|

पर्सा : मध्य तराईको सुगम जिल्ला पर्साको दुर्गम गाउँ शिकारीबासको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीको लागि बिहीबार निकै खुसीको दिन बन्यो।

बिजुली बत्तीसमेत नपुगेको र राज्यका हरेक सुविधाहरुबाट बञ्चित शिकारीवास गाउँको सो विद्यालयका छात्रछात्राले विद्यालयमा नै पोसाक पाएपछि उनीहरुका लागि त्यो दिन खुसीको दिन बनेको हो।

ती विद्यार्थीहरुको मुहारमा हाँसो भने स्थानीय जिम्मेवार पालिका वा दाताहरुबाट नभई भोलेन्टियर नेपालले दिलाएको हो। त्यो संस्थाले शिकारीवासको श्री नेराप्राविका ५५ जना विद्यार्थीलाई विद्यालय पोसाक ‘सेट’ नै दिएको विद्यालयका प्रधानाध्यापक राम नारायण यादवले बताए।

काठमाण्डौमा रहेको भोलेन्टियर नेपाल (भिसिएन) नामक गैरसरकारी संस्थालाई स्थानीय सामाजिक अभियान्ता प्रकाश थारुको पहलमा विद्यालयलाई ल्याइएको स्थानीय पत्रकार राजेन्द्र सिंहले बताए।

गाउँ नै राज्यका अनेक सुविधाबाट बञ्चित रहेको ठाउँमा अवस्थित सरकारी विद्यालयका विद्यार्थीको पोशाक उपलब्ध गराउन दाता संस्थाले प्राथमिकता दिनु सकारात्मक भएको उनको तर्क छ।

पोसाक वितरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुजित बस्नेत र प्रधानाध्यापक यादव लगायत स्थानीय समाजसेवीको पनि सहभागिता छ। सहभागीहरुले पनि सुगम जिल्ला भएर पनि पछाडि परेको क्षेत्रको विद्यालयलाई पहिचान गरी दाता संस्थाले यहाँका विद्यार्थीलाई पोशाक वितरण गर्नु प्रभावकारी कदम भएको तर्क गरे।

पोसाक वितरण कार्यक्रममा भिसिएनका अध्यक्ष दीपक चापागाईं र उपाध्यक्ष राधा मताङ्गीले संयुक्त रुपमा सहभागिता जनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.