|

सन् १९९१ मा बलिउड फिल्म लम्हेको छायांकन चलिरहेको थियो। छायांकन चलिरहेका बेला श्रीदेवीले बाबुको निधन भएको खबर थाहा पाइन्। 

फिल्मको छायांकनका लागि बेलायतको लण्डनमा रहेकी श्रीदेवी बुवाको अन्तिम संस्कारका लागि भारत आइन्। त्यसपछि अन्तिम संस्कार सकेर फेरि बेलायत फर्किइन्। उनलाई त्यहाँ अनुपम खेरसँग एउटा कमेडी सिन गर्नुपर्ने थियो। 

धेरैपछि श्रीदेवीले एक अन्तरवार्तामा भनेकी छन्, एउटा कलाकारका रूपमा त्यो सिनलाई राम्रोसँग गर्नु मेरा लागि सबैभन्दा ठूलो चुनौती थियो। 

सोही फिल्मबाट उनले पछि उत्कृष्ट अभिनेत्रीको रूपमा फिल्म फेअर अवार्ड पनि पाएकी थिइन्।

सन् १९६३ अगष्ट १३ मा भारतको मद्रासमा जन्मेकी श्रीदेवीको अभिनय यात्रा १९६७ को तामिल फिल्म कन्धान करुनाइबाट भयो। जतिबेला उनी मात्र चार वर्षकी थिइन्।

बाल कलाकारबाटै आफ्नो अभिनय यात्रा सुरु गरेकी उनले अभिनय तथा नृत्यको कुनै औपचारिक कक्षा लिएकी थिइनन्। उनलाई अभिनय भगवानको उपहारस्वरूप आएको भन्नेहरू पनि धेरै थिए। 

त्यसपछि उनले १९७२ मा बाल कलाकारको रूपमै बलिउडमा प्रवेश गरिन्। एकसाथ तामिल, मलयालम, तेलगु फिल्ममा काम गरिरहेकी श्रीदेवी १९८३ को हिम्मतवालापछि बलिउड स्टारको रूपमा उदाइन्। 

दक्षिण भारतीय फिल्महरूमा लिड रोलमा काम गर्न थालिसकेकी श्रीदेवीको लागि बलिउडमा भने लिड हिरोइनको रूपमा काम गरेको पहिलो हिम्मतवाला थियो। 

सोही वर्ष उनका सद्‍मा, जानी दोस्त, मवाली, कलाकारलगायत आधा दर्जन बलिउड फिल्म प्रदर्शनमा आए। त्यसपछि १९८९ सम्ममा उनले तोह्फा, बलिदान, नागिन्, राम अवतार, चालबाज जस्ता सफल फिल्मसहित ४० भन्दा बढी फिल्ममा अभिनय गरिन्। त्यतिबेलासम्म उनी बलिउडकी सुपरस्टार अभिनेत्रीका रूपमा चिनिन थालिसकेकी थिइन्। 

१९८० को दशकमा श्रीदेवी हर फिल्मका लागि १० लाख पारिश्रमिक लिन्थिन्। जुन त्यतिबेलाका धेरै हिरोहरूको भन्दा पनि बढी थियो। तीन दशक सक्रिय रूपमा फिल्ममा काम गरेकी श्रीदेवीको करिअरमा १९९७ मा प्रदर्शनमा आएको कोन सच्चा कोन झुठापछि ब्रेक लाग्यो। 

१९९६ मा बोनी कपूरसँग उनको विवाह भयो। १९९७ मै जेठी छोरी जाह्नवीको जन्म भयो। पारिवारिक कारणले गर्दा उनले अभिनयलाई पहिलेको गतिमा लैजान सकिनन्। 

त्यसपछि इङ्ग्लिस विंलिशबाट बलिउडमा पुनरागमन गरेकी श्रीदेवीलाई दर्शकले फरक अन्दाजमा देख्‍न पाए। २०१२ मा प्रदर्शनमा आएको उक्त फिल्म व्यावसायिक रूपमा पनि उत्तिकै सफल भयो। 

१० करोडमा बनेको फिल्मले ९० करोडभन्दा माथिको कमाइ गर्‍यो। त्यसअघि कुनै पनि महिला केन्द्रित फिल्मले त्यत्रो बक्स अफिस कलेक्सन गरेको थिएन। 

त्यसपछि २०१७ मा आएको मम उनको अन्तिम फिल्म बन्यो। ममले १ सय ७५ करोडभन्दा माथिको बक्स अफिस कलेक्सन गरेको थियो भने सोही फिल्मबाट उनले उत्कृष्ट अभिनेत्रीका रूपमा राष्ट्रिय अवार्ड पाइन्। ममबाटै जि सिने र फिल्म फेअरले उत्कृष्ट अभिनेत्रीको रूपमा क्रिटिक अवार्डबाट पुरस्कृत गरे।

२४ फेब्रुअरी २०१८ मा ५४ वर्षको उमेरमा श्रीदेवीको निधन भयो। दुर्घटनावश पानीमा डुबेका कारण उनको मृत्यु भएको बताइयो। उक्त घटनालाई अझ राम्रोसँग अनुसन्धान गर्नुपर्ने माग राख्‍नेहरू पनि छन्। 

५० वर्ष लामो फिल्मी करिअरमा उनले तामिल, मलयालम, तेलुगु, कन्नड र हिन्दी गरी ३ सयभन्दा बढी फिल्ममा अभिनय गरिन्। बलिउडकी प्रथम फिमेल सुपरस्टारको रूपमा चिनिने श्रीदेवी आजका थुप्रै चर्चित कलाकारहरूको आइडरसमेत हुन्। 

फिल्म ममबाट अफर आउँदा फिल्ममा श्रीदेवी भएका कारण आफूले कथा नै नसुनी साइन गरेको अभिनेता नवाजुद्दिन सिद्वकी बताउँछन्। उनले एक अन्तरवार्तामा भनेका छन्, श्रीदेवीसँग काम गर्नु भनेको एउटा सपना पूरा हुनु जस्तो हो। 

अभिनय र नृत्यसँग श्रीदेवीलाई पेन्टिङमा पनि उत्तिकै पोख्त थिइन्। पाँचपटक उत्कृष्ट अभिनेत्रीको रुपमा फिल्म फेअर अवार्ड पाएकी उनलाई २०१३ मा भारतको प्रतिष्ठित पद्मश्री अवार्डबाट सम्मानित गरिएको थियो।

देश विदेशबाट उत्कृष्ट अभिनेत्रीको तारिफ पाइरहँदा उनी भने आफू अझै सिकाइकै चरणमा रहेको बताउँथिन्। उनी भन्थिन्, 'मैले एउटा कलाकारका रूपमा त्यति धेरै गरेकै छैन। कलाकारको सिकाइको क्रम कहिल्यै सकिँदैन। मेरो सबैभन्दा राम्रो काम आउन अझै बाँकी छ।' 

एजेन्सीकाे सहयाेगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.