|

काठमाडौं : नेपाल एयरलाइन्सका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद  चतुर्वेदीको आत्महत्या नभई रिंगटा लागेका कारण भवनबाट लडेर मृत्यु भएको परिवारले जनाएको छ। शुक्रबार उनकाे परिवारले पत्रकार सम्मेलन गरी मृत्युबारे पुष्टि गरेको हो।

चावहिलका ७४ वर्षीय चतुर्वेदीको गत असोज २१ गते घटस्थापनाको दिन चावहिलस्थित गणेशस्थान मन्दिर नजिकैको निर्माणधिन सात तले होटलको चार तल्लाबाट खसेर मृत्यु भएको थियो। विभिन्न सञ्चारमाध्यममा उनको आत्महत्या भएको हुनसक्ने भनी समाचार सम्प्रेषण भएका थिए।

‘मेरो श्रीमान एकदमै उर्जाशील व्यक्तित्व हुनुहुन्थ्यो,’ उनकाे श्रीमती आशा चतुर्वेदीले भनिन्,‘दु:खद् बस उहाँको रिंगटा लागेर अचेत भई लड्नु भएको हो, पोष्टमार्टम र प्रहरीको प्रारम्भिक अनुसन्धान, सिसिटिभी फुटेजले पनि यही कारण देखाएको छ,तर केही सञ्चार माध्यामले आत्महत्या समेत हुनसक्ने भनी समाचार छापियो, यसमा विश्वस नगर्न अनुरोध गर्छु।’

उनका अनुसार रामाज्ञाकाे दुर्घटना हुनुभन्दा अगाडि असोज २० गते कमजोरी महशुस भई रिंगटा लागेर उनलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारको  लागि लगिएकाे थियाे। ल्याब परीक्षण गर्दा उनकोमा सोडियमको कमी र अत्यधिक मधुमेह र उच्च रक्तचाप देखिएको थियो। 

मृतक चतुर्वेदीका ज्वाइँ सम्राट बुढाथोकीले पनि आत्महत्या नभई शारीरिक दुर्बलताका कारण उनको मृत्यु भएको बताए। चतुर्वेदीका एक छोरी र दुई छोरा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.