पलायन हुनेको लर्कोले पनि घटायो जनसंख्या वृद्धिदर

|

काठमाडौँ : गाउँहरू रित्तिएका खबरहरू सार्वजनिक भइरहेका छन्। यसै पनि अचेल गाउँमा वृद्धवृद्धाहरू मात्र रहेको चर्चा सुनिँदै आइएको छ।

गाउँमा अचेल युवाहरू भेट्न मुस्किल छ। उनीहरू अध्ययन र अवसरको खोजीमा गाउँ छोडिरहेका छन्। उनीहरूको पाइला शहरमा मात्र अडिएको छैन।

उनीहरू तराईका नाका हुँदै भारत र तेस्रो मुलुक पुगिरहेका छन् भने कोही त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट परदेश भासिएका छन्। अध्ययन, रोजगारी वा बसाइँसराइ गरेर जानेहरू बढ्दो छ‚ घट्दै छैन।

अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा जति भिड हुन्छ, त्यति नै भिड आगमनतर्फको कक्षमा देखिँदैन। यो निकै निराशाजनक अवस्था हो।

केही दिनअगाडि एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। विदेश जान अन्तरराष्ट्रिय विमानस्थल पुगेका एक युवाले भनेका थिए, ‘म खुशी छु। किनभने मैले देश छोड्दै छु।‘

आफ्नो मुलुक छोडेर अर्को मुलुकमा जानुपर्ने बाध्यता हुँदा पनि युवाहरू खुशी हुनुपर्ने अवस्था सिर्जना भएको छ। यसको मुख्य कारण हो देशमा अवसरहरू गुम्दै जानु वा हराउँदै जानु।

गत जनवरीमा नेपालबाट १ लाख ४२ हजार ८६ जना नेपाली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै विदेश प्रस्थान गरे। सोही अवधिमा स्वदेश फर्किने कुल नेपालीको संख्या १ लाख २५ हजार ८६५ छ। अर्थात् एक महिनामा विदेशिनेको संख्याभन्दा स्वदेश फर्किनेको संख्या १६ हजार २२१ ले थोरै छ।

केही दिनअगाडि केन्द्रीय तथ्यांक विभागले जारी गरेको तथ्यांकमा २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। यो आँकडा २०६८ को भन्दा २६ लाख ९७ हजार ९७६ लेमात्र बढी हो।

झट्ट हेर्दा जनसंख्या बढेको देखिए पनि बिर्सिन नहुने कुरा के भने नेपालको जनसंख्या वृद्धिदर भने पछिल्लो दशकको भन्दा शून्य दशमलव ४३ प्रतिशतले घटेको छ।

१० वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले वृद्धि भई २६ लाख ९७ हजार ४८४ जना व्यक्ति थपिएका छन्। भौगोलिक क्षेत्रअनुसार १० वर्षमा हिमाली क्षेत्रमा ०.२३ प्रतिशतले जनसंख्या घटेको देखिन्छ भने पहाडी क्षेत्रमा ३.११ प्रतिशतले र तराई क्षेत्रमा १७.६२ प्रतिशतले जनसंख्या बढेको देखिन्छ।

तथ्यांक विभागको विवरणअनुसार ७७ मध्ये ३२ जिल्लाको जनसंख्या त ऋणात्मक रहेको जनाइएको छ। सुविधायुक्त क्षेत्र खोजेर बसाइँसराइ गर्नेदेखि विदेश पलायनको दरले तीव्रता पाउँदा ३२ जिल्लाको जनसंख्या ऋणात्मक भएको विभागले जनाएको छ।

सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप (–१.६७ प्रतिशत) रहेका छन्।

यस्तै, खोटाङ, मनाङ, भोजपुर, तेह्रथुम, गुल्मी, स्याङ्जा, अछाम र अर्घाखाँचीको जनसंख्या घटिरहेको छ। जसको जनसंख्या ऋणात्मक हुने दर १ प्रतिशतभन्दा माथि रहेको छ।

पर्वत, पाँचथर, सिन्धुपाल्चोक, लमजुङ, धनकुटा, दोलखा, पाल्पा, गोरखा, बाग्लुङ, ताप्लेजुङ, म्याग्दी, नुवाकोट, ओखलढुंगा, धादिङ, काभ्रे, इलाम, दैलेख, बझाङ, डोटी, बैतडी, डडेल्धुरा, सल्यान र सोलखुम्बुमा १० वर्षअघिको तुलनामा जनसंख्या घटेको तथ्यांकले देखाएको छ।

विदेश पलायनको तथ्यांक कहालीलाग्दो

अध्यागमन विभागबाट प्राप्त तथ्यांकअनुसार सन् २०२३ मा १६ लाख ३ हजार ८३६ जना नेपाली विदेश गएका थिए।

जसमा नेपालीहरूको प्रमुख गन्तव्य दुबई बनेको छ। यो वर्ष करिब २ लाख ७१ हजार ८८ जना नेपाली दुबई पुगेका छन्।

दोस्रोमा भारत रहेको छ। १ लाख ८० हजार ६०२ जना नेपाली भारत पुगेका छन् भने कतार १ लाख ७९ हजार ४४१ जना, मलेसिया १ लाख ६४ हजार २०१ जना, साउदी अरेबिया १ लाख ३६ हजार २०३ जना, अष्ट्रेलिया १ लाख ५ हजार ३४३ जना, जापान ८२ हजार ७७२ जना र अमेरिका ६७ हजार ८१० जना नेपाली पुगेका छन्।

यसरी नेपालीहरू विभिन्न कामका लागि करिब ४ हजार ४५५ जना दैनिक विदेशिने गरेका छन्।

विभागले दिएको तथ्यांकअनुसार यो वर्ष करिब १२ लाख ३२ हजार ५९ जना नेपाली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै फर्किएका छन्। यसरी औसतमा दैनिक ३ हजार ४ सय नेपाली दैनिक स्वदेश फर्किने गरेका छन्।

गत जनवरीमा करिब १ लाख १२ हजार ७५५ जना नेपाली स्वदेश फर्किएका थिए भने डिसेम्बरमा १ लाख ८ हजार ३५१ जना नेपाली स्वेदश फर्किएका थिए।

विदेश जाने र स्वदेश फर्किने दैनिक तथ्यांक हेर्ने हो भने संख्यामा करिब १ हजारको फरक देखा पर्छ। समग्रमा हेर्ने हो भने जाने र आउनेको संख्या ३ लाख ४० हजार ३६७ ले तलमाथि देखिएको छ।

स्थायी रूपमा विदेश बस्नेहरूको लर्को

तथ्यांक विभागका अनुसार हाल नेपालमा ६ लाखभन्दा बढी घर रित्तो अवस्थामा रहेका छन्।

अध्यागमन विभागले दिएको जानकारीअनुसार गत वर्ष करिब ७० हजार नेपालीले विदेशमा नै स्थायी बसोबास गरेका छन्। त्यस्तै, ९१ हजार ३४९ जना अस्थायी बसोबासका लागि विदेश गएको उल्लेख छ।

तथ्यांक विभागले पछिल्लो ५ वर्षमा १ लाखमा ३ हजार ७५२ जना विदेशमा बसाइँसराइ गरेको जनाएको छ। 

बढ्दो पलायनले देश निर्माणमा कार्यमा, अर्थतन्त्रमा, रोजगारी सिर्जना र अवसरहरूको सदुपयोगमा ठूलो नकारात्मक असर पारेको छ। यतिसम्म कि अहिले निर्माणका लागि बाहिरबाट कामदार ल्याउनपर्ने अवस्था रहेको छ।

निर्माण व्यवसायी महासंघका अनुसार १० वर्षअघिसम्म नेपालभित्र निर्माण क्षेत्रमा कम्तीमा १५ लाख मजदुर कार्यरत रहेको अनुमान थियो तर जनसंख्या वृद्धि हुँदा पनि निर्माण क्षेत्रमा नेपाली मजदुरको संख्या घटेको छ‚ बढेको छैन।

महासंघको अनुमानमा १० वर्षअघि भारतीयसहित ५ लाख हाराहारीमा विदेशी कामदार कार्यरत रहेकोमा अहिले भारतीय कामदारकै संख्या ८ लाख हाराहारी पुगेको छ।

बढ्दो असन्तुलनले गम्भीर असर पार्न सक्छ

बढ्दो शैक्षिक अवस्था, घट्दो प्रजनन दर, बढ्दो बाह्य स्थायी र अस्थायी बसाइँसराइ, सामाजिक चेतनामा वृद्धि, लैंगिक विभेदमा आएको कमी तथा विवाहको सरदर उमेर बढ्दा जनसंख्या वृद्धिदर रोकिएको विज्ञहरूको बुझाई छ।

जनसंख्या वृद्धिदर घटेर आर्थिक वृद्धिमा भने खास असर नगर्ने तथ्यांक विभागका निर्देशक गणेश आचार्य बताउँछन्। तर बढ्दो बसाइँसराइ र पलायनका कारणले भने सामाजिक संरचनाहरूमा ठूलो फेरबदल हुने स्पष्ट भएको बताए।

नेपालमा युवाहरूको बढ्दो पलायनको तथ्यांकले देशको युवा शक्ति रित्तिने संकेत स्पष्ट रहेको छ। यसले गाउँ वा देश मात्र रित्तिरहेको छैन। यसले हाम्रा  सामाजिक मूल्य र मान्यताहरू, सांस्कृतिक संरचनाहरूमा कतै न कतै कमजोर बनिरहेको प्रष्ट छ।

तथ्यांक विभागअन्तर्गत जनसंख्या शाखाका निर्देशक डुण्डीराज लामिछानेले घट्दो जनसंख्या वृद्धिदरले सामाजिक असन्तुलन बढ्ने बताए।

‘हामीकहाँ जनसंख्या वृद्धिदर घट्नुको अर्थ कालान्तरमा युवाहरू कम हुनु हो। तिनै युवाहरू पनि विदेश पलायन हुँदा, देशमा प्रौढको संख्या बढ्न सक्ने देखाउँछ’, उनले भने, 'युवाहरूलाई रोक्न सकियो भने जनसंख्या वृद्धिदर बढ्न सक्छ भने त्यसबाहेक सामाजिक र सांस्कृतिक संरचनाहरु बलियो बन्न सक्छन्।'

एकातिर जन्मदर घट्ने र अर्कोतर्फ समान रुपले बसाइँसराइ नहुनुले जटिलता थपिने देखिएको छ। जनसंख्याको असमान वितरणले राजनीतिक वा भौतिक रूपले केही क्षेत्र शक्तिशाली हुने र अरू क्षेत्र कमजोर हुन सक्छन्। 

समाजशास्त्री दिनेश प्रसाईले कुनै पनि व्यक्ति आफ्नो क्षमता विकास गर्न चाहन्छ र सदैव नयाँ नयाँ अवसरको खोजी गरिरहने भएकाले जतिसुकै अवसरको सिर्जना गरे पनि बसाइँसराई राज्यले रोक्न नसक्ने बताउँछन्। तर पलायनलाई कम गर्न भने सकिने उनले थाहाखबरसँग केही दिनअघि भनेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.