संघीयता विरोधीदेखि राजतन्त्रका पक्षधरसम्म

|
फाइल फोटोः दीपक केसी/थाहाखबर

काठमाडौं : व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओली परिवर्तन विरोधी भएकाले समर्थन फिर्ता लिएको दावी गरे। अविश्वासको प्रस्ताव पेश गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको संघीयता, गणतन्त्र विरोधी र धर्मनिरपेक्षता विरोधीसँग साँठगाँठ रहेको आरोप लगाए। 

प्रधानमन्त्री ओलीसँग अहंकार र दम्भ देखिएको भन्दै प्रचण्डले आफूहरु सरकारमा रहँदा द्वन्द्वकालीन मुद्धामा फसाउन खोजिएको गुनासो भरे। प्रधानमन्त्री शान्ति प्रक्रिया विरोधी भएको समेत प्रचण्डले आरोप लगाए। पढ्नुस् प्रचण्डले प्रधानमन्त्री ओलीमाथि लगाएका ११ आरोपः 

१. एमालेबाट अफवाह फैलाइयो

'सरकारबाट समर्थन फिर्ता लिएसँगै बजारमा विभिन्न किसिमको अफवाह फैलाइएको छ। कुनै दल विशेषले राष्ट्रको प्रतिष्ठामाथि आँच आउने खालको गम्भीर किसिमको हल्ला फिँजाइएको छ। कसैको राजनीतिक निष्ठा र आस्थामाथि अनर्गल रुपमा प्रचारबाजी गर्ने काम भएको छ', एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै प्रचण्डले संसद‍्मा भने, ‘बजारमा त्यस्तो हल्ला फिँजाउने काम कोही कसैबाट नहोस् र नगरियोस्।’

२. प्रधानमन्त्रीले माओवादीलाई भर्‍याङ मात्रै सम्झे

प्रधानमन्त्री केपी शर्मा ओलीसँग मेरो कुनै कटुता छैन। उहाँसँग बारम्बार भएको छलफलमा कुनै व्यक्तिगत छलफल पनि भएको छैन। हामीहरुबीचमा देश र जनताको समस्याप्रति केन्द्रित भएरै छलफल भयो। खासगरी सरकारको नेतृत्व गर्ने एमाले अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र हामी माओवादी केन्द्रबीच गम्भीर सोचहरुको अन्तर थियो। समयक्रमसँगै त्यो अन्तर घट्छ या बढ्छ भन्ने कुरा ठूलो थियो। ९ महिनामा तिनका प्रकृति ठूलो रहेछ र प्रधानमन्त्रीको काम गर्ने शैलीमा अन्तर रहेछ भन्ने मैले अनुभूति गरे।

हामी अप्ठ्यारो स्थितिमा यो समीकरण बनाएर अघि बढेका थियौं। संविधान निर्माणको कुरा होस्, भूकम्पपछिको पुनर्निर्माण, आन्दोलनरत पक्षको माग सम्बोधनको कुरा होस् या नाकाबन्दीको सामना गर्ने कुरा होस् हामीबीच धेरै छलफल भयो। समीकरण बनाउँदै गर्दा भएको प्रतिबद्धतालाई प्रधानमन्त्रीले बिर्सँदै जानुभयो, या अवमूल्यन गर्नुभयो अर्थात माओवादीलाई प्रधानमन्त्रीले भर्‍याङको रुपमा मात्रै प्रयोग गरेको कुरा ९ महिनाको अवधिमा मैले प्रत्यक्ष अनुभूति गरे। उहाँले माओवादीलाई प्रयोग मात्रै गर्ने र 'इगो' को रुपमा लिनुभयो।  

३. ओली एकल ढंगबाट अघि बढे

सरकार बनेदेखि नै ओलीजी म आफै पूर्ण छु भन्ने स्थितिबाट अघि बढ्नुभएको हो कि जस्तो महसुस मैले गरेको छु। सरकार माओवादी केन्द्र लगायतका दलको सामुहिक समर्थनमा बनेको हो र यो संयुक्त सरकार निश्चित प्रतिबद्धतासहित बनेको हो भन्ने कुरा प्रधानमन्त्रीज्यूले कहिले पनि बुझ्नुभएन। यो सरकार एकल सरकार हो भन्नेतिर मात्रै उहाँ केन्द्रित हुनुभयो। त्यसैले उहाँले राष्ट्रका अगाडि देखिएको समस्या समाधानका निम्ति अन्य राजनैतिक दलको सल्लाह लिने काम समेत कहिले पनि गर्नुभएन। 

४. ओली पूँजीवादी राष्ट्रियताको पक्षधरता

विगदेखि हालसम्म हामी राष्ट्रिय स्वाधीनताको कुरा झेल्दै यहाँसम्म आइपुगेका छौँ। अहिले आएर मलाई के लाग्यो भने राष्ट्रियताको सवालमा हामीले धारणा बनाउन बाँकी नै रहेछ। हाम्रो देशमा पूँजीवादी वर्गले फैलाइएको एक किसिमको राष्ट्रवाद छ तर यहाँका मजदुर वर्गको पक्षमा अहिलेसम्म राष्ट्रवाद छैन। मजदुर वर्गको पक्षमा बनेको राष्ट्रवाद मात्रै सच्चा राष्ट्रवाद हो। तर प्रधानमन्त्रीज्यूले पूँजीवादी वर्गको राष्ट्रवादलाई अवलम्बन गरेको मैले महसुस गरे। प्रधानमन्त्रीले आन्तरिक राष्ट्रिय एकतालाई बलियो बनाउनुको साटो निश्चित वर्गलाई काखी च्यापेको मैले देखेँ। आन्तरिक राष्ट्रियतालाई नयाँ ढंगबाट कसरी बढाउन सकिन्छ भन्ने विषयमा बहस हुन जरुरी छ। निश्चित वर्गलाई 'इरिटेसन' गर्ने जुन समस्या देखियो त्यसमाथि गम्भीर रुपमा बहस गर्न जरुरी छ। 

५. संघीयता विरोधीसँग विशेष प्रेम, राजतन्त्र पक्षधरतासँग लगाव 

प्रधानमन्त्रीज्यूले सार्वजनिक रुपमा र मन्त्रिपरिषद्को बैठकमा पनि बारम्बार भनिरहनुभयो कि, ‘मलाई संघीयता मन परेको छैन, यो मैले बाध्य भएर स्वीकारिएको मात्रै हो।’ उहाँले यसो भन्दै गर्दा मैले संघीयता मन नपराउनेसँग उहाँको विशेष प्रेम भाव देखियो। मनोवैज्ञानिक र भावनात्मक रुपले हेर्दा प्रधानमन्त्रीलाई गणतन्त्र पनि त्यति मन परेको छैन। राजतन्त्र चाहिन्छ भन्नेसँग उहाँको राम्रै लगनगाँठो देखिन्छ। समानुपातिक समावेशी बेकार हो भन्ने उहाँलाई लागेको रहेछ।

६.माओवादी सिद्धिन्छ भन्ने मात्रै सोचियो

सरकार बनेपछि र बन्नुपूर्व एमाले–माओवादीबीच केही कार्यशैली र सोचमा अन्तर थियो तर मैले त्यो घट्दै जाला, सम्बन्ध सुधिँदै जाला, माओवादी र एमालेबीचमा तालमेल हुँदै अन्ततः एउटै कम्युनिस्ट केन्द्र बन्छ भन्ने विश्वास लिएको थिए। सरकार बन्नपूर्व र बन्दै गर्दा हामीले गरेको त्यो विश्वास हामीले बिर्सियौँ। माओवादी सरकारमा बसे पनि सिद्धिन्छ बाहिरिए पनि सिद्धिन्छ भन्ने प्रधानमन्त्रीमा सोच भएको मैले पाएँ। प्रधानमन्त्रीको त्यो सोचले हामीबीचमा ठूलो अन्तर ल्याएकै हो।

७. मधेसी मोर्चाको मागलाई बेवास्ता

सरकारमा सहभागी भएदेखि नै माओवादीले मधेसी मोर्चा लगायतका आन्दोलनरत पक्षको माग सम्बोधनको उठाउँदै आयो। त्यसका लागि प्रधानमन्त्रीले औपचारिक रुपमा पत्र पनि काटियो तर मधेसी मोर्चाको माग सम्बोधन गर्ने विषय उहाँको प्राथमिकतामा परेन अर्थात मधेसी मोर्चाको मागलाई उहाँले बेवास्ता गर्नुभयो।

८. मन्त्रालयको नियुक्तिमा हस्तक्षेप

एकदिन ओलीजीले मसँग भन्नुभयो, ‘तपाईका पार्टीका मन्त्रीहरुले टेर्नै छाड्नुभयो, गृहमन्त्रीले त झन् पत्याउँदै पत्याउँदैनन्, म त निरिह बनेको छु।’ त्यसपछि मैले भने, ‘निरिह त तपाई होइन म भएको छु, हाम्रो पार्टीको मन्त्रालयमा हस्तक्षेप पनि तपाईले नै गर्नुभयो, बजेटमा पनि त्यस्तै।’ 

९. भाषण गरेजस्तो सजिलो छैन कार्यान्वयन 

९ महिनासम्म प्रधानमन्त्रीले भाषण मात्रै गरे। ९ महिनापछि प्रधानमन्त्रीलाई याद भयो होला कि देश भाषणबाट मात्रै नचल्दो रहेछ। चाहे त्यो पानीजहाज खरिद गर्ने कुरा होस्, चाहे पाइपलाइन ग्यास त चाहे रेल गुडाउने कुरा नै किन नहोस्, बोले जस्तो कार्यान्वयन गर्न सजिलो रहेनछ भन्ने कुरा प्रधानमन्त्रीले बुझिसक्नुभयो। बरु सरकार गए पनि हुन्छ भन्ने उहाँले सोच्नुभयो। मलाई लाग्छ प्रधानमन्त्री थाकिसक्नुभयो। 

१०. शान्तिप्रक्रियाका विरोधी

एमालेसँग गठबन्धन जोड्नुपूर्व हामीबीच निश्चित प्रतिबद्धता र सहमति भएको थियो। माओवादीको मुख्य चिन्ता शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउने हाम्रो सहमति थियो। तर प्रधानमन्त्रीले त्यसलाई कहिल्यै पनि गम्भीर रुपमा लिनुभएन। चाहे गोरखाका काण्ड होस् चाहे ओखलढुंगा, हामी सरकारमा हुँदाहुँदै प्रधानमन्त्रीले माओवादीलाई फसाउन मात्रै खोज्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.