा। जुन काठमाडौंले सम्भव पार्न सक्थ्यो। यति मात्र होइन संगीत वा गीत जसले पनि गाइहाल्छ वा बजाइहाल्छ। यसमा म मा के कमी छु र भन्ने लाग्थ्यो। यो भ्रम चाहिँ उनको राजधानी आएपछि तोडियो।

गायनका सूत्रवत ज्ञानको अभाव थियो। त्यही सूत्रवत ज्ञानको आधारमा नियमित अभ्यास गरेपछि स्वर माझिन्छ भन्ने पनि थाहा थिएन उनलाई।

'मेरो गायनको हैसियत मैले थाहा पाएँ। ममा कमजोरी छन् भन्ने जान्दाजान्दै पनि कोही किन मलाई महत्व दिइरहेका छैनन् भन्ने हठ प्रवृत्ति जीवित थियो', युवाकालीन त्यो समयको जोश सम्झँदै खिस्स हाँस्छन् उनी।

उनले विजयसिंह मुनालसँग दुई वर्ष संगीतको क्लास लिए। दीपक जंगमसँग क्लासिकल संगीतका विभिन्न आयामहरूबारे सिक्ने मौका पाएका उनी अहिले सयौं विद्यार्थीलाई संगीतको सागरमा उत्रन सिकाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.