चारवटा ओस्कार अवार्ड हात पार्ने एक मात्र कलाकार

|

बुवा थोमस नोर्वल हेपवर्न र आमा कथरिन मार्था हगटनको दोस्रो सन्तानको रूपमा सन् १९०७ मे १२ मा कथरिन हेपवर्नको जन्म भयो। समाज रूपान्तरणका लागि धेरै आन्दोलनमा सक्रियताका साथ लागेका नोर्वल हेपवर्न र मार्था मगटन आफ्ना सन्तानले बाँच्न खोजेको जीवन बाँचून् भन्ने चाहन्थे। 

उनीहरू आफ्ना सन्तानले विरोध गर्नुपर्ने कुराको खुलेर विरोध गरून्, राम्रो कुराको निडर भएर समर्थन गर्न सकून् भन्ने चाहन्थे। छोराछोरीले शरीर र दिमागलाई चल्न सक्ने जति चलाउन प्रेरित गर्थे। सफलताको कथासँगै असफलताले सिकाउने पाठको बारेमा पनि कुरा गर्थे।

त्यसको असर सानी कथरिनमा पनि देखियो। उनलाई फुटबल, गल्फदेखि पौडीसम्म सबै खेल खेल्नुपर्थ्यो। उनी सानैदेखि टोमबोए(केटी भएर पनि केटाको जस्तो स्वभाव भएको) स्वभावकी थिइन्। उनी केटाले लगाउने कपडा लगाउँथिन्, कपाल छोटो बनाएर काट्थिन्, आफूलाई जिम्मी भन्न रुचाउँथिन्। 

उनका बाबु आमालाई पनि यो कुरामा कुनै आपत्ति थिएन। बरु छोरीले फरक आयामबाट जिन्दगीलाई हेरेकोमा खुसी हुन्थे। 

दाइको निधनको असर

कथरिनलाई परिवारमा कुनै कुराको कमी थिएन। माया गर्ने, छोराछोरीको लागि राम्रो के हुन्छ भनेर बुझेका बुवाआमा मात्र होइन उनको साथी जस्तै मिल्ने दाइ पनि थिए, टोम।

१९२१ मार्चको एक दिन कथरिन कथरिनले आफ्नो दाइको मृत शरीर फेला देखिन्। घटनाको प्रकृति हेरेर त्यसलाई आत्महत्या भनियो।

त्यो घटनाको असर १३ वर्षकी कथरिनको बाल मस्तिष्कमा गहिरो गरी पर्‍यो। त्यही घटनापछि उनको स्वभावमा ठूलो परिवर्तन आयो। उनको मुड कतिबेला कस्तो हुन्छ भनेर कसैले अनुमान लगाउन सक्तैनथे। उनी नयाँ मान्छेहरू देख्नासाथ शंकास्पद दृष्टिले हेर्ने गर्थिन्।

सधैँ साथीहरूसँग खेल्न मन पराउने कथरिन त्यो घटनापछि एक्लैएक्लै रहन थालिन्। स्कुल जान पनि मन नगरेपछि उनलाई घरमै पढाउने व्यवस्था मिलाइयो।

करिब तीन वर्ष घरमै बसेर पढेपछि आमाको आग्रहमा उनी फेरि स्कुल जान थालिन्।

गरेर नथाक्ने काम

स्नातक तहसम्म पुग्दा उनी विस्तारै मान्छेहरूसँग घुलमिल हुने, नयाँ साथी बनाउने, कार्यक्रममा भाग लिने भएकी थिइन्। यद्यपि कहिलेकाहीँ भने उनी आफ्नै नियन्त्रणबाहिर पनि जान्थिन्। उनलाई कुन कुराले रुवाउँछ, कुन कुराले हँसाउँछ भन्ने अनुमान लगाउन अझै पनि सकिँदैनथ्यो। उनी जब हाँस्थिन् मान्छेहरू यत्तिकै खुसी हुन्थे, जब उनी रुन्थिन् कारण नै थाहा नभई देख्ने मान्छेका पनि आँखा बग्न थाल्थे।

कलेज पढ्दै गर्दा उनले साथीहरूसँग मिलेर बनाएको एउटा नाटकमा अभिनय गरिन्। जहाँबाट उनलाई अभिनयको भूत चढ्यो। उनलाई लाग्न थाल्यो, ‘यदि कुनै काम छ जुन म जति गरेर पनि थाक्दिनँ भने त्यो यही हो।‘ उनले चाहेको कुरा गर्न परिवारले पनि कहिल्यै रोकेन। बरु उनको पछाडि मेरुदण्ड बनेर उभियो।

औपचारिक अभिनय यात्रा

स्नातक तहको पढाइ सकेपछि उनी एडविन एच नफलाई खोज्दै बाल्टिमोर पुगिन् जो स्टक थिएटर कम्पनी चलाइरहेका थिए। नफको बारेमा उनले कलेज पढ्दादेखि नै सुन्दै आएकी थिइन्।

अभिनयलाई लिएर कथरिनको उत्सुकता देखेर प्रभावित नफले उनको नाटक ‘द जरिना’मा सानो रोल दिए। जहाँबाट कथरिनको अभिनय यात्राको औपचारिक सुरुवात भयो। 

पहिलो प्रस्तुतिबाट सबैको वाहवाही पाएकी उनलाई नफले दोस्रो नाटकमा अलि लामो भूमिका दिए। जसमा उनको आवाजलाई लिएर धेरैले आलोचना गरे। आफूले सिक्न बाँकी रहेछ भन्ने थाहा पाएपछि आवाजको कक्षा लिन उनी बाल्टिमोर छोडेर न्युयोर्क गइन्। 

असफलताको लामो शृंखला

पहिलो प्रस्तुतिबाट कथरिनमा धेरै सम्भावना देखेका नफले आफ्नो ड्रिम प्रोजेक्ट ‘द बिग पोण्ड’ जो न्युयोर्कमै मञ्चन हुँदै थियो त्यसमा कथरिनलाई नै लिड रोल अफर गरे। ​कथरिनका लागि नफले पहिलेदेखि नै रिहर्सलमा रहेकी अर्की कलाकारलाई हटाएका थिए। 

सोको पहिलो दिन उनले नाटकका संवाद राम्रोसँग भन्न सकिनन्। जति भनिन् त्यो पनि बिग्रियो। जसले गर्दा उनलाई दोस्रो सो गर्न दिइएन। पहिलेकी कलाकारलाई फेरि बोलाइयो। 

त्यसपछि हेपवर्नको भेट त्यतिबेलाका वरिष्ठ रंगकर्मी अर्थर होपकिन्ससँग भयो। होपकिन्सले उनलाई आफ्नो नाटक ‘दिज डेज’मा एउटा स्कुले केटीको भूमिका दिए। जसमा हेपवर्नलाई आफूलाई जसरी पनि साबित गर्नु थियो। तर, नाटक फ्लप भयो। दुई हप्ताभन्दा बढी मञ्चन गर्ने भनिएको उक्त नाटक आठ दिनमा नै बन्द गर्नुपर्ने भयो। 

त्यसपछि समर स्टक नाट्य समूहसँग केही नाटकमा काम गरेकी उनलाई सन् १९३१ मा फिलिप बेरीले ‘अ एनिमल किङडम’ नामक नाटकको लागि प्रस्ताव गरे। उनलाई यो नाटकबाट धेरै अपेक्षा थियो। लगातारको असफलताले उनलाई अत्याइसकेको थियो। तर, पनि यही क्षेत्रमा केही गर्छु भनेर उनी लागिरहेकी थिइन्।

केही दिन नाटकको रिहर्शल भइसकेपछि उनलाई नाटकबाट फेरि निकालियो। उनले बेरीलाई सोधिन्, ‘मलाई किन निकालियो’ भनेर। त्यसको उत्तरमा बेरीले भने, ‘नढाँटी भन्दा तिमी राम्रो गरिरहेकी छैनौ। यो नाटक तिम्रो क्षमताभन्दा बाहिरको छ।‘ कथरिनको लागि त्यो जवाफ अनपेक्षित थियो।

त्यसअघि पनि उनी 'डेथ टेक्स अ होलिडे', 'अ मन्थ इन द कन्ट्री' जस्ता नाटकमा अनुबन्ध भइसकेपछि निकालिएकी थिइन्। उनलाई निकाल्ने निर्देशक उनको स्वभाव, बोल्ने तरिकालाई लिएर प्रश्न गर्थे। ‘तिमी अभिनय गर्न सक्दिनौ अरू कुनै पेसा खोज’समेत भन्थे। 

कोसे ढुंगो

सन् १९३२ मा ‘द वरियर्स हजबेण्ड’ नामक नाटकको लागि कलाकारको माग भयो। कथरिन पनि सानो रोलका लागि नाटकमा छानिइन्। रिहर्शलको बेला लिड रोल गरिरहेकी कलाकार अनुपस्थित भएपछि उसको संवाद कथरिनलाई बोल्न लगाइयो। त्यसपछि निर्देशकले उनलाई नै लिड रोलमा राखे। 

उनी नाटकको लागि यसरी खटिइन् जस्तो कि त्यो नाटक उनको जिन्दगीकै अन्तिम नाटक हो। उनले आफू र आफूले निभाइरहेको चरित्रमा एउटा उस्तै ऊर्जा भेटिन्। त्यही नाटक उनको अभिनय करिअरको कोसेढुंगा पनि सावित भयो। उक्त नाटक न्युयोर्कको मोरोस्को थिएटरमा तीन महिनासम्म चल्यो। 

हलिउड प्रवेश

‘द वरियर्स हजबेण्ड’ हेरेका निर्माता लेल्याण्ड हेवार्डले कथरिनको बारेमा निर्देशक जर्ज कुकोरलाई सुनाए जो ‘बिल अफ डिभोर्समेन्ट’ नामक फिल्मको लागि कलाकार खोजिरहेका थिए। कुकोरलाई पनि मनपरेपछि उनले कथरिनलाई फिल्मको लागि प्रस्ताव राखे। 

कथरिनको लागि त्यो अवसर त ठूलो थियो तर उनी सस्तो भने बन्न चाहन्‍नथिन्। ‘द वरियर्स हजबेण्ड’बाट आफ्नो क्षमता थाहा पाइसकेकी उनले पहिलो फिल्मको लागि नै एक हप्ताको पारिश्रमिक १५ सय अमेरिकी डलर तोकिन् जुन त्यो समयका चल्तीका अभिनेत्रीहरूको लागि पनि ठूलो रकम थियो। तर, कथरिनको क्षमताको अन्दाज लगाएको आरकेओ फिल्म्सले त्यो सम्झौता गर्‍यो। 

बिल अफ डिभोर्समेन्ट हेपवर्नको पहिलो फिल्म बन्यो। त्यसपछि लगातार उनलाई फिल्मको अफर हुन थाल्यो। कुनै समय ‘अभिनय तिम्रो लागि होइन’ भन्दै नाटकबाट निकालिएकी उनी अब रोजेर फिल्म खेल्न थालिन्।

कथरिन् र ओस्कार

सन् १९३३ मा प्रदर्शनमा आएको लोवेल सरम्यान निर्देशित ‘ग्लोरी मर्निङ’ उनको तेस्रो फिल्म हो। जसबाट उनले उत्कृष्ट अभिनेत्रीको रूपमा ओस्कार अवार्ड हात पारिन्। 

त्यसपछि पनि ‘अलाइस एडम्स’, ‘वुमन अफ दि इयर’, ‘द अफ्रिकन क्विन’, ‘द रेन मेकर’ जस्ता फिल्मबाट मनोनयनमा परेकी उनले सन १९६७ को ‘गेस हु इज कमिङ टु डिनर’, १९६८ को ‘द लियोन अफ विन्टर’ र १९८१ को ‘अन गोल्डेन पोण्ड’ बाट उत्कृष्ट अभिनेत्रीको रूपमा थप तीनवटा ओस्कार जितिन्। 

चारवटा ओस्कार अवार्ड हात पार्ने उनी पहिलो र एक मात्र कलाकार हुन्।

सन् २००३ मा ९६ वर्षको उमेरमा कथरिनको निधन भयो। ६६ वर्षको अभिनय करिअरमा उनले ४४ वटा फिल्म, ३३ वटा स्टेज नाटक र ८ वटा टिभी सिरिजमा काम गरिन्। 

फिल्मका पारखीहरू कथरिनको ठाउँ लिन सक्ने कलाकार विश्व सिने इतिहासमा आजसम्म पनि कोही नजन्मिएको मान्छन्।

कुनै समय लगातारको असफलताले गर्दा अभिनय करिअर नै छोड्ने अवस्थामा पुगेकी कथरिन पछि इतिहासकै सबैभन्दा सफल अभिनेत्री बनिन्।

उनी सधैँ आफ्नाे सिद्धान्तमा बाँच्न मन पराउँथिन्। चाहे त्यसले सफलता दियोस् या असफलता। उनी भन्ने गर्थिन्, ‘यदि तिमीले आफूलाई मन लागेको काम गर्‍यौ भने कम्तीमा एउटा मान्छे सधैँ खुसी हुनेछ।‘

एजेन्सीकाे सहयाेगमा​​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.