|

काठमाडौं : जनगणनामा खटिएका गणकहरूले प्रश्नको उत्तर मनपरी लेखेको पाइएको भन्दै आदिवासी जनजाति संगठनहरूले तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठको ध्यानाकर्षण गरेका छन्।

नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध जातीय संगठनहरुले जनगणना सुरु भएको पाँचौं दिन तथ्यांक विभागको कार्यालयमा पुगी ध्यानकर्षण गराएका हुन्।

महानिर्देशक श्रेष्ठ र उपमहानिर्देशक हेमराज रेग्मीलाई आदिवासी जनजाति महासंघ, नेपाल तामाङ घेदुङ, नेवाः देय दवु, नेपाल मगर संघ, तमु ह्युल छोंजधि‚ किरात याक्थुङ चुम्लुङलगायत संस्थाका प्रतिनिधिले ध्यानाकर्षण गराएको घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए।

जनगणनामा भइरहेको त्रुटि र असंवेदनशीलताले वास्तविक तथ्यांक नआउने भन्दै गणना ध्यानाकर्षण गराइएको उनले बताए।

जात/जाति, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा र धर्मसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरूको उत्तरहरू गणकले मनपरी ढंगले भरिदिएको पाइएको भन्दै आदिवासी जनजाति संगठनहरूले महानिर्देशकलाई त्यसो नगर्न निर्देशन दिन आग्रह गरेको अध्यक्ष गोलेले बताए।

ध्यानाकर्षणपत्र बुझ्दै महानिर्देशक श्रेष्ठले गणकले मनपरी र व्यक्तिगत प्रश्न सोध्न तथा लेख्न नमिल्ने भन्दै उनीहरूले त्यसो गरे कारबाही हुने बताए।

तालिमका क्रममा गणकहरूलाई के–के सोध्न मिल्ने र के–के नमिल्ने भनेर तालिम दिइएको पनि उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.