|

काठमाडौं : नेपालमा हाल ३० हजार ३ सय एचआइभी संक्रमित रहेका छन्। विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकार अन्तरसंवाद कार्यक्रममा उक्त जानकारी दिइएको हो।

त्यसमा झण्डै १० हजारभन्दा बढी उपचारमा नआएको अनुमान गरिएको छ। सरकारले सन् २०३० सम्म एड्सको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ। त्यसका लागि तीनवटा क्षेत्रमा ९५ प्रतिशत परिणाम ल्याउनुपर्ने छ।

पहिलो ९५ प्रतिशत एचआइभी संक्रमितले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउनुपर्ने‚ दोस्रोमा ९५ प्रतिशतमा उपचारको पहुँच हुनुपर्ने र तेस्रोमा औषधि खानेमा ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुनुपर्नेछ।

कार्यक्रममा बोल्दै केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले यो लक्ष्य पूरा गर्न सरकार लगायत सरोकारवाला सबै निकाय तथा मिडियाको पनि महत्वपूर्ण भूमिका हुने जनाइन्।

प्रत्येक वर्ष डिसेम्बर १ तारिखमा विश्वभर एड्स दिवस मनाउने गरिन्छ। योपटकको दिवसको नारा -‘असमानता हटाऔं, एड्स अन्त्य गरौं भन्ने’ रहेकाे छ। नेपालमा एचआइभी संक्रमण पत्ता लागेकै ३४ वर्ष पुगिसकेको छ। तैपनि अझै पनि समाजको डर यसबारे पर्याप्त जनचेतना नहुँदा तथा लाजका कारण ठूलो संख्यामा संक्रमितहरू खुलेर उपचारमा आउन नसकेको सरोकारवालाले बताएका छन्।

डा. देवकोटाले नेपालमा एचआएभी संक्रमितको उपचार र औषधिमा निकै प्रगति भएको भए पनि अझै  ठूलो संख्यामा संक्रमित खुलेर नआइदिँदा समस्या भएको बताइन्। उनले उपचारमा आएकाहरूलाई निरन्तरता दिएर राख्न सकिए पनि समाजको स्टिग्माको कारण केही संक्रमित उपचारमा नआउँदा त्यसले एड्स नियन्त्रण गर्ने लक्ष्यमा पुग्न चुनौती थपेको जिकिर गरिन्।

कार्यक्रममा केन्द्रका डा. पवनकुमार शाहले एचआइभी संक्रमितको उपचारमा नेपालले उल्लेख्य प्रगति गरेको जनाए। उनले कोभिड महामारीका वेला पनि संक्रमितको उपचारमा चाहिने सम्पूर्ण औषधि उनीहरूको घर घरमा पुर्‍याएर भए पनि उपचार नछुटाएको बताए।

यस्तै सन् २०१० मा २१५ जना बालबालिकामा सङ्क्रमण रहेकामा सन् २०२० मा पुग्दा ८० बालबालिकामा मात्र रहेको पाइएको छ। यस्तै सन् २०१० मा एड्सका कारणले १ हजार ४१३ जनाको निधन भएकोमा सन् २०२० मा पुग्दा ६३६ जनामा झरेको छ। 

उनले सरकारले एचआइभी र एड्स नियन्त्रणमा चालेका उपायले सङ्क्रमण दर घटेको बताए। उनका अनुसार सन् २०१० मा २ हजार ६१ जना नयाँ सङ्क्रमित पाइएकोमा सन् २०२० मा ७५४ जना मात्र पाइएको छ। नियमित उपचार, हेरचाह तथा सहयोग कार्यक्रमले एचआइभी सङ्क्रमण नियन्त्रण भइरहेको छ। 

सरकारले एचआइभी सङ्क्रमण रोकथामका लागि कण्डम प्रयोग प्रवर्धन, एचआइभी परामर्श र परीक्षण, यौनरोगको निदान र उपचार, एन्टी–रेट्रोभाइरल (एआरभी) सेवा प्रदान गरिँदै आइरहेको छ। नेपालमा अहिले एचआइभी सङ्क्रमितलाई ६१ जिल्लामा ८३ वटा एआरभी सेवा प्रदान गरिँदै आइरहेको छ। अहिले २० हजार ८८३ जनाले नियमित एआरभी सेवा औषधि सेवन गर्ने उनले बताए। यो सङ्ख्या कुल सङ्क्रमितको ६९ प्रतिशत हो। 
सङ्क्रमितमध्ये ०.१३ प्रतिशत वयस्कमा सङ्क्रमण रहेको छ। नेपालमा एचआइभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआइभी सङ्क्रमण दर ५ प्रतिशतभन्दा बढी र सामान्य जनसङ्ख्यामा एचआइभी सङ्क्रमण दर एक प्रतिशतभन्दा कम रहेको छ।

यस्तै सुईद्वारा लागुऔषध प्रयोग गर्नेमा तीन प्रतिशतका दरले सङ्क्रमण रहेको पाइएको छ। यस्तै महिला यौनकर्मीमा २.२ प्रतिशत, पुरुष समलिङ्गीमा ६.२ प्रतिशत, भारतमा काम गर्ने जाने नेपालीमा पश्चिममा ०.३ प्रतिशत र सुदूरपश्चिममा ०.६ प्रतिशत सङ्क्रमण पाइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.