|

काडमाडौं : सन् १९१७ देखि २३ सम्म चलेको रुसी क्रान्तिमा झण्डै एक करोड मानिसले ज्यान गुमाए। यसलाई सबैभन्दा धेरै मानिसको ज्यान लिएको जनयुद्धको रुपमा पनि लिइन्छ। ज्यान गुमाउनेमा झण्डै ८० प्रतिशत सर्वसाधारण थिए।

त्यत्रो ठूलो क्रान्ति पछिको सर्वसाधारणको स्थितिलाई लिएर बेलायती लेखक जर्ज अरवेललाई केही लेख्न मन लाग्यो। 

उनको दिमागमा केही जनावरहरू जन्मिए अनि बन्यो एउटा 'एनिमल फार्म'। फार्ममा साना मुसादेखि भेडा, गाई, घोडा, सुँगुरलगायत जनावर रहन थाले। अरवेलको दिमागमै जनावरहरूले क्रान्ति र मान्छेको जस्तो राजनीति गर्न थाले।

सन् १९४५ अगस्ट १७ मा अरवेलको काल्पनिक एनिमल फार्म एउटा उपन्यास बनेर आयो। 

सन् १९१७ को घटनाबाट प्रभावित भएर लेखिएको उपन्यास सार्वजनिक हुँदा संसार दोस्रो विश्व युद्धमा थियो।

यसपछि नेतृत्वमा कस्ता मान्छे आउँछन्, सर्वसाधारणको जीवन कस्तो हुन्छ भन्ने चासोको विषय थियो।

अरवेलको 'एनिमल फार्म' र त्यहाँका जनावरको कथा उपन्यासका रुपमा सार्वजनिक हुँदा पनि उत्तिकै सान्दर्भिक थियो।

त्यतिवेला मात्रै होइन किताब सार्वजनिक भएको समयदेखि आजसम्म सधैं यो कथा कहीँ न कहीँ सान्दर्भिक नै छ।

अरवेलको 'एनिमल फार्म'का जनावरहरू किताबबाट निस्केर संसारका विभिन्न कुनामा रहेका नाटकघरमा पनि देखिन थाले।

ती जनावर जहाँ जहाँ पुगे त्यो कथा त्यहीँको हो भन्ने भयो। त्यसैले पनि अरवेलको 'एनिमल फार्म' एउटा कालजयी उपन्यास बन्यो।

अरवेलका तिनै जनावर अहिले काठमाडौंको कौसी थिएटरमा आएका छन्। 

यतिवेला राजधानीको टेकुस्थित कौसी थिएटरमा नाटक 'एनिमल फार्म'को अन्तिम तयारी चलिरहेको छ।

अरवेलको उपन्यासमा आधारित नाटकलाई भारतका प्रशान्त नायरले नाट्य रुपान्तरण गरेका हुन्। त्यसको अनुवाद तथा निर्देशन आकांक्षा कार्कीले गरेकी हुन्। 

यसअघिका नाटकमा यस्ता पात्रको चरित्र निर्वाह नगरेकाले सुरुमा अलिकति गाह्रो भएको भेडाको भूमिकामा देखिँदै गरेकी सेबिता अधिकारी बताउँछिन्।

उनी भन्छिन्, 'भेडाको शारीरिक चाल, बोल्ने तरिका तथा अरु जनावरसँग कस्तो व्यवहार गर्छ भन्ने लगायतका कुराहरूको अध्ययन गरेँ,' भेडा बन्ने तयारी गरिरहँदा भेडा बनेर आफूले मान्छेहरूकै कथा भन्नुपर्ने कुरा पनि सम्झेको उनी बताउँछिन्। 

साथै यो नाटकको काम सुरु भएपछि आफूले निभाइरहेको पात्र भेडासँग मेल खाने धेरै मान्छे वास्तविक जीवनमा पनि रहेछन् भन्ने कुरा महसुस भएको उनी बताउँछिन्। 

उनी भन्छिन्, 'एउटा दर्शक भएर हेर्दा म नाटकका धेरै जनावरहरूमा आफूलाई पाइरहेकी हुन्छु। खासमा हामी समय र परिवेशअनुसार फरक फरक हुँदारहेछौँ। कसैको लागि नेपोलियन सुँगुर, कसैको लागि भक्त घोडा, कतै भेँडा पनि भएको हुन सक्दो रहेछु।' 

साथै देशको राजनीतिक अवस्थासँग मात्र नभएर शक्ति र नेतृत्वको लडाइँ हुने त्यो हरेक ठाउँको प्रतिबिम्ब यो नाटकमा देख्न सकिने उनी बताउँछिन्। 

त्यस्तै नाटकमा बच्चा घोडी बनेकी विनिता गुरुङ यो नाटकले आफैंलाई पनि एकपटक राम्रोसँग ऐनामा हेर्न बाध्य बनाएको बताउँछिन्। 

'जे कुरा हामी नाटकमा देखाइरहेका छौँ, त्यसको सिकार म आफैं पनि भएको छु। धेरै पटक,' उनी भन्छिन्, 'म आफैं पनि त्यही त गरिरहेकी छैन जसको शिकार म भएँ? भनेर आफूलाई हेरिरहेकी हुन्छु। यो जरुरी पनि छ।' 

यो नाटकको रिहर्सल सुरु भएपछि मान्छे, जनावरहरू र आफैंलाई पनि हेर्ने दृष्टिकोणमा फरक पाएको उनी बताउँछिन्। 

यस्ता घटना हरेक दिन हाम्रो समाजमा भइरहेकै हुन्छन्। उदाहरणका लागि हामी हाम्रा राजनीतिक नेतृत्वलाई हेर्न सक्छौँ।

उनी भन्छिन्, 'मलाई पहिले राजनीतिका कुरा गर्न मन पर्दैनथ्यो। कसैले केही सोधिहाले मलाई राजनीति मन पर्दैन भन्थेँ। तर, बुझ्नुपर्ने रहेछ। कुरा गर्नुपर्ने रहेछ। जसलाई हामीले हाम्रो नेता बनाएर पठाएका छौँ, उनीहरूले हामीलाई झुक्याइरहेका त छैनन्? ख्याल गर्नुपर्दो रहेछ।'

यो नाटक राजनीतिक रुपमा मात्र नभएर सामाजिक तथा व्यक्तिगत तवरबाट पनि हाम्रो वास्तविक जीवनसँग मेल खाने निर्देशक कार्की बताउँछिन्।

उनी भन्छिन्, 'हाम्रो जीवनमा जुन किसिमको राजनीति, खेल, षड्यन्त्र भइरहेको हुन्छ त्यो नाटकमा छ। पहिले ठिक लागेको मान्छे पावरमा पुगेपछि करप्ट भइरहेको हुन्छ। हामी बेलाबेलामा आफैंलाई चेक इन गरिराख्नु पर्छ।'

नाटकमा भेडा र घोडीलगायत गाई, गधा, कुखुरा, हाँस, काग, मुसालगायत पात्र छन्। जसले फरक फरक आचरण भएका मानिसहरूको नेतृत्व गरेका छन्। 

नाटकमा प्रकाश परिकल्पना इँगिहोपो कोइँच सुनुवारको छ भने प्रकाश परिचालन क्षितिज पराजुलीले गर्दैछन्।

त्यस्तै ध्वनि तथा संगीत स्तोत्रम् (शिव कँडेल, मनिष नौबाघ)को छ भने वेशभूषामा सञ्जिता पराजुली र प्रप्समा कृपा खड्गी, जेनी सुनुवार र साकिरा थापा छन्। 

नाटकमा प्रयोग भएका हेडगियर सजन थापा मगरले बनाएका हुन् भने मञ्च परिकल्पना निर्देशक कार्कीकै हो। 

मंसिर १४ मा मञ्चन सुरु हुने नाटक पुस ३ गतेसम्म चल्नेछ। 

तस्वीर: कथा घेराकाे फेसबुक पेजबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.