|

पर्सा : वीरगन्जमा ‘मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्ट’ हुने भएको छ।

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगन्जले बुधबार पत्रकार सम्मेलन गरी व्यापार प्रवर्द्धन गर्न औद्योगिक तथा व्यापारिक नगरी वीरगन्जमा मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्ट गर्न लागेको जनाएको छ।

नेपाली युवा उद्यमीको जोश, जाँगर र प्रतिभा आदानप्रदान गरी मुलुकको आर्थिक विकासमा टेवा दिन एक्स्पो गर्न लागिएको संस्थाका अध्यक्ष अनुप अग्रवालले बताए।

युवा उद्यमीमा रहेको नयाँ सोच र उद्यम प्रवर्द्धन गर्न फागुन १२ देखि १५ गतेसम्म फेस्ट आयोजना हुने उनले बताए।

विदेशी उत्पादन नराखिने

एक्स्पोमा उद्यम र व्यापारमा लागेका युवालाई प्रभावकारी तालिम सञ्चालन गर्दै व्यापार व्यवसायका विभिन्न ज्ञान, सिप, अध्ययन र अनुसन्धान आदानप्रदान पनि गर्ने आयोजक एनवाइइएफले जनाएको छ।

यो मेलामा स्वदेशी सीप र उद्यमको प्रवर्द्धनबाहेक विदेशी उत्पादन नराखिने आयोजक संस्थाले बताएको छ।

स्वदेशी वस्तु तथा सेवा व्यवसायको मात्र प्रदर्शनी हुनेछ। कुल १ सय ३० स्टल राखिने एक्स्पोमा स्टलको साइज र ठाउँ हेरी ३० हजारदेखि ७५ हजारसम्म लिने तयारी भइरहेको आयोजक संस्थाका अध्यक्ष अग्रवालले बताए।

उत्पादक र ग्राहकबीच प्रत्यक्ष साक्षात्कार गर्ने र उपभोक्तालाई स्वदेशी उत्पादनबारे जानकारी दिन एक्स्पो गरिन लागेको आयोजक एनवाइइएफले जनाएको छ।

महासंघको पूर्ण साथ

मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्टमा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको पनि पूर्ण साथ रहने महासंघको प्रदेश २ का अध्यक्ष गणेश लाठले बताए।

‘यस्ता व्यापार मेला तथा उत्सवले आर्थिक क्षेत्रमा नयाँ सम्भाव्यताको खोजी र उपयोग गर्छन्। त्यसैले व्यापार प्रवर्द्धन गर्ने खालका मेला वा उत्सव गर्ने जो कोहीलाई नेपाल उद्योग वाणिज्य महासंघले साथ नदिने कुरै हुँदैन,’ उनले भने।

स्वदेशी वस्तु तथा सेवाको मात्र वृहत प्रदर्शनी गर्ने आयोजकको लक्ष्यमा महासंघको साथ रहने उनले बताए।

'यस्तो मेला वा प्रदर्शनीले ओझेलमा परेका थुप्रै अवसर प्रवर्द्धन गर्न टेवा दिन्छ,' अध्यक्ष लाठले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.