जुम्ला : केहि दिन पहिला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो। भिडियोमा एक हलमा महिलाहरू बसेका छन्। उक्त भिडियोमा एक जना महिला भन्दै थिइन, 'जन्मेको घर दाई भाइको ,विवाह गरी आएको घर श्रीमानको, हाम्रो आफ्नो भनेको त त्यहि पाठेघर रहेछ।'
उनको भनाई र मेरो जुम्ला जिल्लाका महिला र युवतीको अवस्थाले मेरो मनमस्तिष्क हल्लायो। जिल्लाका अधिकांश महिलाहरूको पिडा ज्यादै नाजुक छ। जसको आफ्नो भनिएको पाठेघरपनि आफ्नो नभएको पीडाले छटपटिएकी छन्।
पछिल्लो समयमा अझ महिलाहरू ‘मेरो शरीर मेरो अधिकार’ भन्न थालेका छन्। आफ्नै भनिएको महिलाको पाठेघर पनि आफ्नो भइसकेको छैन। आफ्नो हुँदो हो त जुम्लाका अधिकांश महिलाहरू पाठेघरको रोगले आक्रान्त हुने थिएनन्।
महिलाहरूले ‘मेरो शरीर मेरो अधिकार’ भन्न थालेको धेरै भयो। जहाँ जति लेखिए पनि, जति बोलिए पनि महिलाले आफ्नो जीवनको बारेमा आफै निर्णय गर्न पाउदैनन्। अहिले पनि महिलाको निर्णय 'अरू'ले गर्छन्। विवाह नहुँदासम्म आमा बुबा र दाजुभाइ, विवाह भएपछि श्रीमान,ससुरा सासु जेठाजुको निर्णयमा महिलाको दैनिकी चल्छ।
पछिल्लो समयमा छोराको आशमा परिवार र श्रीमानको दवाबले भ्रूण पहिचान गर्ने प्रवृति गाउँ गाउँ पुगेको छ। भ्रूणमा नै छोरी भएमा पटक पटक गर्भपतन डरलाग्दो रूपमा देखिएको छ।
महिलाको इच्छा नहुँदा पनि घरपरिवार र श्रीमानको दबाबमा गर्भपतन गर्न बाध्य छन्। जसले गर्दा महिलाको पाठेघरमा असर पर्नेमात्र होइन क्यान्सर जस्तो बिमारी हुने गरेको अध्ययनले देखाएको छ।
धेरै बच्चा जन्माउँदा सुत्केरी भएको समयमा पोसिलो खानेकुरा अभावले पाठेघर खस्ने समस्या विकराल बनेको छ।
गर्भपतन भुसको आगोजस्तै फैलिएको छ। पटक–पटक गरिने गर्भपतनले महिलाको पाठेघरमा विभिन्न बिरामीमध्ये पाठेघर खस्ने समस्या सबै भन्दा बढी देखिएको छ। जसले गर्दा महिलालाई एकातिर मानसिक तनाब हुन्छ भने अर्को तिर शारीरिक समस्या। महिलाहरूमा देखिने पाठेघरका प्रमुख समस्या मध्य पटक–पटकको गर्भपतन रहेको चिकित्सकहरू बताउदै आएका छन्।
दुर्गमका महिलाहरू अनिच्छित गर्भलाई फाल्न खोज्दा पटक–पटक जोखिममा पर्ने गर्दछन्। औषधि खुवाएर गरिने गर्भपतनभन्दा दक्ष जनशक्तिको अभावमा औजार प्रयोग गरेर जबरजस्त गरिने गर्भपतनले महिलाहरू बढी जोखिममा पर्ने गरेका छन्। स्थानीय तहमा गतिलो स्वास्थ्य संस्था नहुनु,दक्ष जनशक्ति नहुनु चुनौति बनेको छ।
दोस्रो विकराल समस्या बनेको छ : छाउबढी प्रथा। जुन सरसफाइ बढी गर्नुपर्ने समयमा झन फोहर नै बस्नु पर्ने समस्या छ।
महिलाको जीवनको महत्वपूर्ण अंग पाठेघरका बारेमा महिला आफै पनि सचेत छैनन्। चेतनाको समस्या पनि प्रमुख छ। गाउँघरमा सानै उमेरमा विवाह हुँदा पनि महिलाको पाठेघरमा समस्या आउने अध्ययनले देखाएको छ। उमेर नपुग्दै बच्चा जन्मदा महिलाको स्वास्थ्यमा र पाठेघरमा समस्या आउने चिकित्सक बताउँछन्।
अझ जुम्लामा बालविवाह समस्याको रूपमा रहेको छ। तिला गाउँपालिका-८ जुम्लाकोटकी पञ्चकली रावतको १४ वर्षमा विवाह भयो। १५ वर्षमा आमा बनिन्। ३० वर्ष नपुग्दै १० सन्तानकी आमा बनिन्। ४ सन्तानको मृत्यु भयो।
उनको पाठेघर खस्यो। महिनावारी नभएको समयमा समेत रगत बग्न थाल्यो। उनको अस्था जटिल भएपछि सर्वोदय नेपालको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अप्रेशन भयो। बालविवाहका कारण उनको स्वास्थ्यमा समस्या आयो। पाठेघरमा समस्या आयो।
त्यस्तै ,तिलागाउपालिका-९ मालापानीकी जैसरी बुढाको पनी पाठेघरमा समस्या छ। उनको पनि बालविवाह भएको थियो। उनी १२ वर्षको हुदा विवाह भएको बताउँछिन्। उनले १७ वर्षमा पहिलो सन्तान जन्माइन्। उनको पाठेघरको समस्या दिनदिनै बढ्दै गएको छ। उनले पाठेघरको उपचार गराउन पाएकी छैनन। उनले २५ वर्षको उमेरमै ८ सन्तान जन्माइन्। त्यही अवधिमा आङ (पाठेघर) खस्यो।
रोग छिपिँदै गएपछि तल्लो पेट दुख्ने समस्या बढेको बुढा बताउँछिन्। बुढाका अनुसार मालापानी गाउँमा धेरै महिलामा पाठेघरको समस्या देखिएको छ।
विस्तारै अहिले गाउँघरमा चेतनाको विकास भएको छ। महिलाहरू सुत्केरी हुँदा र छाउ (महिनावारी) हुँदा गोठमा बस्थे। तर अहिले घरमा बस्न थालेका छन।
अल्पआयुमा नै मुत्यु
महिलाहरू पाठेघर खस्ने र पाठेघरसम्बन्धि अन्य समस्याका कारण अकालमै मृत्यु हुने गरेका छन्। जुम्लाको मालापानी गाउँमा धेरै जसो महिला पाठेघरको बिमारीले ज्यान गुमाएका छन्। केहि महिलाहरू त पाठेघरका बिमारी हुँदा उपचार होइन सौता व्यहोर्नुपर्ने बाध्यतामा छन्।
मालापानीकी दुधकली बुढा र सुन्धरा थापा पाठेघरकै रोगी थिए। उनीहरूलाई सबैले हेला गर्न थाले। समाजले नै छिछि दुरदुर गरे। घरपरिवारबाट माया पाउन सकेनन्।
तिलाकै सुडिगाउँकी सुकमती रावत पनी पाठेघरको बिमारीका कारण छटपटिमा छन्। उनका ४ सन्तान छन्। पाठेघरको बिमारी भएको १० वर्ष जति भयो। यो समस्या थाहा पाएपनि लाजका कारण कसैलाई नभनि लुकाइरहेकी छिन्।
रावत भन्छिन् ‘लाजमान्ने चलनले लुकाएर बसे। अब गाउँपालिका र सर्वोदय नेपालले सचेतना जोगाएको छ। उपचार गर्ने सोचेकी छु। यो समस्या जुम्लाका तिलागाउँपालिकाका महिलाले मात्रै नभई कर्णाली प्रदेशका महिलाले भोग्दै आएका छन।’
त्यस्तै, पातारासी गाउँपालिका २ तल्फिगाउँकी लालसरी विकलाई पनी पाठेघरको समस्या भयो। उनको पाठेघरमा घाउ भएको थियो। पाठेघरको शल्यक्रिया गरिन्।
‘महिनावारी हुँदा धेरै भारी बोक्दा यस्तो आवस्था आएको हो। पाठेघर फ्याँकेपछि बोझ हलुको भो। रोगले ५ वर्ष थलिएकी थिएँ । निःशुल्क शल्यक्रियापछि अहिले सामान्य बनेकी छु’, विक भन्छिन्, 'कयौँ महिला अहिले पनि उपचार नपाएर मृत्युको मुखमा पुगेका छन्। म त भाग्यमानी रैछु। उपचार पाएँ।'
कलिलो उमेरका महिलामा पाठेघरको समस्या
जुम्ला जनस्वास्थ्य सेवा कार्यालयले आयोजना गरेको निःशुल्क पाठेघर जाँच शिविरमा चेकजाच गर्न आउने अधिकांश महिलाहरूमा समस्या पाठेघरसँग सम्बन्धित छ।
जुम्लामा महिलाको पाठेघरको निशुल्क उपचार चेकजाँज हुन्छ। तर पनि महिलाहरू लाजमान्ने कारणले रोग लुकाएर बस्ने र बिस्तारै रोग बढ्दै जानु र मुख हुने देखिएको छ।
अभियन्ता कमल खत्री भन्छन, ‘इज्जत गुम्ने र लाज हुने भन्दै धेरै महिलाले आफ्नो समस्या अरूलाई भन्दैनन्। रोग लुकाएर राख्छन्। जसका कारण पाठेघर फाल्नु पर्ने अवस्था आउँछ।’
पाठेघर खस्ने (आङ खस्ने) कारण सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपुर्याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, बालविवाह गर्ने , सुत्केरी भएको समयमा यौनसम्पर्क राख्ने कारणले देखा पर्ने कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर राजीव शाहले बताउँछन्।
ग्रामीण क्षेत्रका धेरै महिला यस्तै अवस्थाबाट गुज्रने गर्छन्। उनीहरू रोगी हुन्छन् तर लुकाउँछन्। समाजमा चेतनाको यति कमि छ कि महिलाले रोग लुकाउनुलाई सभ्य सम्झन्छ। समाज घरपरिवारले सहयोग गरेको पाइँदैन। उल्टै रोग लुकाउन दबाब दिन्छन्। बालविवाहले गर्दा कलिलो उमेरका महिलाहरूमा यस्तो समस्या झन बढीरहेको शाह बताउँछन्।
कुरीति विरूद्ध स्थानीय सरकार
महिलाको स्वास्थ्यमा परेको असरलाई मध्यनजर गर्दै कुरीति विरूद्ध पछिल्ला समयमा स्थानीय सरकार पनी लागि परेको छ। स्थानीय सरकार गठन भएदेखि जुम्लाका सामाजिक संघसंस्था मिलेर महिला तथा धामीझाँक्रीलाई चेतना फैलाउँदै गाउँलाई छुई गोठमुक्त गर्ने अभियानमा जुटेको तिला गाउँपालिकाका विष्णु बुढाले बताइन्।
उनले भनिन्, ‘गाउँपालिकाको आयोजना तथा सर्वोदय नेपाल जुम्लाको आर्थिक समन्वयमा महिनावारी भएको अवस्थामा छुई गोठमा नबस्ने भन्दै सामुहिक रूपमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गराई छुई गोठमुक्त गाउँ घोषणा गरिएको छ।’ यो अभियान कुनै धामीझाँक्रीकाविरूद्ध नभई महिलालाई स्वास्थ्य र सुरक्षित बनाउनका लागी गरिएको हो।
'समाजमा विकृतिका रूपमा जरा गाडेर बसेको छाउपडी प्रथा न्युनीकरणका लागि छुइगोठ मुक्त अभियान थालिएको हो। छाउपडी प्रथा महिलाको वृद्धि विकासको बाधक हो', सामाजिक अभियन्ता बुढा भन्छिन्,‘महिला सशक्तीकरण, लैंगिक समानता र विभेद न्युनीकरणका लागि यो अभियान एक नमुना कार्य हो।'
बिरामी त्यसमाथि यातना खेप्छन् महिला
बिरामीका कारण महिला शारिरिक पिडा खेप्छन्। अर्को तर्फ घरपरिवार र श्रीमानबाट यातना र दुव्र्यवहार सहन बाध्य छन्। श्रीमानले समेत घरेलु हिंसा गर्छन्।
समाज र घरपरिवारको व्यवहारका कारण महिला महिनावारी हुदा गाइ गोठमा बस्छन्। गोठपनि सुरक्षित छैनन्। स्वास्थ्यमा पनि असर पर्छ।
गाउँघरमा सुत्केरी महिलाको अवस्था कस्तो छ भनेर धेरै सुन्न पाइन्छ। उनीहरूले सुत्केरी हुँदा भोगेका दुःख पीडाको सगरमाथा नै सुनिन्छन्। अहिले पनि गाउँ समाजमा सुत्केरी हुँदा पाउने दुःख पिडा बीसको उन्नाइस भएको छैनन् । सुत्केरी भएको एक हप्तामा नै घरको काम गर्नु जुम्लाका सुत्केरी महिलाको लागि आम कुरा भएको छ।
सुत्केरी भएको ७ दिनमा काम गर्न जानेमा तल्फी गाउँपालिकाकी लालसरी विक हुन। उनी बच्चा जन्माएको ७ दिनदेखि नै काम गर्न थालिन। आराम गर्नुपर्ने पोसिलो खानेकुरा खानुपर्ने समयमा काम गर्न गइन। पोसिलो खाना पाइनन्। अन्तत बच्चा जन्मेको ५ वर्ष पछि पाठेघर खस्यो। पाठेघर नै फाल्नुपर्यो।
महिलाको पाठेघर भएन भने संसार नै चल्दैन। पाठेघर महिलाको प्रमुख प्रजनन अंग हो। जहाँ हरेक मानिस ९ महिना बस्छ। पाठेघरबाट जन्मेको मानिस नै महिला माथि छोरा नभएको भन्दै घरेलु हिंसा गर्छ। सन्तान जन्माउँदा महिलालाई कति पिडा हुन्छ भनेर समाज नै बुझ्दैन।
पाठेघर खस्ने चरण ३ किसिमका रहन्छन्। पहिलो र दोस्रो चरणलाई ‘रिङ’ लगाएर उपचार गर्न सकिन्छ। तर खसि सकेपछि पीडाबाट मुक्ति पाउन शल्यक्रियाबाहेक उपाय नभएको डाक्टर राजीव शाह बताउँछन्।
शल्यक्रिया गरेर पाठेघर फालि सकेपछि बच्चा जन्माउन सक्दैनन्। महिलाले सन्तान जन्माउन नसकेपछि श्रीमानले अर्को बिहे गर्ने गरेका धेरै उदाहरण छन। जसका कारण महिलाले घरेलु हिंसा व्यहोर्नु परेको छ ।
चेतनाको कमी
जुम्लाका हरेक गाउँघरमा चेतनाको अभाव छ। शिक्षाको अभाव छ। यहाँको सामाजिक ,धार्मिक र सांस्कृतिक कारणले पनि महिला हिंसा भइरहेको छ। कयौ रूढिवादी चलनका कारण महिलाले दुःख भोग्नु परेको छ।
जब समाज नै चेतनशील हुन्छ, त्यहाँ आम रूपमा समाज अगाडि बढ्छ। जुन समाज चेतनामा पछाडि पर्छ त्यो समाज विकासका हिसाबले , सामाजिक उत्तरदायित्वका हिसाबले पछाडि नै परेको हुन्छ।
यहाँ महिलाहरू पढेर हातमा डिग्री भएपनि चेतनाका आधारमा हेर्ने हो भने अशिक्षित नै छन्। पढेलेखेका महिलाहरू पनि गोठ बस्न जान्छन्।
गाउँघरमा चलेका धार्मिक मान्यतामा अझ झन जड बनिदिन्छन्। जसका कारण गाउँ समाज अग्रगतिमा जानु भन्दा पनि यथास्थितिमा बस्छ।
गणतन्त्र आएपछि पनि गाउँघरमा अस्पताल र स्कुलको अनुपातमा मठ मन्दिर बन्नु पनि समाज कहाँ छ भन्ने देखाउँछ।
यसबाट बच्ने उपायबारे जानकारी नहुँदा समस्या कायम रहेको डाक्टर शाह बताउँछन् । यहाँ धेरै बच्चा जन्माउने, घरमै सुत्केरी हुने, भारी बोक्ने कारणले रोगी हुने गरेको जनस्वास्थ्य कार्यालयल जुम्लाका प्रमुख कृष्ण सापकोटा बताउछन्। ‘चेतनामूलक कार्यक्रम प्रभावकारी बनाएर लैजान आवश्यक छ। सरकारले चेतनामूलक कार्यक्रमसँगै शिविर सञ्चालन गर्दै आएको छ। तर अप्ठेरो मानेर रोग लुकाउने प्रवृति छ। रोग लुकाउने प्रवृत्तिले बिरामी शिविरमा कम आउँछन्। तर पनि अलिकति भएपनि पहिलेको तुलनामा शिविरमा आउने महिलाको संख्या बढेको छ। पहिले घरमा खोज्दै हिंड्नुपथ्र्यो। अहिले सूचना पाएपछि आउन थालेका छन्।’
जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। त्यहाँ पाठेघर सखेका महिलाको निशुल्क उपचार हुन्छ। सरकारले उपचार निःशुल्क गर्दा पनि महिला अस्पताल आउदैंनन्। पाठेघरको रोग लम्बिदै गएपछि क्यान्सर हुने खतरा बढी रहेको सापकोटा बताउँछन्। उनी भन्छन्, ‘बालविवाहका कारण, सानैमा बच्चा जन्माउने चलन, सुत्केरी अवस्थामा कामको बोझ, पोसिलो खानेकुराको कमीका कारण महिलामा पाठेघरको समस्या उत्पन्न हुन्छ। जसको समयमा नै उपचार नगर्दा क्यान्सर हुने बढी खतरा बढ्ने गरेको छ।’
४० देखि ५० वर्षको उमेर पुगेपछि महिलामा पाठेघरको समस्या बढी देखिने गरेको छ। कालान्तरमा क्यान्सर हुने खतरा बढी हुने गर्छ। यसमा दोष महिलालाई दिइन्छ। तर महिलाको स्वास्थ्यमा आएको समस्याका बारेमा घरपरिवारले पनि समयमा नै ध्यान दिनुपर्छ। जसका कारण महिलाको स्वास्थ्यमा सुधार हुन्छ।
कसरी बच्न सकिन्छ
पछिल्लो समय स्थानीय तह र प्रदेश सरकारकाे पहलमा गाउँ गाउँमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ। महिलामा चेतनाको धिपधिप दियो बल्न थालेको छ। आफ्नो शरीरमाथि आफैले निर्णय गर्न पाउनुपर्छ भन्ने सम्म पुगेका छन्। जुन सकारात्मक कुरा हो।
महिलाले ३० वर्षको उमेर पुगेपछि वर्षको एकपटक स्वास्थ्य जाँच गर्न आवश्यक रहेको चिकित्सक बताउँछन्। सानो उमेरमा यौनसम्पर्क नराख्ने, धुम्रपान,मध्यपान नगर्ने। बालविवाह नगर्ने। उमेर पुगेर विवाह गरेपनि धेरै बच्चा नजन्माउने।
उज्यालोको आस
पछिल्लो समयमा स्थानीय तहले जुम्लामा छुई गोठ मुक्त अभियान चलाउन थालेका छन्। जसले गर्दा महिलाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने देखिन्छ। कमसेकम जाडोमा चिसो भुईँमा सुत्न नपरेमा महिलाको स्वास्थ्यमा कम असर पर्छ।
त्यस्तै, सरकारले पाठेघर खस्ने समस्याबाट पीडित महिलाका लागि निःशुल्क उपचार र शल्यक्रिया व्यवस्था गरेको छ। तर प्रचार प्रसार नहुँदा सेवा प्रभावित बन्न सकेको छैन। यहि कारणले पाठेघरका रोगी महिलाले उपचार पाएका छैनन। आङ खसेका महिलाको उपचार गर्ने जिम्मा सरकारले जिल्ला जनस्वास्थ्यलाई दिएको छ।
तर मानिसको चेतना अभावका कारण पनि महिलाले उपचार गराएका छैनन्। पछिल्लो समयमा प्रदेश सरकारले पनि महिलाको पाठेघरको उपचार गर्न कार्यक्रम ल्याएको छ।
सरकारको प्राथमिकता प्राप्त कार्यक्रममध्ये प्रजनन स्वास्थ्य पनि हो। यस्तो रोगको उपचारका लागि कार्य सञ्चालन निर्देशिका परिवार स्वास्थ्य महाशाखाबाट तयार गरिएको छ। स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाले तराई, पहाड र हिमालमा यस्ता समस्याका महिलाको निःशुल्क शल्यक्रिया वापत सम्बन्धित अस्पताललाई क्रमशः १२ हजार, १३ हजार र १५ हजार उपलब्ध गराउँदै आएको छ। बिरामी महिलाले अस्पतालमा रहँदासम्म खाना र फर्किंदा ५ सय रूपैयाँ यातायात सुविधासमेत पाउँछन्।
यी र यस्तो राम्रो कार्यक्रमहरू अब गाउँ गाउँमा पुग्न ढिला हुनु हुदैन। यसको लागि समाजका शिक्षित,समाजसेवी , पत्रकार ,राजनीतिक दलका नेता कार्यकर्ताहरूले पहल गर्न आवश्यक छ। समाज रूपान्तरण गर्ने जिम्मा हामी सबैको हो। व्यक्ति स्वस्थ भए समाज समाज स्वस्थ भए देश स्वस्थ हुन्छ। मानिसको स्वास्थ्य ठिक छैन भने देशको स्वास्थ्य पनि ठिक हुदैन।
जनसंख्याको आधा भन्दा बढी हिस्सा ओगटेका महिलाहरूको स्वास्थ्य ठिक भएन भने समाजको अवस्था कस्तो हुन्छ आफैँ कल्पना गर्न सकिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।