|

सन् १९७१ जुन १६ मा अफेनी शाकुर र बिली गारल्याण्डको सन्तानको रुपमा अमेरिकाको न्युयोर्कमा लेसेन पेरिस क्रुक्सको जन्म भयो। जसको नाम पछि उनकै आमा अफेनीले टुपाक अमारु राखिदिइन्।

टुपाकका आमा बाबु दुवै काला जातिको स्वतन्त्रता र आधारभूत अधिकार सुनिश्चितताको लागि लडिरहेको ब्लयाक प्यान्थर पार्टीका नेता समेत थिए। अफेनी आफ्नो छोरालाई एउटा क्रान्तिकारी नाम दिन चाहन्थिन्। उनी चाहन्थिन् उनको छोरालाई सबैभन्दा बढी हिम्मत आफ्नै नामले दियोस्। छोराको आँखा कान सँधै खुल्ला रहोस्, कहिल्यै अन्याय सहेर नबसोस्।

अफेनी टुपाक अमारु द्वितियको जीवनीबाट निकै प्रभावित थिइन्। जो पेरुलाई स्पेनको उपनिवेशबाट स्वतन्त्र बनाउन आफ्नो अन्तिम स्वाससम्म लडे। सन् १७८१ मा देश र देशवासीका लागि आफ्नो ज्यान दिएका अमारुको नामबाट अफेनीले आफ्नो छोराको नाम राखिन्। 

आफ्नो बाल्यकाल न्युयोर्कको म्यानहटनमा बिताएका टुपाक १३ वर्षको भएपछि आफ्नो आमासँग बाल्टिमोर गए। उनले आफ्नो बाँकी पढाइ पनि त्यतै गरे। 

सानैदेखि घरमा ठूलाठूला आन्दोलनका बारेमा हुने छलफल सुन्दै आएका टुपाकको रुची आफ्ना उमेरका अन्य साथीहरूको भन्दा भिन्दै हुन्थ्यो। 

अन्य साथीहरू चौरमा भेला भएर खेल्दै गर्दा टुपाक एउटा छेउमा बसेर रुखका, चराका कविता लेख्थे। बिस्तारै उनले आफूलाई लेख्नमात्र नभएर गाउन र अभिनय गर्न पनि मनपर्छ भन्ने कुरा थाहा पाए। 

छोराको रुची केमा छ भन्ने थाहा पाएपछि उनकी आमाले बाल्टिमोर स्कुल अफ आर्टमा टुपाकको भर्ना गरिदिइन्। जहाँ उनले अभिनय, कविता, ज्याज, ब्यालेट जस्ता कलाका विभिन्न विधाबारे बिस्तृत जानकारी लिन पाए। त्यहीँ उनले सेक्सपियरका नाटकमा अभिनय पनि गरे।

त्यतिवेला अमेरिकामा र्‍याप संगीतप्रति मानिसहरूको दृश्टिकोण खासै राम्रो थिएन। नयाँ पुस्तामा भने र्‍याप एकदमै लोकप्रिय बन्दै गएको थियो। जन्म सँगसँगै जसो भएपनि टुपाकले र्‍यापलाई नजिकबाट महशुस गर्न पाएका थिएनन्।

बाल्टिमोर स्कुल अफ आर्टमै उनको भेट डाना स्मिथसँग भयो। जो बिटबक्सिङ गर्थे। त्यही कुराले टुपाक डानाप्रति आकर्षित भए। डानाको बिटमा टुपाकले आफ्ना कविता भन्न थाले। जसबाट मान्छेहरूले सुनिराख्ने भन्दा फरक किसिमको र्‍याप बन्यो। 

जब उनी र्‍याप हान्न थाल्थे बाँकी सबै कुरा धमिलो हुँदै जान्थ्यो। उनमा र्‍याप यसरी घुलेको थियो कि उनलाई लाग्न थाल्यो उनी जन्मेको नै यसको लागि हो। उनले र्‍याप हान्दा उनी मात्र होइन सुन्नेहरू पनि अर्को संसारमा पुग्थे। 

उनी लगातार स्कुलको उत्कृष्ट र्‍यापर बने। सबैभन्दा पहिले टुपाकको र्‍यापको जादु बाल्टिमोर स्कल अफ आर्टले देख्न पायो जुन संसारले देख्न बाँकी नै थियो। 

सन् १९८९ मा टुपाकले लैला स्टेनवर्गसँग कविताको कक्षा लिए। सोही वर्ष स्टेनवर्गले टुपाकको पहिलो गीत रेकर्ड गराइन्। जतिवेला उनी मात्र १७ वर्षका थिए। 

सन् १९९० मा स्टेनवर्ग आफ्नै सक्रियतामा टुपाक र उनका साथीहरूको लागि एउटा कन्सर्टको आयोजना गरिन्। जहाँबाट टुपाकको करिअरले नयाँ गति लियो। उनलाई नयाँ नयाँ अफर आउन थाल्यो। धेरै म्युजिक कम्पनीको नजरमा पर्न थाले। 

सन् १९९१ मा 'सेम सङ्ग' सार्वजनिक भएपछि टुपाकलाई अझ धेरै मान्छेहरूले चिन्न थाले। 

सोही वर्ष टुपाकको पहिलो एल्बम 'टुपाकालिप्स' सार्वजनिक भयो। जहाँ 'इफ माइ होमी कल्स', 'ट्र्‍याप्ड' र 'ब्रेण्डाज गट अ बेबी' लगायतका गीत समावेस थिए। जहाँ उनले आफ्नो समाजको सामाजिक आर्थिक अवस्थाको चित्रण गरेका थिए। 

अमेरिकाका तत्कालिन उप राष्ट्रपति डेन क्वेलले उक्त एल्बममा प्रतिक्रिया जनाउँदै भनेका थिए, 'समाजमा कुनै स्थान नभएका यस्ता गीत गाउनुको कुनै औचित्य छैन।' 

जसमा टुपाकको जवाफ थियो, 'म केवल मेरो समूदायका युवाहरूको कथालाई लिएर र्‍याप गाउन चाहन्थेँ। आफ्नै कथा भन्दा यति धेरै आलोचना र मिडियाको लाती खानुपर्ला जस्तो लागेको थिएन।'

टुपाकको पहिलो एल्बम आउँदा यसको आलोचना गर्नेहरू थिए तर सँगै र्‍यापका श्रोता र र्‍यापरहरूमै पनि उल्लेख्य वृद्धि आएको थियो। 

त्यसपछि १९९३ मा आएको दोस्रो एल्बम 'स्ट्रिक्टली फोर माइ निगाज'ले टुपाकलाई अर्को उचाइमा लग्यो। उनी पहिलो पटक बिलबोर्ड २०० को चार्टमा पर्न सफल भए। उक्त एल्बम मार्फत टुपाकले आफ्नो सामाजिक राजनीतिक दृश्टिकोण राखेका थिए। 

अमेरिकामा काला जातीमाथी हुने ज्यादतीको कथा उनले र्‍याप मार्फत गाएका थिए। जुन छोटो समयमै विश्वभर फैलियो। उक्त एल्बममा रहेका 'पोइन्ट द फिंग', 'समथिङ टु डाइ', 'सोलजा रिभेन्ज' लगायतका गीत आज पनि चर्चित छन्।

'किप या हेड अप' महिलाहरू माझ निकै लोकप्रिय भएको थियो। जहाँ टुपाकले महिलाहरूको जागरणको कुरा गरेका छन्। 

त्यसपछि १९९५ मा आएको 'मि अगेन्स्ट द वर्ल्ड' र १९९६ मा आएको 'अल आइज अन मि' उनको करिअरका सबैभन्दा हिट एल्बम सावित भए। उनका दुवै एल्बम बिलबोर्ड २०० चार्टमा १ नम्बरमा रहे।

पछि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सबैभन्दा धेरै एल्बम बिक्रि भएको र्‍यापर भनेर टुपाकको नाम दर्ता भयो। मात्र २५ वर्षका टुपाक एउटा सपना जस्तो लाग्ने जिन्दगी बाँचिरहेका थिए। संसारभरी प्रसंशक कमाएका टुपाकको आफ्नै वरिपरी वैरी पनि थिए। 

सन् १९९६ सेप्टेम्बर १३ मा उनका मिल्ने साथी माइक टाइसन् र ब्रुस सेलडनको बक्सिङ म्याच हेरेर अर्को साथीको जन्मदिन मनाउन जाँदै गरेका बेला लस भेगासको सडकमा उनीमाथि गोली प्रहार भयो। त्यो घटनाको ६ दिनपछि अस्पतालमा उनको निधन भयो। 

२५ वर्षको अल्पायुमै ज्यान गुमाएका टुपाकले र्‍याप मात्र गाएनन् 'जुस', 'पोएटिक जस्टिस', 'अ डिफरेन्ट वर्ल्ड', 'अ लिभिङ कलर' लगायतका दर्जन बढी फिल्ममा अभिनय पनि गरेका छन्। 

उनका गीत यति हिट थिए कि टुपाकको निधनको दश वर्ष पछिसम्म पनि कुनै जिवित कलाकारकोभन्दा बढी कमाइ हुन्थ्यो।

उनी बाँच्नु नै ठूलो कुरा हो भन्नेमा विश्वास गर्दैनथे। उनी आफ्नै तरिकाले जिन्दगी बाँच्नुलाई बल्ल बाँच्नु भन्थे। उनी भन्ने गर्थे, 'जिन्दगीमा मृत्यु सबैभन्दा ठूलो नोक्सान होइन। हामी जिउँदो हुँदा हुँदै पनि भित्र केही मरिरहनु सबैभन्दा ठूलो नोक्सान हो।' 

मृत्युको साढे दुई दशकपछि पनि लाखौँ र्‍यापरहरू टुपाकलाई आफ्नो आइडल मान्छन्। करोडौँ श्रोता आफ्नो सबैभन्दा मनपर्ने र्‍यापर मान्छन्।

केवल ६ वर्ष लामो करिअरमा उनी आफू विश्व चर्चित मात्र भएनन् र्‍यापलाई पनि अर्को स्तरमा पुर्याए। जसकारण टुपाक विश्व र्‍यापआकाशमा चम्किलो तारा भएर सँधै रहिरहने र्‍यापका पारखीहरू बताउँछन्। 

१ सय ५० भन्दा बढी र्‍याप गाएका टुपाकको अन्तिम गीत फेम हो। उक्त गीतमा उनले भनेका छन्, 
म मर्ने छैन, सधैँभरी बाँच्ने छु
हिँडेर मलाई पुग्दैन, म उड्न सिक्ने छु
मानिसहरू सम्झनेछन् र रुनेछन्
तारा भएर चम्किँदै, म स्वर्गमा पुग्ने छु

एजेन्सीकाे सहयाेगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.